संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नताका विषयमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थप गरिएको छ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकले समितिको म्याद सात दिन थप गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले पेश गरेको विशेष समितिको म्याद सात दिन थप गर्ने प्रस्ताव प्रतिनिधि सभाले सर्वसम्मतिले पारित गरेको छ।
बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै विरोध भएपछि असार २२ गते सभामुख सापकोटाले संसदीय छानबिन विशेष समिति गठन गरेका थिए। त्यति वेला विशेष समितिलाई सात दिनको म्याद दिइएको थियो।
छानबिन क्रममा अन्तिम चरणमा पुगेको र थप समय आवश्यक रहेको भन्दै समितिले म्याद थप्न आग्रह गरेको थियो। समितिले गरेको लिखित आग्रहका आधारमा प्रतिनिधि सभाले सात दिन म्याद थप गरेको हो।
यसअघि आजै समितिले पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको थियो। उनीसँग झण्डै तीन घण्टा बयान लिइएको समितिले जनाएको छ।
प्रतिनिधि सभाले संसदीय छानबिन विशेष समिति गठन गरेसँगै शर्माले असार २२ गते नै मन्त्रीबाट राजीनामा दिएका थिए।