दिल्लीमा आरजु देउवा र मेरो कुनै सम्झौता भएको छैन: दाहाल
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा नेपाली कांग्रेस नेत्री आरजु देउवा र आफूबीच कुनै सम्झौता नभएको प्रष्ट्याएका छन्।
जनकपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले भारत भ्रमणका क्रममा संयोगले कांग्रेस नेत्री देउवासँग भएको बताए। यसलाई केही व्यक्तिले षड्यन्त्रपूर्ण तरीकाले भ्रम सिर्जना गरेको उनको भनाइ थियो।
“दिल्लीमा आरजु देउवा र मेरोबीच कुनै पनि प्रकारको सम्झौता भएको छैन,” दाहालले भने, “केही षड्यन्त्रकारीले यसलाई तन्काएर षड्यन्त्रपूर्ण तरीकाले उठाउन खोजेका छन्। यसमा कुनै पनि प्रकारको सत्यता छैन।”
सर्लाहीमा आयोजना हुने माओवादीको कार्यक्रममा सहभागी हुन उनी जनकपुर पुगेका हुन्। त्यस क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले नागरिकता समस्या समाधान गर्न पाएकोमा आफू उत्साहित रहेको बताए। मधेशमा वर्षौंदेखि व्याप्त रहेको नागरिकता समस्या समाधान भएकोमा आफू पनि खुशी रहेको उनको भनाइ थियो।
त्यस्तै, अध्यक्ष दाहालले नेकपा (समाजवादी केन्द्र) वा वामपन्थी एकताको विषयमा पनि छलफल भइरहेको बताए। “जसपा रूपमा फुटिसकेको अवस्था छ, यस अवस्थामा बाबुरामजी, माधवकुमार नेपालजी र उपेन्द्र यादवजीसँग वामपन्थी एकता वा समाजवादी केन्द्र वा चुनावी मोर्चा बनाउने विषयमा छलफल भइरहेको छ,” दाहालले भने।
यसमा छलफल सकारात्मक रूपमा अघि बढेको उनको भनाइ थियो। दाहालले भने, “औपचारिक रूपमा कुनै टुङ्गोमा पुगेको छैन, छिटै यस विषयमा निर्णय हुनेछ।”
यससँगै वामपन्थी एकताका विषयमा पनि छलफल भइरहेको बताए। केही दिनमा यस सम्बन्धी औपचारिक निर्णय हुने सक्ने उनको भनाइ थियो।