‘नेपालले वनस्पति र जडीबुटीबाटै लाभ लिन सक्छ’
'हामीले अहिले नै विश्वस्तरीय उत्पादन बनाउन नसकौंला, तर निर्यात भइरहेको कच्चा पदार्थलाई एक वा दुई तहको प्रशोधन गरेर पठाउने हो भने पनि राम्रो आर्थिक लाभ लिन सक्छौं।'
नेपालले पहिलो पटक जैविक विविधता तथा उपयोगिता सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘इन्टरन्याशनल कन्फरेन्स अन बायोडाइभर्सिटी एन्ड बायोप्रोस्पेक्टिङ’ आयोजना गरेको छ। सम्मेलनमा अमेरिका, भारत, पाकिस्तान लगायत विभिन्न मुलुकका अनुसन्धाता तथा वैज्ञानिकको सहभागिता थियो।
वैज्ञानिकहरूलाई अनुभव आदानप्रदानको मञ्च दिंदै सम्मेलनले विद्यमान चुनौती तथा अनुसन्धान निष्कर्ष आदानप्रदान गरेको छ। यसैमा केन्द्रित रहेर आयोजक वनस्पति विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलसँग हिमालखबरका लागि महेश्वर आचार्यले गरेको कुराकानी:
सम्मेलन आयोजनाको मुख्य उद्देश्य के हो?
सधैं संरक्षणका मुद्दा प्राथमिकतामा पर्ने गरेकोमा यस पटक जैविक उपयोगितालाई उठान गरिएको हो। जैविक विविधताका सन्दर्भमा संरक्षण, दिगो उपयोग र समतामूलक वितरण मुख्य अजेन्डा रहिआएका छन्। जैविक स्रोतहरूको उपयोग र आर्थिक हित कसरी हुनसक्छ भन्नेमा हामी केन्द्रित रह्यौं।
जडीबुटी तथा महत्त्वपूर्ण वनस्पतिहरूको प्राकृतिक वासस्थानमा संरक्षण र दिगो सङ्कलन तथा खेती विस्तार मार्फत आफ्नै देशमा प्रशोधन, मूल्य अभिवृद्धि र वस्तुको उत्पादन गरी निर्यात प्रवर्द्धनका लागि के गर्न सकिएला भन्नेमा हाम्रो जोड रह्यो। संरक्षणभन्दा एक कदम अघि बढेर कुन कुन तहबाट के के गर्दा हुन्छ भन्ने वैचारिक स्पष्टता र आगामी कार्यदिशाबारे साझा अवधारणा बनाउन यो सम्मेलन एकहदसम्म सफल भएको छ।
हामी जैविक विविधतामा धनी छौं। संरक्षण पनि गरेकै छौं। संरक्षणमा राम्रो काम भएको छ भन्ने विभिन्न उपलब्धिले पुष्टि गरेका छन्। सबैको प्रयासबाट संरक्षण भएकाले जैविक विविधता जोगिएको छ। यो काम चुनौतीपूर्ण छ। वनस्पति, वन्यजन्तु, पन्छी जोगाउन मुख्य ध्यान वासस्थान संरक्षणमा हुनुपर्ने देखिन्छ। प्राकृतिक वासस्थान र इकोसिस्टमको संरक्षण गर्दा सबै जोगिन्छन्।
तसर्थ, भूमिको संरक्षण महत्त्वपूर्ण हुन्छ। अबको पाइला संरक्षणमा प्रतिकूल असर नपारीकन भएका प्राकृतिक स्रोतको उपयोग कसरी गर्ने भन्नेमा केन्द्रित हुनुपर्छ।
विश्वबजारको प्रतिस्पर्धी उत्पादन बजारमा उपलब्ध रहेको सन्दर्भमा हाम्रो उत्पादन प्रतिस्पर्धी हुन सक्ला?
अहिले नै हामीले त्यो तहको प्रतिस्पर्धा र व्यावसायिकता हासिल गर्न नसकौंला, तर गर्दै गए हुन्छ भन्ने दृष्टिकोण बनाउन जरुरी छ। हामीले उत्पादन वृद्धिमा केन्द्रित हुनुपर्ने देखिन्छ भने बजारीकरण तथा ब्रान्डिङमा पनि ध्यान दिनुपर्छ।
नेपालले वनस्पति र जडीबुटी मार्फत आर्थिक समृद्धि हासिल गर्न सक्छ भन्नेमा द्विविधा छैन। अहिले पनि कच्चा पदार्थका रूपमा जडीबुटीजन्य पदार्थ निर्यात भइरहेको छ। हामीले निर्यात गरेका कच्चा पदार्थ विश्वका महँगा उत्पादनमा उपयोग भइरहेका छन्।
अब हामीले नै ती वस्तु उत्पादन गर्न सक्ने गरी खाका कोर्ने प्रयास गर्नुपर्छ। सरकारले पनि 'मेक इन नेपाल, मेड इन नेपाल'को अवधारणा ल्याएको छ। त्यसलाई यसले सहयोग पुर्याउँछ। त्यसका लागि वस्तु उत्पादनमै जोड दिनुपर्यो।
यस विषयमा वनस्पति विभागले कस्तो पहलकदमी लिन सक्छ?
वन नीति, २०७५ तथा रणनीतिले पनि प्राकृतिक स्रोतको संरक्षण, व्यवस्थापन र सदुपयोगमा जोड दिएको छ। हामीले तयार गरेको ‘न्याशनल बायोप्रोस्पेक्टिङ स्ट्राटेजी प्लान फर नेपाल’ मा पनि यो विषय समेटिएको छ।
वनजन्य पदार्थमा यो सदुपयोगको पाटो प्रशोधन र उत्पादनसँग सम्बन्धित देखिन्छ। त्यसमा लाग्नुपर्छ भन्नेमा द्विविधा छैन। कसरी गर्ने भन्नेमा द्विविधा होला। त्यसका लागि जैविक स्रोतको बुद्धिमत्तापूर्ण उपयोग हुनुपर्छ। यो विभाग जैविक स्रोत संरक्षणका साथै सदुपयोगका विषयमा अध्ययन/अनुसन्धान गर्ने, जनतालाई प्राविधिक सेवा दिने, प्रयोगशाला मार्फत परीक्षण र प्रमाणीकरण सेवा, समन्वय गर्ने आदि काममा संलग्न हुन्छ।
नीतिगत तहमा सम्मेलनको योगदान के रह्यो त?
नेपाल जैविक विविधतामा समृद्ध मुलुक हो। जलवायुजन्य परिवर्तन र बाह्य मिचाहा प्रजाति जस्ता चुनौतीलाई सामना गरी जैविक विविधता संरक्षण गर्न र आर्थिक महत्त्व भएका वनस्पतिको सदुपयोग गरी समृद्धि उन्मुख रणनीति बनाउन सम्मेलन फलदायी भएको छ। हामीले तयार पारेको ‘न्याशनल बायोप्रोस्पेक्टिङ स्ट्राटेजी’ लाई अन्तिम रूप दिन सहयोग पुगेको छ।
विश्वमा प्राकृतिक उत्पादनको माग बढ्दो रहेकाले जडीबुटी र वनस्पतिको उत्पादन वृद्धि, मूल्य अभिवृद्धि र उत्पादित वस्तुको निर्यात गरी फाइदा लिनुपर्ने विषयमा सहभागी सबै सहमत छन्। सम्मेलनमा भएको छलफलले जैविक विविधताको दिगो उपयोग गर्न अनुसन्धान र विज्ञानमा आधारित नीति तथा कार्यक्रममा विशेष जोड दिनुपर्ने र दिगो उपयोगिताको विषय राष्ट्रको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिएको छ।
हामीले अहिले नै विश्वस्तरीय उत्पादन बनाउन नसकौंला, तर निर्यात भइरहेको कच्चा पदार्थलाई एक वा दुई तहको प्रशोधन गरेर पठाउने हो भने पनि राम्रो आर्थिक लाभ लिन सक्छौं। अब त्यसतर्फ अग्रसर हुनुपर्छ भन्नेमा पनि सहभागीहरू सहमत भए।
अहिलेसम्मको प्रगति के छ त?
जैविक विविधताको संरक्षणमा राम्रो काम भएको छ। वनस्पति तथा जडीबुटीको संरक्षण र व्यवस्थापन गरी दिगो उपयोग गर्ने दिशामा नीतिगत व्यवस्था गरिएको छ। अनुसन्धान र विकासमा केही काम भएका छन्। सरकारी र निजी क्षेत्रका साथै विश्वविद्यालय र अनुसन्धानमूलक संस्थाहरू मार्फत जैविक स्रोतको उपयोगबाट वस्तु उत्पादनमा प्रारम्भिक चरणका केही काम भएका छन्।
सन् २०२० पछिको जैविक विविधताको संरक्षण र बायोप्रोस्पेक्टिङ मार्फत आफ्नै देशमा वस्तु उत्पादन गरी आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य प्राप्तिका लागि सम्मेलनमा प्रस्तुत कार्यपत्र र भएका छलफलबाट प्राप्त निष्कर्षका आधारमा रणनीतिक योजना बनाई सरकार तथा स्वदेशी/विदेशी संघसंस्था, विश्वविद्यालयले समन्वय र सहकार्य गरेर काम गर्नेतर्फ अग्रसर छौं।