लक्ष्मणलाल कर्णको प्रश्न- कालो अनुहार देख्ने बित्तिकै विदेशी ठान्ने?
सांसद लक्ष्मणलाल कर्णले कालो अनुहार देख्ने बित्तिकै विदेशी नठान्न आग्रह गरेका छन्।
प्रतिनिधि सभामा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको छलफलमा बोल्दै सांसद कर्णले संविधान विपरीत बोल्न नहुने बताए। “बाबुआमा नेपाली र उनका सन्तान गैरनेपाली हुन्छ भन्ने कहीं व्यवस्था छ?” उनले प्रश्न गरे।
संविधानमा अङ्गीकृत नागरिकता दिने विषयमा कतै पनि समय उल्लेख नभएको उनले बताए। “संघीय कानून बमोजिम अङ्गीकृत नागरिकता दिनेछ भनिएको छ। कतै पनि वर्ष उल्लेख छैन,” सांसद कर्णले भने, “संविधानको व्यवस्था ठीक छैन भने संविधान संशोधन गरौं, १० वर्ष, १५ वर्ष लेखौं। तर, संविधान विपरीत बोल्न हुँदैन।”
मधेशका नागरिकलाई नागरिकताको मुद्दा उठाउँदा सिक्किमीकरण, फिजीकरणको विषय उठाउन उपयुक्त नहुने उनको भनाइ थियो। “मान्छेको कालो अनुहार हेर्ने बित्तिक्कै विदेशी हो ठान्ने? अनि किन मधेश राख्ने, किन तराई राख्ने?” सांसद कर्णले भने, “गर्मी ठाउँमा जन्मेको मान्छे कालै हुन्छ। पहाडमा चिसोमा जन्मेको मान्छे गोरै हुन्छ।”
सरकारले ल्याएको नागरिकता संशोधन विधेयकको स्वागत गर्दै उनले भने, “संविधानको मर्म र व्यवस्थालाई बुझेर अघि बढ्नुपर्छ।”