सौन्दर्यको मन्दिरको गजुर उभिन्छ, ढल्किँदैन
कूटनीतिज्ञ यदुनाथ खनालको जन्म आजकै दिन १९७० सालमा तनहुँको मानुङमा भएको थियो। विद्वान्, समालोचक, कूटनीतिज्ञ र प्रखर वक्ता खनालको जन्मजयन्तीका अवसरमा उनले २०४८ सालको मदन पुरस्कार र जगदम्बा-श्री सम्मान वितरण गर्न २०५० कात्तिक ४ गते आयोजित समारोहमा दिएको प्रवचन प्रकाशित गरिएको छ। यो नेपाली त्रैमासिक अङ्क १३७ मा प्रकाशित छ।
श्रेयश्च प्रेयश्च मनुष्यमेतस्तौ संपरीत्य विविनक्ति धीरः
श्रेयो हि धीरोऽभि प्रेयसो वृणीते प्रेयो मन्दो योगक्षेमाद् वृणीते
- कठोपनिषद्
यस वर्षको ‘मदन पुरस्कार’ तथा ‘जगदम्बा-श्री’ सम्मान वितरण समारोहमा स्नेहपूर्वक आमन्त्रित भएकोमा मलाई हर्ष लागेको छ। यो सौजन्यका लागि वाङ्मयप्रेमी गुठियारहरूप्रति म कृतज्ञता ज्ञापन गर्दछु।
नेपाली वाङ्मय क्षेत्रमा मदन पुरस्कार पुस्तकालयको साथै यो पुरस्कार प्रतिष्ठान एक अर्थपूर्ण परम्परा हुन पुगेको छ। व्यक्ति, कृति वा संस्थाको सार्थकताको कसौटी प्रेरणा क्षमता हो। यस्तो क्षमताको स्थूल पक्ष बाहिरी अनुकरणीयता हो भने यसको सूक्ष्म पक्ष आन्तस्करणिक संवाद र उत्थानको प्रोत्साहन हो। प्रेरणाक्षम यथार्थताको स्थापनापछि हाम्रो विश्व भौतिक परिवेश र बौद्धिक चेतनामा पहिलेको सतहमा रहँदैन। चेतनामा तीक्ष्णता र व्यापकताले फड्को मार्दछ।
सन्तोषको कुरा छ- यो पुरस्कार संस्थाको स्वस्थ अनुकरणमा अरू पुरस्कारहरू स्थापित भएका छन्। तर, बढी महत्त्वपूर्ण कुरा के छ भने, यस पुरस्कारले वाङ्मय जगत्लाई समेत आस्था, उत्कण्ठ, उत्साह, स्वीकृति र प्रतिष्ठा जस्ता भौतिकेतर मान्यताको स्रोतका रूपमा प्रेरणा प्रदान गरेको अनुभव हुन्छ।
आज पुरस्कृत हुने भवेश्वर पंगेनीलाई म हार्दिक बधाई दिन्छु। इतिहास, विज्ञान र कलामा सत्यको प्रतिबद्ध अनुसन्धानका साथै मानव र मानवत्वप्रतिको श्रद्धा समान हुन्छ। ज्ञान तटस्थ भनिन्छ, तर मानवत्वप्रति तटस्थ ज्ञान कल्पना गर्न गाह्रो छ। अतीतको अनावरण, द्रव्यको प्रयोगात्मक विश्लेषण र मानवीय अन्तस्करण प्रवृत्तिहरूको सूक्ष्म मननले मानवत्व विराट् रूपमा अनुभूतिगम्य हुन्छ जसले गर्दा शेक्सपियरले ‘सृष्टिको कस्तो कल्पना छ मानव !’ भन्ने उद्गार गर्दछन् तथा ऋषिहरूले ‘यतो वाचो निवतन्ते अप्राप्य मनसा सह’ भन्दै प्रज्ञानको सूचना गर्दछन्।
यस्तै आज दार्जीलिङको नेपाली साहित्य सम्मेलन संस्था पुरस्कारको पात्र भएको छ। नेपाली भाषा र साहित्यको सर्व भावले अथक सेवा गर्ने यो संस्था यसरी पुरस्कृत हुनु हामी सबैका लागि अत्यन्त खुशीको कुरा हो। प्रवासमा नेपाली भाषा र साहित्यको विकासमा यसको योगदान अद्वितीय रहेको छ।
इन्द्रबहादुर राईको प्रभावकारी व्यक्तित्वको क्षितिज व्यापक छ। नेपालमा पनि यो संस्थाका कार्यहरूले दिएको प्रेरणा स्मरणीय छ। अध्यक्ष डा. लक्खिदेवी सुन्दास मार्फत यसको सेवामा संलग्न उहाँ समेत पूर्व र वर्तमान सबै साहित्यसेवीहरूलाई साधुवाद र बधाई दिन्छु।
पुरस्कार आत्मसंवादप्रधान कला र समाजप्रधान स्वीकृतिको बीच रहने अनिर्वचनीय सम्बन्धलाई झलक्क समूर्त बनाउने चौतारो हो। यसमा साधकलाई पसिना पुछ्दै शिवसत्य-सुन्दररूप आराध्य प्राप्तिको सोपानमा अरू आरोहका लागि नयाँ बल सञ्चय गर्न अवसर मिल्दछ। कहिलेकाहीं कलाकारको पुरस्कार निर्मम र अप्रत्याशित हुन्छ।
भनिन्छ, शोभा भगवतीको सुन्दर मूर्ति निर्माण गर्ने कलाकारदेखि राजा अत्यन्त प्रसन्न भए। त्यसको प्रतिद्वन्द्वी मूर्तिको सम्भावनाले उनको मनमा विवेकहीन डाह उठ्यो। उनले कलाकारको हात काटिदिए। मननीय छ, कलाकारका लागि पुरस्कर न लक्ष्य हो, न वास हो।
आजको अवसरमा प्रस्तुत यो चर्चा पुरस्कृत विधाहरूसँग सम्बद्ध हुनु वाञ्छनीय थियो। तर, इतिहास मेरो विशेष अध्ययनको विषय होइन। यस कारण संस्कृति र यसको वर्तमान उत्साहमन्द स्थिति उपर एक सानो दृष्टि दिने धृष्टता गर्नु सम्भवतः असान्दर्भिक नहोला।
शब्द, स्वर, गति, रूप, गन्ध, स्वाद र स्पर्शको विभिन्न कल्पनात्मक अनुपातको माध्यमबाट सांस्कृतिक वस्तुहरू समूर्त हुन्छन्। माध्यमहरू कोरा इन्द्रियज्ञानका क्षणिक अभिव्यक्ति हुन्छन् अथवा उदात्त मानसिक प्रक्रियाको संवाद सुन्दर सजीव चित्रणद्वारा नवीन प्रकाशमा सत्यका अभिव्यक्ति हुन्छन्। त्यसमा यी वस्तुहरूको प्रभावकारिता निर्भर गर्दछ।
संस्कृति ‘मानव को हो?’ र ‘मानवार्थ के हो?’ को अभिव्यक्त रूप हो। प्रकाश, स्वतन्त्रता, अमरत्व र परात्मा यसका स्वरूप हुन्। यसमा मानव-आत्मा तात्त्विक सम्पूर्णतामा क्रियाशील रहन्छ। यो प्रक्रियालाई मूर्त बनाएर तत्तत् युगको चेतना-शिखरमा टेकी मानवताको अर्थ गहिर्याउने हाम्रा पूर्वजका कलाकृतिहरू अनुसन्धेय र भावनीय दुवै छन्। सौन्दर्यको मन्दिरको गजुर उभिन्छ, ढल्किँदैन। मूर्ति, मन्दिर, प्रासाद र कलापूर्ण झ्याल र हिटीका रूपमा नेपालमा यस्ता कृतिहरूको विपुलता छ।
भावात्मक सान्निध्यले गर्दा यी हाम्रा लागि अत्यन्त अर्थपूर्ण छन्। उदात्तता, सहिष्णुता, सारग्राहिता, आस्था, श्रद्धा, विश्वास, कल्पना र समर्पण जस्ता चमत्कारपूर्ण विशेषता लिएका यी कलारत्नहरूमा एक अस्तित्वपूर्ण अनुभूति सम्प्रेषित भएको छ। हाम्रो मानवीय अस्तित्व यही हो। यसमा बढ्दो चाख र अध्ययनका सङ्केतहरूले सन्तोष दिन्छन्। तर, सांस्कृतिक अर्थमा यिनको वर्तमान प्रचारप्रधान चेतना पर्याप्त छ भन्ने महसूस हुँदैन।
जस्तो संस्कृति गहन विषय छ, त्यस्तै अन्तस्करण प्रवृत्तिलाई अपूर्व आविष्कारका रूपमा व्यक्त बनाएर मानवार्थमा नयाँ प्रकाश पार्ने कलाकारको प्रतिभा अनिर्वचनीय छ। यसैले गर्दा परम्परात्मक नैतिकताको विपरीत जानीजानी समाजनिषिद्ध जीवनको अनुभूति गर्ने जाँ जेनेको प्रतिभा पनि अन्त्यमा प्रतिष्ठापित हुन्छ। आत्मा, बुद्धि र प्रतिभाको स्वभाव स्वतन्त्रता हो। सक्रिय निजी एकलौटीपन यसको तपस्या हो। लेखनाथको सुगाले हाम्रो अनुभूतिको जो संश्लेषण गर्दछ त्यसले हामीलाई प्रभावित पार्दछ।
विश्वव्यथाको बोझमा सिद्धिचरणको संश्लेषणात्मक अनुभूतिले निजी तीव्रताको बाटो गरी प्रभावकारी सर्वजनीनता प्राप्त गर्दछ। आत्माको बन्धन, प्रतिभाको बन्धन वा बौद्धिक दासत्व वस्तुहीन शब्दानुपात हो बन्ध्यापुत्र जस्तै। कार्ल मार्क्स र एज्रा पाउन्ड स्वयं पूर्ण रूपमा स्वतन्त्रताको अनुभूति गर्ने व्यक्ति हुन्, तर उनीहरू भिन्नभिन्न प्रकृतिका अस्वतन्त्र व्यवस्थाका समर्थक भए। शेक्सपियरकालको साहित्यिक स्फुरणका लागि ट्युडर र स्टुअर्टवंशका राजाहरूको कठोर शासन पनि बाधक हुन सकेन।
जहाँसम्म संस्कृति र स्वतन्त्र व्यवस्थाको सम्बन्ध छ नेपालको आफ्नै अनुभूति घामछायाले छिर्बिरिएको हुँदा अस्पष्ट छ। नेपालको र नेपालीको स्वतन्त्रता अरू एकीकृत भएको छैन। मानिसको मनमा जन्मभूमिप्रतिको प्रेम उसको चेतनासँगै जन्मन्छ। धनी घरमा विवाहित नारीको पनि गरीबै किन नहोस् माइतीघरमा प्रेम हुन्छ। यो संश्लेषणात्मक निःस्वार्थ कवितानुकूल भाव हो। तर, मननीय छ, इतिहासमा कलाले राष्ट्रियताको होइन सौन्दर्यको उपासना गरेको छ।
स्वतन्त्र व्यवस्था वाञ्छनीय सहायक वस्तु हो, तर कलाकारको आफ्नै स्वतन्त्रतानुभूतिको पर्याय होइन। स्वतन्त्र व्यवस्थाले स्वतन्त्र कलाकार सृष्टि गर्दैन। स्वतन्त्र कलाकारले स्वतन्त्र विश्वको सृष्टि गर्दछ। किनभने, कलाकार आफैं स्वतन्त्र उत्तरदायित्वपूर्ण खुला व्यवस्था हो जसलाई कलाकारको हैसियतमा साक्षात् अनुभूत अनुशासन बाहेक सामाजिक वा विधागत नियम र परम्पराले बाँध्दैन। यस कारण कलाकार स्वयंमा सम्पूर्ण भावले निःस्वार्थ उदात्त स्वतन्त्रतानुभूति कलाको बीजभूमि हो। अर्थात्, सांस्कृतिक क्षेत्रमा नाराको भन्दा अनुभूतिको तहको स्वतन्त्रता बढी चाखको विषय हुन्छ।
प्रतिभावान् साधकको मनबाट यो शाश्वतता उसको कृतिमा सम्प्रेषित हुन्छ। दुःखलाग्दो कुरा हो, हामीलाई कृष्णमन्दिरका कलाकारको नाम थाहा हुन सक्दैन। मोनालिजाको लिओनार्दो जस्तै यिनको नाम ज्ञात हुन सके दर्शकको आनन्दले अर्को आयाम पाउने थियो। तर, यो कटुसत्यमा अर्को सत्य लुकेको छ जो मननीय छ। कलाकारको कृतिरूप जो आत्मसाक्षात्कार छ त्यो त्यसैमा विलय हुन सक्ने उसको नाम रूपभन्दा बढी अर्थपूर्ण हुन्छ।
यो शाश्वतताको सफल अभिव्यक्तिमा नै प्राथमिक अर्थमा कलाकारको अर्थपूर्णता निहित छ। यस वेलासम्म सम्प्रेषणीयता कलाकार र उसको सिर्जनाधीन कृतिको बीच सीमित रहन्छ। यस्तो सम्प्रेषण सजीव हुन्छ, मानौं कलाकार र उसको कृति आपसमा कुराकानी गरिहेछन्। यो संशोधनको वेला माध्यमहरूले थप अर्थघनत्व र विशदता लिन्छन्। केही गीत, चित्र र कविताहरू यही अवस्थामा थन्किएका हुन्छन्।
सामाजिक सम्प्रेषणीयता कविका लागि दोसो र पाठकका लागि प्राथमिक तहको अर्थपूर्णता हो। संयुक्त रूपमा यो सम्प्रेषणीयता आवश्यक काव्यतत्त्व छ। यस कारण पाश्चात्य परम्परामा केही दार्शनिकहरूले कविताको परिभाषा सम्प्रेषणीयता गरेका छन्। प्रयोगद्वारा पाठकको सम्प्रेषण परीक्षा गरी काव्यसिद्धान्त सुत्र्याएका छन्। संस्कृत काव्यशास्त्रमा यो अवधारणा व्यक्तभन्दा अव्यक्त रहेको छ।
साक्षात् कविता र समाजका सहृदयबीच विचार, भाव र माध्यमको सम्पूर्णतामा जो सचेत व्यवधानरिहत मानवार्थोन्मुख आदानप्रदान गरिन्छ त्यो समालोचना हो। यो गम्भीर साधना हो, झण्डै सिर्जनाको निकटवर्ती र सिर्जनाकै अनुकूल। कलाकारका लागि रथयात्रा र प्रभातफेरी जस्ता नाटकीय र राजनीतिक स्वीकृतिहरू सांस्कृतिक स्वीकृति जँच्दैनन्। उत्कृष्ट कलाकृतिको उदयपछि त्यसको विवेक नगर्नु प्राथमिक अर्थमा समाजको हानि हो, कलाकारको होइन।
कलाभित्र र सामाजिक स्वीकृतिभित्र गतिशीलता भिन्नभिन्न वेगले अघि बढ्दछ। प्रतिभास्फुरित युगकृतिलाई सामाजिक स्वीकृतिले भेट्टाउँदैन; प्रतिभा र साधनाले अपर्याप्त कृतिलाई सामाजिक स्वीकृतिले पछाडि छोड्छ। रेडियो र सिनेमा जस्ता सामाजिक मनोरञ्जनका स्थानहरूमा कलाकारले यी दुई ध्रुवबीच तनाव अनभव गर्दछ।
कलाकारको स्वीकृति ऊ जीवित रहँदै हुन्छ वा उसको निधनपछि हुन्छ; विश्वको अनुभवमा संयोगको कुरा भएको छ। यो कलाको गहनता हो। कलाकार वा समालोचकको आन्दोलनको विषय हाइन। प्रेरणा, सम्प्रेषण, सामाजिक स्वीकृति र सांस्कृतिक चेतनाको विकासका लागि कलाकृतिको विवेकपूर्ण परिचर्चा अनुशीलनीय हुन्छ। तर, कलाकारको प्राथमिकता उसकै कृति हो।
कविको क्षेत्र, अरू कलाकारको जस्तै, अन्तस्करण प्रवृत्ति हो। ‘प्रमाणमन्तःकरण प्रवृत्तयेः’। रति, उत्साह, शोक, भय, डाह, उच्चाभिलाषा, सहानुभूति, शम आदि अनेक प्रवृत्तिहरू छन्। शब्दद्वारा शब्दातीत वस्त अनभूतिगम्य हुन् काव्यको चमत्कृति हो। एक नवोदित कविका शब्दप्रति भावना छ।
म शब्द खोजिरहेकी छु
शब्दको संरचना खोजिरहेकी छु
शब्दको संवेदना खोजिरहेकी छु
शब्दको सम्प्रेषण खोजिरहेकी छु
कवितामा अर्थपूर्ण शब्द र तिनको त्यस्तै अर्थपूर्ण विन्यासद्वारा अनुभूतिरूप मानसिक प्रक्रियाको उद्बोधन हुन्छ। यो प्रक्रियालाई इन्द्रियले जन्म दिन्छ, शास्त्रको सहयोगमा पोषण गर्दछ र उत्तेजित पार्दछ। कविता अक्षरबाटै शुरू हुन्छ। ध्वन्यालोकमा आनन्दवर्धनले विभिन्न रसका अनुकूल र प्रतिकूल अक्षरको विवेचना गरेका छन्।
चिनियाँ अक्षरहरूमा यो तथ्य झन् स्पष्ट छ। निषेधार्थ हाम्रो ‘न’ अक्षरको चित्र चिनियाँ भाषामा बिरुवाको चित्रको शिरमा तेर्सो धर्को तानिन्छ जसको आशय हो बिरुवा बढ्न खोज्छ, तर धर्कोले दिंदैन। यो कल्पनामय सङ्केत हो निषेध। यसरी अर्थले विद्युन्मय शब्दसन्ततिका रूपमा कविता प्रादुर्भाव हुन्छ। अध्यास, हाइड्रोजन जस्ता अर्थलघु पारिभाषिक शब्दहरू सामान्यतः कविताको प्रतिकूल हुन्छन्।
आमा, प्रिया, फूल, चन्द्र आदि शब्दहरूमा पत्रैपत्र परेको अनेक अर्थले गदा अर्थघनत्व रहेको हुन्छ। स्मरणीय छ, गोपालप्रसाद रिमालको ‘आमा’ शब्द। गीता, डिभाइन कमेडी र ह्यामलेटको अनेकार्थता असङ्ख्य टीकाटिप्पणीको निधान भएका छ। शीला भट्टारिकाको एक श्लोक छ।
यः कौमारहः स एव हि वरस्ता एव चैत्रक्षपा-
स्ते चोन्मीलितमालतीसुरभयः प्रौढाः कदम्बानिलाः
सा चैवाकस्मि तथापि तत्र सुरतव्यापारलीलाविधौ
रेवारोधसि वेतसीतरुतले चेतः समुत्कण्ठते।
अर्थात्, जसले मेरो कुमारीत्व हर्यो पति तिनै छन्, तिनै चैतका रात छन्, मालती फूलले सुगन्धित त्यही हल्केको कदमको हावा छ, म पनि उही छु तर पनि रेवाको तीरमा बेतको रूखमुनि कामकेलि सम्झँदा मन रमाउँछ।
यो शृङ्गाररसात्मक कवितामा चैतन्यले राधाको कृष्णप्रतिको भक्तिरूप सात्विक प्रेम बुझे। यो उनको मन पर्ने श्लोक भयो। रूपगोस्वामीको आफ्नो गुरुलाई मन पन श्लोकहरूको सङ्ग्रहमा यसकै अनुकरणरूप
प्रियः सोकयं कृष्णः सहचरि ! कुरुक्षेत्रमिलित-
स्तथाकहं सा राधा तदिदमुभयोः सङ्गमसुखम् तथाप्यन्तः खेलन्मधुरमुरलीपञ्चमजुषे
मनो मे कालिन्दीपुलिनविपिनाय स्पृहयति
थपेर शीला भट्टारिकाको उपर्युक्त पद्य समाविष्ट छ। मोहन कोइरालाको नदी किनाराको माझी अनेकार्थवाचक छ। अर्थको सम्पूर्णतामा माझी शब्द प्रयोग भएका छ। फलस्वरूप बल्छी, खुँडा, घुङी, फुर्लुङ, मझिनी, नाङ्गो तिघ्रा आदि सहयोगी वस्तुहरूद्वारा माझीको भौतिक सक्कल जति उभिँदै जान्छ त्यति अनेक अनेकार्थ शब्दका ध्वनिको कारण उसको आन्तरिक मूर्ति पनि अनुभूत हुँदै जान्छ। माझी शब्द मात्र रहँदैन गन्ध पनि बन्दछ। गरीबी स्वयं सुन्दर वस्तु होइन, माझीकै भाषामा सुन्दर हुन पुगेको छ। माझी र कविको मनस्तल गाभिन थाल्छ। दृश्य द्रष्टामा विलीन हुन्छ, अनुभूतिलाई साधारणीकरण गर्दै।
धारिलो बल्छी र खुँङामा अड्किंदा पनि
एउटै आग्रह हुन्छ माछाको मुक्त हुन।
‘माछा’ र ‘मुक्त’ अनेक अर्थमा प्रयोग भएको छ।
मोहन कोइरालाको विचारमा गद्य कविता र आधुनिकता पर्यायवाची शब्द हुन्। नेपाली कवितामा युगचेतना शास्त्रीय छन्दभित्र गरिएका अनेक प्रयोग र गद्य कविताभित्र प्रयुक्त विभिन्न लयात्मकतामा विम्बित भएको देखिन्छ। पाश्चात्य परम्परामा काव्यशास्त्रभित्र छन्दको विवेचना भएको छ। कलरीज छन्दलाई सङ्गीतात्मक आनन्दको चेतना भन्दछन्- ‘अ सेन्स अफ् म्युजिकल डिलाइट’।
संस्कृत परम्परामा काव्यशास्त्र र छन्दशास्त्र स्वतन्त्र छन्। यो विषयले विस्तृत सैद्धान्तिक परिचर्चाको अपेक्षा गर्दछ। तर, मलाई के लाग्छ भने, शास्त्रीय छन्दभित्र ताजा शब्द र स्वरको प्रयोगद्वारा अनुभूत हुने माधव घिमिरेको विविधतापूर्ण मधुरतामा र छन्द बाहिर त्यस्तै शब्द र स्वरको संवाद र मोटामोटी निर्धारित अक्षरसङ्ख्याले सिर्जना गरेको व्यथितको कौतुकपूर्ण लयात्मकतामा कता कता निकटता रहेको छ।
सरस्वतीको गलामा पनि गति, गमक र गीतको स्थानमा तीन रेखा थिए रे! छन्दशास्त्रका आदि आचार्य पिङ्गलबारेको एक जनश्रुति सान्दर्भिक छ। पिङ्गलले वैदिक र लौकिक छन्दको विवेचना गरेका छन्। भनिन्छ, उनी नागवंशका थिए र नागलोकमा बस्दथे। उनलाई मर्त्यलोक देख्ने इच्छा भयो। मर्त्यलोक आएर केही दिन बिताए। फर्कन सोच्दै थिए, गरुडको पञ्जामा परे। ज्यान सङ्कटमा पर्यो।
उनले भने, “हे गरुड! मलाई तिमीले खायौ भने अद्भुत छन्दशास्त्र संसारबाट हराउँछ।”
गरुडले अद्भुत शास्त्र सुन्ने इच्छा गरे। पिङ्गलले सब बताए। गरुड मुग्ध भए; अचेतन भए। यो मौका छोपेर पिङ्गल ‘चतुर्भिर्यकारेर्भुजङ्गप्रयातम्’ भन्दै सुइँकुच्चा ठोके।
नेपाली साहित्यमा आधुनिक मनोविज्ञानको बढ्दो प्रयोग लाभदायक भएको छ। सूक्तिसिन्धुको मनोविज्ञान वात्स्यायनको कामसूत्रमा सीमित छ। आधुनिक नेपाली साहित्यमा फ्रायडीय मनोविज्ञानको यौन पक्षको ज्ञान निकै उत्रेको अनुभव हुन्छ। कथा, उपन्यास र कवितामा फ्रायडको स्वस्थ र अस्वस्थ दुवै प्रभाव पाइन्छ। युङ्गका मूल रूप र सामूहिक चेतनले भने पाश्चात्य साहित्यको अपेक्षामा त्यति स्थान पाएको देखिंदैन। जे होस्, यस क्षेत्रबाट अनेक नयाँ प्रवृत्ति, नयाँ शब्द र नयाँ अर्थमा पुराना शब्दको कविसमयभित्र प्रवेशले हाम्रो साहित्यलाई तिर्मिर्याएको छ।
अर्कोतिर मानवशास्त्रको अध्ययनले आदिम भाषा र संस्कृतिमा प्रकाश पार्ने हुनाले कविताको साधना र चर्चामा यो अर्को पूरक विषय बनेको छ। आदिम कालको भाषा र संस्कृतिमा, कवितामा जस्तै, पूर्व तार्किक र तार्किक मिश्रित सोचाइ पाइन्छ। विभिन्न वर्तमान सभ्यताको आदिम कालका, प्रतीक र मिथकका उद्गमस्थल, उपनिषद् र प्राचीन चिनियाँ कृतिहरूमा जिज्ञासा बढेको छ। गीताञ्जली र कामायनी यसैका परिणाम हुन्।
प्राचीन केल्टिक संस्कृति र उपनिषद् येट्सको काव्यात्मक चेतनाका आधार भएका छन्। उनको मेरु सनेट मननीय छ। पाउन्ड प्राचीन चीनले आकर्षित भएका छन्। नेपाली कविता यो सांस्कृतिक चेतनाको हाराहारीमा पुग्न सके अझ प्रभावकारी हुने थियो। ईशोपनिषद्को निम्न उद्धृत अभिव्यक्ति न तार्किक छ, न तर्कहीन छ। जो अविद्याको उपासना गर्दछन् ती अन्धो अन्धकारमा पस्छन्; जो विद्यामा रमाउँछन् ती त्यसभन्दा मानौं झन् ठूलो अन्धकारमा पस्छन्।
विद्याभन्दा अर्कै, अविद्याभन्दा अर्कै छ त्यो। यस्तै सङ्क्रमणकालीन अभिव्यक्ति चीनमा चुवाङ जुको नीतिकथामा पाइन्छ। चिनियाँ संस्कृतिमा ताओ शब्दको अर्थ अत्यन्त सूक्ष्म छ। मार्ग? प्रकृति? सत्य?
बुद्धि उत्तर गयो र रहस्यनदीमा आनन्द लियो। त्यहाँबाट गुह्य गिरि चढ्यो। त्यहाँ निष्क्रियवाक मुनिलाई भेट्यो र सोध्यो, “कुन विचारले, कुन ध्यानले ताओ जान्न सकिन्छ? केमा आड लिएर, केसँग लागेर ताओतिर बढिन्छ? केमा भर परेर, केलाई पछ्याएर ताओ प्राप्त गरिन्छ?” निष्क्रियवाक चूप निश्चल रह्यो। बुद्धि दक्षिण फर्क्यो र सेतोनदीमा आइपुग्यो। एकान्तछेउ पर्वत उक्ल्यो। त्यहाँ मुनि उग्रतालाई भेट्यो र तिनै प्रश्न सोध्यो।
उग्रताले भन्यो, “ए म जान्दछु सबै भन्छु।” भन्न के आँटेको थियो, सबै बिर्स्यो। फर्केर बुद्धिले राजदरबारमा पीतसम्राट्लाई तिनै प्रश्न गर्यो।
सम्राट्ले भने, “न कुनै विचारले, न कुनै ध्यानले ताओ जानिन्छ। न केहीमा आड लिएर, न केहीसँग लागेर ताओतिर बढिन्छ। न केहीमा भर परेर, न केहीलाई पछयाएर ताओ प्राप्त गरिन्छ।”
बुद्धिले भन्यो, “तपाईं र म जान्दछौं। ती दुइटा जान्दैनन्।”
सम्राट्ले भने, “निष्क्रियवाक बिल्कुल ठीक छ। उग्रता एकदम नजिक छ। तिमी र म टाढा छौं। जान्ने बोल्दैन, बोल्ने जान्दैन।”
कविताको साधना र अध्ययन कष्टसाध्य छ। काव्य सुबोध र दुर्बोधका झिसमिसमा रहन्छ। महाभारतमा व्यासले गणेशलाई अर्थ बुझ्न घोरिनुपर्ने तुल्याउन कूटश्लोक प्रयोग गरेको उल्लेख छ। यो प्रतीक हो, त्यहाँ कूटश्लोक पाइँदैन। इलियट भन्दछन- कविता बुझिने हुनुपर्दछ, तर सम्पूर्ण बुझिने होइन। समको ध्रुव नाटकका प्रथम दुई पङ्क्तिको अर्थ बुझ्न नरिवल जस्तै टोक्नुपर्छ। अबाट कको जन्म भयो, कका दुई कायबाट पुरुष स्वायंभुव मनु र स्त्री शतरूपा बने। स्रोतग्रन्थ भागवतका
कस्य रूपमभूद् द्वेधा यत्कायमभिचक्षते
ताभ्यां रूपविभागाम्यां मिथुनं समपद्यत
यस्तु तत्र पुमान् सोकभून्मनुः स्वायंभुवः स्वराट्
स्त्री याककसीच्छतरूपाख्या महिष्यस्य महात्मनः
यी चार पङ्क्ति पढेपछि अर्थ खुलेर र गहिरिएर आउँछ। तर पनि अ को? अथवा के? पद्यको रचनाबाट बुझिन्छ कि सम पाठकलाई कुतकुत्याउन चाहन्छन्। अका अनेक अर्थ छन- आरम्भ, सृष्टि, ब्रह्मा, पहिलो स्फोट, वैश्वानर पुरुष आदि। समको प्रत्येक प्रमुख कृति अबाट आरम्भ हुन्छ। प्रसङ्गको विषय छ- धुववंशको सृष्टि। महादेवको डमरुबाट निस्केको स्फोटको पहिलो शब्द ‘अ’ हो।
जाग्रत, स्वप्न, सुषुप्ति र तुर्यमा विभाजित मानवचेतनामा पहिलोलाई ‘अ’ वैश्वानर भनिन्छ। कुमारसम्भव अबाट शुरू हुन्छ। ‘अ’ स्वर हो, क स्वर र व्यञ्जनको मिथुन हो। यसमा समले कुनै निजी अर्थ सङ्केत गरेको पनि हुन सक्छ। यसरी अर्थको सम्पूर्णतामा विचार गर्दा श्लोक अर्थपूर्ण हुने मात्र होइन, समको विश्वदृष्टि पनि अभिव्यक्त हुन्छ।
वाल्मीकिको अन्धो ऐना र मिल्टनको अन्धा मुखमा यस्तै दुर्बोधता पाइन्छ। यास्कको निरुक्ति यसैले आवश्यक हुन्छ। सोमनाथको आदर्शराघवमा पहिलो श्लोक पशुपतिको वन्दनात्मक छ। सृष्टि, स्थिति, प्रलय, निरोध र कृपारूप पाँच मुख भएका श्रीपूर्ण पशुपति स्मरणीय छन्। यसमा मार्मिक शब्द श्री छ जसका अनेक अर्थ छन्- लक्ष्मी, शक्ति, मङ्गल, यन्त्र, आरम्भ आदि।
हाम्रो लेखनपठन श्रीबाट शुरू हुन्छ। भारवि र माघले आफ्ना काव्यहरू श्री शब्दबाट शुरू गरेका छन्। पशुपतिको पञ्चमुखयम मूर्तिको कल्पना तान्त्रिक सम्प्रदाय हो। यो सम्प्रदाय अनुसार धाताले जगत्को सृष्टि, विष्णुले रक्षा, रुद्रले प्रलय वा संहार, ईशले तिरस्कारमा आफ्नै स्वरूपको स्थगन वा निरोध र सदाशिवले कृपा गर्दछन्।
‘श्री’ शब्दले पशुपतिको शिरमा रहेको श्रीयन्त्रलाई जनाउँछ। फेरि श्री आफैं मङ्गल, लक्ष्मी र शक्तिको द्योतक छ। यसरी सामस्त्यमा सोमनाथको विश्वप्रतिको पारम्परिक शास्त्रीय अवधारणा उत्रेको छ।
अनुभूति आध्यात्मिक वस्तु हो। यसैले भनिन्छ- काव्यानन्द ब्रह्मानन्दको निकट हुन्छ। मननीय कुरा के छ भने, भक्तिरसेतर कवितामा पनि यो कुरा सत्य छ। तरुणतपसी भक्तिभावको कविता होइन, तर यसमा कविले ईश्वरसँगको आफ्नो सम्बन्ध नियालेका छन्। पागल र कुन मन्दिरमा जान्छौ यात्री भक्तिका कविता होइनन्, तर यिनमा उपर्युक्त सम्बन्धको अनुभूति विद्यमान छ।
साधनाको शुरूमा कवि आफूलाई ‘हामी’ र ईश्वरलाई ‘त्यो’ चिताउँछ। गीतामा अर्जुनले ईश्वरलाई गुह्यतर ज्ञानको अवस्थामा ‘त्यो’ देख्दछन्। त्वमेव शरणं गच्छ। साक्षात्कारको अन्तिम अवस्थामा कविका लागि हामी ‘म’ र ईश्वर ‘तँ’ हुन पुग्छ। गुह्यतम ज्ञानको वेला अर्जुन कृष्णमय हुन्छन्। मन्मना भव। अङ्ग्रेजी साहित्यमा ब्राउनिङले यही पाराले यो सम्बन्ध अभिव्यक्त गरेका छन। रबाइ बेन एज्राको प्रथम पद्यमा ‘हाम्रो काल उसको हातमा छ (अवर टाइम्स आर इन हिज् ह्यान्ड)’ भनेका छन् भने अन्तिम बत्तीसी पद्यमा आएर समर्पणका अवस्थामा ‘मेरो काल तेरो हातमा छ (माइ टाइम्स आर इन युअर ह्यान्ड)’ भन्छन्। यो अनपेक्षित चर्चा होइन।
अन्त्यमा विषयको गहनताले गर्दा मन्तव्य लामो भएकोमा क्षमा याचना गर्दै उपस्थित सबैप्रति यत्रो धैर्यका लागि आभार व्यक्त गर्दछु।