आफूलाई ‘ट्रोल’ गरेकोबारे प्रदीप ज्ञवालीले संसद्मा के भने?
नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले महँगीको विरोध गर्दा आफूलाई ‘ट्रोल’ गरेर विषयान्तर गर्न खोजेको बताएका छन्।
प्रतिनिधि सभाको साउन ५ गतेको बैठकमा बोल्दै ज्ञवालीले आफूले सार्वजनिक रूपमा राखेको धारणाको अपव्याख्या भएको बताए।
“सत्तारूढ दलका साथीहरू मूल्यवृद्धिको कुरा उठाउनेलाई फोटोशप गरेर हुन्छ कि के गरेर हुन्छ ‘ट्रोल’ बनाउनेतिर लाग्छन्,” बैठकमा ज्ञवालीले भने, “मैले पनि यो विषय उठाएको थिएँ, अमेरिकामा खाना खाइरहेको फोटो राखेर ट्रोल गरियो। त्यसो गरेर उहाँहरूको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना छ, सस्तो होस्।”
थेग्नै नसक्ने महँगी बढ्दा पनि सरकार मूकदर्शक बनेको उनको भनाइ छ। ज्ञवालीले भने, “तपाईंहरूले विषयान्तर गरेर अचाक्ली बढेको महँगी नियन्त्रण हुन्छ?”
ज्ञवालीले पटक पटक मन्त्री भइसकेको र सांसद बनिसकेको आफूलाई दुई थरी तरकारी खान गाह्रो परेका वेला न्यून आय भएकाहरूको अवस्था के होला भन्ने धारणा राखेका थिए। उनको भिडिओलाई सामाजिक सञ्जालमा ‘ट्रोल’ गरिएको थियो।