थन्क्याइएका दुई नायक
राष्ट्रियता, पार्टी सिद्धान्त र सङ्गठन निर्माणमा बीपीको योगदान बिर्सने कांग्रेसी प्रवृत्ति कम्युनिष्ट पार्टी स्थापना मार्फत त्यस्तै भूमिका खेलेका पुष्पलालका सन्दर्भमा वामपन्थीहरूमा पनि देखिँदै छ।
बीपीदेखि बीपीसम्म
बीपी कोइरालाले राजनीतिक उद्देश्यप्राप्तिका लागि अघि सारेको प्रमुख नारा हो- राष्ट्रियता, प्रजातन्त्र र समाजवाद। यसको व्याख्या विभिन्न सन्दर्भमा बीपी आफैंले गरेका छन्। यी तीन शब्दको नेपाली राजनीतिमा जुन स्थान र भूमिका रह्यो, त्यो एउटा कालखण्डसम्म रहिरहने नै छ।
यो नाराका सन्दर्भमा राष्ट्रियता शब्द विशेष अर्थपूर्ण छ। बीपीले भारतको प्रवासन त्यागेर राष्ट्रिय मेलमिलापको नारा लिई स्वदेश फर्किंदा नेपालको राष्ट्रियता खतरामा रहेको सन्देश दिएका थिए। राष्ट्रियता रक्षाका लागि राजा र आफूबीच मेलमिलाप-सहमति हुनुपर्ने उनको जोड थियो। उनी आफू प्रजातान्त्रिक शक्तिको र राजा परम्परागत शक्तिको प्रतिनिधि भएकाले दुईबीच मेलमिलाप हुँदा मात्र राष्ट्रियता सुरक्षित हुने धारणा राख्थे।
राजाको शासन र पञ्चायतकालमा राष्ट्रियताबारे जस्ता सङ्कट रहेको चर्चा गरिन्थ्यो, ती अहिले पनि छन्। बीपीले गर्ने गरेको राष्ट्रियतामाथिकोे सङ्कटको व्याख्या नेपाली कांग्रेसले बिर्सिसकेको छ। यद्यपि, नेपालको बौद्धिक र राजनीतिक क्षेत्रले राष्ट्रियताको स्वरूप, अवस्था र सङ्कटप्रतिको चिन्तन छाडेको छैन। भलै त्यो पर्याप्त छैन। कांग्रेसमा बीपीको देहावसानपछि आएको कुनै पनि नेतृत्वले न उनका विचारहरूको व्याख्या गरेर तिनलाई सामयिक रूप दियो न त नयाँ भाष्य वा वैचारिक आधार प्रस्तुत गर्न सक्यो।
नेपाली भूभागमा भारतीय कब्जा, खुला सीमाका कारण भारतीय र तेस्रो देशका नागरिकको बढ्दो आगमन र बसाइ, निरन्तरको व्यापार घाटा, उसैलाई मात्र फाइदा हुने वाणिज्य सन्धि, थिचोमिचो, हेपाहा व्यवहार र शक्तिराष्ट्रहरूको भूराजनीतिक चासो एवं दबाबले नेपाल अप्ठ्यारोमा पर्दै गइरहेको छ। तर, नेपाली कांग्रेस यसबारे कुनै चिन्ता गर्दैन न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नै गर्छन्। कांग्रेसभित्रको विचार शून्यताको प्रतीक बनेका छन्, उनी।
सत्तालाई सुखभोग र धनार्जनको माध्यम मात्रै बनाउने र प्रमुख प्रतिपक्ष रहँदा ‘कुम्भकर्णको जस्तो लामो निद्रा’ मा रमाउने कांग्रेस विचारशून्य भीडमा परिणत हुँदै छ।
बीपीको नाराभित्र समाजवाद पनि छ। उनले गरे जस्तो समाजवादको व्याख्या आजका सन्दर्भमा अपूर्ण वा अपर्याप्त हुन सक्ला, तर त्यसलाई सामयिक रूप, सार र परिभाषा दिने काम कांग्रेसकै हो। अहिले पार्टी सभापति र सम्पूर्ण कांग्रेस नेताहरूको चालामाला हेर्दा समाजवाद शब्द नै उनीहरूका लागि बोझ् भइसके जस्तो देखिन्छ।
लोकतन्त्रलाई कसरी राष्ट्रियता संरक्षण र संवद्र्धनको माध्यम बनाउने? लोकतन्त्र त प्राप्त भयो, तर बलियो राष्ट्रियता र सबल अर्थतन्त्रको निर्माण कसरी गर्ने? यस्ता प्रश्नमाथि कांग्रेसमा गम्भीर छलफल हुँदैन। बीपीले नेहरू, इन्दिरा गान्धी र भारतसँग लिएको अडानलाई ऊ सम्झन पनि चाहँदैन।
सत्तालाई सुखभोग र धनार्जनको माध्यम मात्रै बनाउने र प्रमुख प्रतिपक्ष रहँदा ‘कुम्भकर्णको जस्तो लामो निद्रा’ मा रमाउने कांग्रेस विचारशून्य भीडमा परिणत हुँदै छ। यद्यपि, राष्ट्रियता, लोकतन्त्र र समाजवादको सुदृढीकरण सबै लोकतान्त्रिक दलको कार्यभार हो।
बीपीले निर्माण गर्न चाहेको देश कस्तो हो? उनले गरेको राष्ट्रियताको परिभाषा पूर्ण छ/छैन? बीपीले परिकल्पना गरेको समाजवाद आजको परिस्थितिमा उपयुक्त छ/छैन? कांग्रेसले यी विषयमा चासो लिएर आफूलाई बीपीको वैचारिक उत्तराधिकारीका रूपमा स्थापित गर्न सक्नुपर्छ।
निश्चय नै आजको समय बीपीको होइन। राजनीतिक परिस्थिति बेग्लै छ। हामी गणतान्त्रिक युगमा छौं। तर, कांग्रेसका लागि बीपीको सामयिकता र सान्दर्भिकता सकिइसकेको छैन। बीपीको राष्ट्रियताको रक्षा र समाजवाद निर्माण गर्ने लक्ष्य अपूरै रहेको कुरा कांग्रेसीहरूलाई सम्झाउने, उनका रचनाहरू बुझ्न घचघच्याउने, उनका विचार अध्ययन गरी तिनको वर्तमान सन्दर्भमा सामयिक व्याख्या गर्ने नेता, चिन्तक र समर्पित कार्यकर्ताको टड्कारो आवश्यकता देखिन्छ। तर, चिन्ता के भने, अहिले पनि नेपाली कांग्रेसको विचार र नीति बीपीबाट शुरू भएर बीपीमै टुङ्गिन्छ। त्यहाँबाट अघि बढाउने विचारक कोही देखिँदैन।
बनारसमा कति रात भिजाएको चना मात्रै खाए, त्यो पनि नहुँदा भोकै सुते, तर आफ्ना भारतीय मित्र र कम्युनिष्ट पार्टीहरू सामुन्ने पुष्पलालले हात फैलाएनन्।
अझै सामयिक पुष्पलाल
पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको पहिलो सङ्गठनकर्ता, नेपाल कम्युनिष्ट पार्टी स्थापनाका लागि नेपाल-भारतका विभिन्न स्थानमा सम्पर्क र सङ्घर्ष गर्दै हिंड्ने पहिलो व्यक्ति, प्रमुख नेतृत्वदायी भूमिका खेल्ने नेता र संस्थापक महासचिव थिए। उनी नेपाली कम्युनिष्ट आन्दोलनका मौलिक एवं प्रथम चिन्तक, दूरदर्शी र अध्ययनशील सिद्धान्तकार समेत थिए। पुष्पलालको जीवन, विचार र सङ्घर्षमा सधैं स्वाभिमान, सरलता र सन्तुलन रह्यो।
२०१७ सालमा राजा महेन्द्रले संसद् विघटन गरी सत्ता हत्याएर दलहरूलाई प्रतिबन्ध लगाएपछि कांग्रेस र कम्युनिष्ट पार्टीका शीर्ष नेताहरू या बन्दी बनाइए या त भारत प्रवासमा जान बाध्य पारिए। पुष्पलाल पनि पार्टी र आन्दोलन जोगाउन भागेर भारत पुगे। उनले बनारसलाई आश्रयस्थल बनाए र कम्युनिष्ट आन्दोलनको दियो बाली राखे। राजा महेन्द्रले अनेकौं प्रलोभन देखाउँदा, सत्तामा सामेल भएर सुखभोग गर्न आग्रह गर्दा पनि पुष्पलाल त्यसलाई नकार्दै बहुदलीय लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको पक्षमा जनमत र सङ्गठन निर्माण गर्न दिनरात लागिरहे।
बनारसमा कति रात भिजाएको चना मात्रै खाए, त्यो पनि नहुँदा भोकै सुते, तर आफ्ना भारतीय मित्र र कम्युनिष्ट पार्टीहरू सामुन्ने हात फैलाएनन्। बरु नेपालबाट बनारसमा पढ्न जाने वामपन्थी विद्यार्थीहरूले दिएको सहयोग लिए, कार्यकर्ताले पठाएको सानोतिनो रकमबाट पार्टीको केन्द्रीय कार्यालय चलाए।
पार्टी वा आफ्नो खर्च चलाउन विदेशीसँग आर्थिक सहयोग लिँदा आफ्नो स्वाभिमान र स्वाधीनता कमजोर हुने कुरा पुष्पलालले पार्टी स्थापनाकालदेखि नै बुझेका थिए। यस्तो स्वाभिमान अहिले कांग्रेसका नेताहरूमा त पाइँदै पाइँदैन। (त्यसैले उनीहरूले आफ्नो देशमाथि भारतले अन्यायपूर्वक नाकाबन्दी लगाउँदा समेत विरोध गर्न सकेनन्।) कांग्रेसमा रहेको यस्तो रोग अहिले कतिपय वामपन्थी भनिने नेताहरूमा समेत देखापर्न थालेको छ।
देशको राष्ट्रियता र स्वाधीनता नेताहरूको स्वाभिमानले गर्दा नै बलियो हुने हो। हाम्रा प्रधानमन्त्रीहरूले छिमेकी र अन्य मित्रराष्ट्रसँग दह्रोसँगै राष्ट्रिय अडान राख्न सके समग्र राष्ट्रको गरिमा र जनताको मनोबल बढ्छ। पुष्पलाल त्यस्तै नेता थिए। भारतमै निर्वासित भएर बस्दा पनि भारतले नेपाललाई गरेको थिचोमिचो, अन्याय र हेपाहा व्यवहारको आफ्ना लेख र पार्टीका राजनीतिक दस्तावेजहरूमा निरन्तर विरोध गरिरहे। उनको आलोचना र विरोधको शैली उत्तेजक हुँदैनथ्यो, तथ्यलाई आधार बनाएर विश्लेषणात्मक र तर्कयुक्त ढङ्गले प्रस्तुत हुन्थे।
समयमा राम्रो उपचार नपाएर विदेशमा जीवन गुमाउनुपरे पनि आजको वामपन्थी आन्दोलन वैचारिक र सङ्गठनात्मक रूपमा पुष्पलालले बनाएको जगमा उभिएको छ।
त्यसको खण्डन गर्न भारतीय सत्ताका समर्थक त्यहाँका बुद्धिजीवीहरूलाई समेत गाह्रो पथ्र्यो। अध्ययनमा गहिरो रुचि पुष्पलालको विशेषता थियो। कम्युनिष्ट पार्टीको घोषणापत्र नेपालीमा अनुवादपछि त्यसलाई छाप्न गरेको परिश्रम र दुःखबाट उनमा सिद्धान्तको अध्ययनप्रति रहेको जागरुकता छर्लङ्ग हुन्छ। उनले घोषणापत्रको भूमिका लेखनमा व्यक्त गरेको विचारले पनि अध्ययनशील स्वभावको झल्को दिन्छ।
पुष्पलालसँग सङ्गत गरेका अघिल्लो पुस्ताका वामपन्थी नेताहरूसँग कुराकानी गर्दा र संस्मरणहरू पढ्दा उनको स्वभाव सरल, सहृदयी र पारदर्शी रहेको थाहा हुन्छ। सहयोगी र पार्टीका कतिपय नेताहरूले साथ छोड्दा पनि उनी आफ्नै विचार, सिद्धान्त र अडानमा रहिरहे।
कांग्रेसप्रति बढी आशावादी भएको आरोप कतिपय सहयोद्धा र वामपन्थी नेताहरूले लगाए पनि नेपालमा लोकतन्त्र स्थापनाका लागि संयुक्त जनआन्दोलनको आफ्नो नीति अपरिहार्य रहेको तथ्यमा उनले जीवनभर जोड दिए। संयुक्त जनआन्दोलनको नीति उनको देहावसानपछि कार्यान्वयन भयो। २०४६ सालको जनआन्दोलन र २०६२/६३ को गणतन्त्रको ढोका खोल्ने जनसङ्घर्ष दुवै उनको यही नीतिको व्यावहारिक सफलता थियो।
पुष्पलाल सिद्धान्तकार र सङ्गठनकर्ता दुवै रूपमा सफल थिए। समयमा राम्रो उपचार नपाएर विदेशमा जीवन गुमाउनुपरे पनि आजको वामपन्थी आन्दोलन वैचारिक र सङ्गठनात्मक रूपमा उनैले बनाएको जगमा उभिएको छ। उनले पार्टी स्थापनामा जसरी निर्णायक भूमिका खेले त्यसरी नै २०१७ सालपछि पार्टीलाई विसर्जनको बाटोमा जान नदिन पुनर्गठनको अगुवाइ गरे।
पुष्पलालले लेखेका दस्तावेज र लेख आज पनि राजनीतिक र बौद्धिक क्षेत्रका लागि महत्त्वपूर्ण सामग्री हुन्। नेपालको राजनीतिक सङ्घर्ष, सङ्गठन र विकासलाई ऐतिहासिक रूपमा सही ढङ्गले बुझ्न बीपी र पुष्पलालका विचारहरूको समग्र अध्ययन आवश्यक छ। यी दुवै नेपालका प्रमुख दुई राजनीतिक धारका शिखर व्यक्ति हुन्।
कांग्रेसका विचार र नीतिको निर्धारण तथा सङ्गठन निर्माणमा बीपीले अगुवाइ गरे भने कम्युनिष्ट पार्टीका सिद्धान्त, नीति, कार्यक्रम र सङ्गठन निर्माणमा पुष्पलालले प्रमुख भूमिका खेले। यी दुई नेतामा जुन उचाइको सिद्धान्तकार र सङ्गठनकर्ताको व्यक्तित्व थियो, त्यो अरू नेतामा देखिएको छैन। विडम्बना, आज यी दुवै शिखर पुरुषलाई तस्वीरमा थन्क्याइएको छ।
(पूर्व मन्त्री पन्त नेकपा (एमाले) का स्थायी कमिटी सदस्य हुन्। हिमालको २०७९ साउन अंकबाट।)