हिंडेर स्कूल पुग्नेहरूका पक्षमा पदयात्रा (तस्वीरहरू)
घण्टौं हिंडेरै स्कूल पुग्ने विद्यार्थीको बाध्यताबारे ध्यानाकर्षण गराउन काठमाडौंमा पदयात्रा गरिएको छ।
काठमाडौंमा शनिबार टिच फर नेपालले आयोजना गरेको पदयात्रामा कैयौं विद्यार्थी सहभागी भए। ठमेलस्थित छाया सेन्टरबाट शुरू भएको पदयात्रा अस्कल क्याम्पस, केशरमहल, दरबारमार्ग, शहीदगेट, सन्धारा, न्यूरोड, कान्तिपथ हुँदै पुनः छाया सेन्टरमै पुगेको थियो।
ग्रामीण भेगमा दैनिक तीन–चार घण्टासम्म हिंडेर स्कूल जानुपर्ने बाध्यता रहेको छ। स्कूल जान दैनिक ६० लाख बालबालिका एक घण्टाभन्दा बढी हिंड्ने गरेको तथ्याङ्क छ।
यसरी घण्टौं हिंडेर स्कूल पुग्ने विद्यार्थी गुणस्तरीय शिक्षाबाट वञ्चित हुने गरेका छन्। यस यथार्थलाई आम नागरिक, युवामाझ प्रष्ट्याउन र बालबालिकाको गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितताका लागि हरेक वर्ष पदयात्रा आयोजना गरिंदै आएको टिच फर नेपालले जनाएको छ।
पदयात्रामा सहभागीले एक हजार रुपैयाँ सहयोग पनि गरेका छन्। यो रकम टिच फर नेपालले आफ्नो फेलोहरू मार्फत सामुदायिक विद्यालयमा शिक्षणका लागि प्रयोग गर्नेछ।