साहित्यकार परशु प्रधानलाई दीप-गोविन्द स्मृति सम्मान
साहित्यकार परशु प्रधानलाई दीप-गोविन्द स्मृति सम्मान प्रदान गरिएको छ।
काठमाडौंमा शनिबार आयोजित एक समारोहबीच दीप-गोविन्द स्मृति कोषले साहित्यकार प्रधानलाई २०७८ सालको दीप-गोविन्द स्मृति सम्मान प्रदान गरेको हो। उनलाई विशिष्ट आख्यानकारिताका लागि यो सम्मान प्रदान गरिएको कोषले जनाएको छ।
त्यस्तै, २०७८ को धच गोतामे स्मृति सम्मान आख्यानकार सुमन वर्षालाई प्रदान गरिएको छ। उनलाई अन्ततः यन्त्रणा उपन्यासका लागि सम्मान प्रदान गरिएको हो।
गोपाल गोतामे स्मृति सम्मान हिमालखबरका सम्पादक सन्त गाहा मगरलाई प्रदान गरिएको छ। सिर्जनशील पत्रकारिताका लागि उनलाई २०७८ सालको गोपाल गोतामे स्मृति सम्मान प्रदान गरिएको हो।
यसै गरी, २०७८ सालको धच गोतामे/गोपाल गोतामे शिक्षा पुरस्कार श्रीया श्रेष्ठलाई प्रदान गरिएको छ। यो पुरस्कार जेहेनदार विद्यार्थीलाई प्रदान गरिंदै आएको छ।
साहित्यकार ध्रुवचन्द्र गौतमले स्थापना गरेको दीप-गोविन्द स्मृति कोषले उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको उपलब्धि साहित्य विकास उपसमितिमा मार्फत सम्मान र पुरस्कार प्रदान गर्दै आएको छ। संस्थाको १५औं स्थापना दिवसको अवसर पारेर शनिबार सम्मान तथा पुरस्कार वितरण गरिएको हो।
साहित्यकार रोशन थापा निरवको सभापतित्वमा आयोजित समारोहमा पूर्व मन्त्री बलदेव शर्मा मजगैयाँले सम्मान तथा पुरस्कार प्रदान गरेका हुन्।