महिला, भोग र योग
आफ्नो शरीर रेखदेखको लागि फुर्सद निकाल्न नसक्ने हो भने दीर्घकालीन स्वास्थ्य समस्याले गाँज्न सक्छ, त्यो बेला हामीले व्यस्त जीवनशैलीबाट गरेको कमाइको के अर्थ ?
आफूले प्रयोग गर्ने मालसामानलाई हामी बडो जतन गर्छौं । लुगा धोएर ईस्त्री लगाउँछौं, शिशाका सामान फुट्लान् कि भनेर चनाखो बन्छौं । गाडी र मोटरसाइकलको झ्नै रेखदेख गर्छौं । मोबाइल फोनको ब्याट्री आधाउधी सकिनासाथै चार्जर जोड्न हतारिन्छौं । तर किनेका मालसामानलाई झन् बढी रेखदेख गर्ने महिलाहरूले आफ्नै शरीरलाई भने ध्यान दिंदैनन् ।
पहिरन र आभूषणबाट सजाएको शरीरको भित्री पार्टपुर्जा कस्ता छन्, हाडजोर्नी ठीक छ कि छैन, फोक्सोमा प्राणवायु पर्याप्त पुगेको छ कि छैन भन्नेमा बेवास्ता गरिन्छ ।
कमाइ बुढ्यौलीका लागि साँच्ने, घरजग्गा र पैसा छ भनेर सुरक्षित महसूस गर्ने हामी शरीरलाई सुरक्षित राख्न कति समय दिन्छौं ? यसको जवाफ आजको हाम्रो भागदौडग्रस्त जीवनशैलीले स्वतः दिइरहेको छ– आफ्नो लागि हामीसँग समय नै छैन ।
रमिता नामकी तराई मूलकी मेरी एक साथी थिइन् । महिला स्वास्थ्य सम्बन्धी काम गर्ने संस्थामा कार्यरत उनी कुर्सीबाट हलचल नै नगरी लगातार ६/७ घण्टासम्म कम्प्युटरमा खट्थिन् । बेलाबेला पानी खाने, हरेक दुई घण्टामा कुर्सीबाट उठेर केहीबेर हिंड्ने जस्ता कुरामा उनलाई वास्तै नहुँदो रहेछ ।
लगातार कम्प्युटरमा काम गर्दा स्वास्थ्य समस्या निम्तेला भनेर सजग गराउँदा उनले हाकिमलाई चाँडै रिपोर्ट बुझउनुपर्ने भएकाले फुर्सद लिनै नमिल्ने बताइन् । मैले भनें, “केही दिन ढिलो रिपोर्ट बुझए पनि फरक नपर्ला । तर टाउको, ढाड आदि दुख्ने समस्या भएर आराम गर्नुपर्दा चाहिं फुर्सद कसरी निस्किन्छ नि ?” उनले सहजै भनिन्, “त्यो बेला जे हुन्छ, हेरुँला ।”
यो कुराकानी भएको ६ महीनापछि नै रमिता ढाडको असह्य दुखाइका कारण दुई महीना ओछ्यान परिन् । स्वास्थ्यकर्मीले उनलाई फिजियोथेरापी र योग गर्न सिकाए । कुर्सीमा बस्दा मेरुदण्ड सीधा पारेर बस्न सिकाइयो । कम्प्युटर चलाउँदा बीच–बीचमा फुर्सद पनि निकाल्छिन् ।
‘अहिले त आराम गर्न फुर्सद निस्कियो है’ भनेर जिस्क्याउँदा उनी भन्छिन्, “के गर्नु, यस्तो हुन्छ भनेर पहिल्यै जानेको भए आज हैरानी खेप्नुपर्ने थिएन ।” उनले थाहा त पाएकी थिइन्, तर यस्तो समस्या आफूलाई पर्दैन होला भनेर हेलचेक्र्याइँ गरिन् । हामीमध्ये धेरैले गर्ने यही नै हो ।
योगलाई मैले विगत साढे एक दशकदेखि साथी बनाएकी छु । एक पटक काँध असाध्यै दुखेपछि फिजियोथेरापी र योग गरेरै ठीक पारेकी थिएँ । योग गर्न त्यस्तो गाह्रो छैन र फराकिलो ठाउँ पनि चाहिंदैन । हात र गर्धनको व्यायाम त गाडीमा वा घर/कार्यालयको कुर्सीमा बसेको बेला पनि गर्न सकिन्छ ।
स्वास्थ्यप्रति सचेत हुने र योग गर्नेहरू त विभिन्न समस्या भोगिरहेका हुन्छन् भने कम्प्युटर चलाएरै दिन बिताउने, घाममा बस्दै नबस्ने, बजारका ‘पत्रु खाना’ खाने आजका केटाकेटीको स्वास्थ्य कस्तो होला ?
अहिले अफिस, ब्याङ्क, विद्यालय आदिमा काम गर्ने कतिपय महिलाहरू जीउ दुख्यो, खुट्टा कटकट खायो भनेर अस्पताल जान्छन् । उनीहरूलाई त्यहाँ क्याल्सियम र भिटामिन डीदेखि अनेक चक्की दिनु त सामान्य कुरा भइसकेको छ ।
महीनावारीका बेला हुने पेट दुखाइदेखि गर्भावस्थामा स्वस्थ रहन र प्रसव व्यथा घटाउनसम्म योगले फाइदा गर्छ। गर्भावस्थामा उच्च रक्तचाप, खुट्टा सुन्निने, अति टाउको दुख्ने जस्ता जटिलता छैन र शिशु ठीक ठाउँमा बसेको छ भने साधारण योगासनले लाभ मिल्छ।
त्यसमा पनि अहिले “भिटामिन डीको कमी भएको छ, त्यसैले चक्की/क्याप्सुल खानुपर्छ” भन्ने जस्ता भ्रमपूर्ण विज्ञापन आउँछन् । स्वास्थ्यचौकीमा पनि गर्भवती महिलालाई भिटामिन, क्याल्सियमका चक्की बाँडिन्छ ।
हाम्रो भान्सामा हुने ज्वानो, भटमास, गहत, सिमी, अण्डा, दही–मोही आदिमा पर्याप्त क्याल्सियम पाइन्छ, त्यही खानुस् भन्ने सल्लाह त्यहाँ कसैले दिंदैनन् । अफिसमा दिनभरि कम्प्युटरमा काम गर्ने महिलाले ढाड दुख्यो भनेपछि उनको काम गर्ने तरिका, समय, बसाइ कस्तो छ भनेर सोधिंदैन ।
गर्भावस्थामा योग
महिलाहरूको जीवनको विभिन्न पक्षमा योगले महत्वपूर्ण भूमिका खेल्छ । तर, योगको फाइदा लिन नियमित अभ्यास गर्नुपर्छ । केही दिन गर्दैमा जादूको छडीले झैं प्रभाव देखिंदैन ।
महीनावारीका बेला हुने पेट दुखाइदेखि गर्भावस्थामा स्वस्थ रहन र प्रसव व्यथा घटाउनसम्म योगले फाइदा गर्छ । गर्भावस्थामा उच्च रक्तचाप, खुट्टा सुन्निने, अति टाउको दुख्ने जस्ता जटिलता छैन र शिशु ठीक ठाउँमा बसेको छ भने साधारण योगासनले लाभ मिल्छ ।
गर्भावस्थामा वाक्वाक् आउने, खान मन नलाग्ने जस्ता समस्या हुनु स्वाभाविकै हो । त्यो समस्या हुँदा पनि अलिअलि गरेर खाना खाने, चिल्लो पदार्थ बढी नखाने र आफूलाई उपयुक्त हुने सरल किसिमका योगले फाइदा पुर्याउँछ ।
धेरै बेर उभिंदा वा हिंड्दा ढाड र पिडाैंलामा हुने दुखाइ योगबाट कम हुन्छ । गर्भावस्थामा विशेष गरेर ‘पुतली आसन’ उपयोगी हुन्छ, यसले शरीरलाई लचिलो बनाउँछ र प्रसव व्यथा कम गराउँछ ।
यस्तै, गर्भावस्थामा शरीरमा लचकता ल्याउने अर्को आसन हो, मार्जरी अर्थात् बिरालो आसन । शशकासन (खरायो आसन) ले पनि शरीरलाई लचिलो बनाउनुका साथै गर्भावस्थामा हुने चिडचिडेपनका साथै तनाव, रिस घटाउन मद्दत गर्छ ।
प्रसव अवस्थापछि कतिपय महिलाहरूको शरीर मोटो हुन्छ । शिशुलाई स्तनपान गराउनुपर्ने भएकाले प्रायः खाना बढी खाइन्छ र बढी चिल्लो–गुलियो खानपानले तौल बढ्छ ।
तौल नियन्त्रण गर्न चिल्लो कम भएको खाना खाने र विभिन्न योग गरे प्रभावकारी हुन्छ । योगसँगै काम, खानपान र आरामबीचको सन्तुलन, अनुशासित जीवनशैलीले महिलाको स्वास्थ्यमा राम्रो भूमिका खेल्छ ।
योगबारे विभिन्न भ्रम पनि छन् । यसबाट महिलाको क्यान्सर निको हुन्छ, पाठेघरमा उल्टो बसेको शिशु सुल्टो हुन्छ भन्ने कुरा अफवाह मात्र हुन् । योगले जीवनमा महत्वपूर्ण प्रभाव त पार्छ, सबै रोग र समस्या निको पार्न भने सक्दैन ।