पूर्व अर्थमन्त्री शर्मासँग लियो छानबिन समितिले बयान
बजेट निर्माण गर्दा करको दर हेरफेर गरेको विषय विवादित बनेपछि पदबाट राजीनामा दिएका पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय छानबिन समितिले बयान लिएको छ।
अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराएको र त्यस सम्बन्धी सीसीटीभी फूटेज गायब पारेको आरोप लागेपछि शर्माले राजीनामा दिएका थिए। त्यसपछि गठन भएको छानबिन समितिले साउन ५ गते शर्मासँग तीन घण्टा बयान लिएको हो।
बयान दिएर बाहिरिने क्रममा शर्माले सञ्चारकर्मीसँग भने, “मैले उहाँहरूले सोधेका प्रश्नहरूको जवाफ दिएको छु, बाँकी कुरा उहाँहरूले भन्नुहुन्छ।”
समितिले अर्थ सचिव लगायत कर्मचारीहरूसँग यसअघि नै बयान लिइसकेको छ। थप व्यक्तिहरूसँग छलफल गर्ने कि नगर्ने भन्ने विषय साउन ६ गते तय गरिने समितिका सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए।