खस आर्यहरूको वंशावली निर्माण र भ्रम
अधिकांश खसहरूले ऋषिहरूलाई आफ्ना पुर्खा मानेका छन्। यस्तै‚ हिन्दू धर्मावलम्बी भएककै कारण आफ्नो इतिहास भारतसँग जोड्छन्। तर‚ उनीहरूको प्राचीन ठाउँ बेबिलोन हो।
अधिकांश खस आर्यहरूले आफ्नो वंशावली निर्माण गर्दा वैदिक तथा पौराणिक ऋषिहरूलाई आफ्ना पुर्खा मानेका छन्। यस्तै‚ हिन्दू धर्म अँगालेकै कारण आफ्नो इतिहासलाई भारतसँग जोडेका छन्। तर‚ एकातर्फ मष्टो पुज्ने र अर्कातर्फ आफ्नो इतिहासलाई भारतसँग जोड्नु तर्कपूर्ण छैन।
गोत्र वंश परम्परा
त्वं गोत्रमङ्गिरोभ्योऽवृणोरपोतात्रये शतदुरेषु गातुवित्।
ससेन चिद्विमदायावहो वस्वाजावद्रिं वावसानस्य नर्तयन्। (ऋग्वेद‚ १:५१:३)
यस श्लोकमा गोत्र शब्द उल्लेख छ। गोत्र परम्परा पशुपालन युगबाट विकास भएको मान्न सकिन्छ। गाईको एउटा हुलमा जति जनाका गाईहरू राखिन्थे ती मानिसहरू एउटै परिवारका हुन्थे। त्यो समूहमा आबद्ध भएकाहरू कुटुम्बी हुन्थे।
विश्वामित्रो जमदग्निर्भरद्वाजोऽथ गौतमः
अत्रिर्वसिष्ठः काश्यपः इत्येते सप्तर्षयः।।
सप्तानामृषीणामगस्त्याष्टमानां यदपत्यं तदगोत्रम्।
(प्रवरमञ्जरीकार बोधायन/रूपाखेती, नेपाली थर गोत्र प्रवर कोष, २०७८: पृः।।चवालीस।।)
विश्वामित्र, जमदग्नि, भारद्वाज, गौतम, अत्रि, वशिष्ठ, कश्यप सहित सप्तर्षि र अगस्त्य ऋषि आदिलाई गोत्र ऋषि भनिएको छ। यतिले पनि समूह विभाजन गर्न नपुगेकाले यिनका दरसन्तानबाट अनेकौं गोत्र तथा प्रवर ऋषिहरूका रुपमा स्थापित छन्। गोत्र परम्पराको विकास पुरुषप्रधान समाजसँगै निर्माण भएको पाइन्छ। गोत्रका आदिपुरुष ब्राह्मण ऋषिहरू हुन्थे। जसको सम्बन्ध शिक्षादीक्षा तथा जजमानीसँग हुन्थ्यो। यसका लागि वंश र सम्बन्धको विस्तार जरुरी पर्दथ्यो।
पूर्णप्रकाश नेपाल यात्रीले भने ईपू आठौं शताब्दीदेखि ईपू पाँचौं शताब्दीमा नै खसहरू पश्चिम नेपालमा आइसकेको उल्लेख गरेका छन्।
वंश परम्परा विशेष दुई प्रकारले चलेको पाइन्छ। पहिलो, विन्दुवंश परम्परा। यो परम्परामा मैथुनी प्रक्रियाबाट वंश बढ्दै जान्छ। बाजे, बाबु, छोरा, नाति गर्दै रक्तसम्बन्धबाट सिर्जित वंश परम्परा हो। दोस्रो, नादवंश परम्परा हो। यस परम्परालाई ज्ञानवंश परम्परा पनि भनिन्छ। गुरुले शब्दद्वारा (महावाक्य सुनाएर) शिक्षादीक्षा दिएर शिष्य बनाई वंश फैलाउँछन्।
यो परम्परा अहिले सन्न्यासी समुदायमा छ। एक प्रकारले गुरुको गोत्र, गुरुको गद्दी, गुरुको देउता, गुरुको मठ, पीठ, आम्नय आदिका उत्तराधिकारीका रूपमा शिष्य-प्रशिष्य हुँदै चलेको परम्परा हो (रूपाखेती, २०७८:।।छ।।)।
खस जाति र खस साम्राज्य
खसहरूको इतिहास खोज्दा बेबिलोनसम्म पुगिन्छ। खसकै प्राचीन नाम बेबिलोनियाका कस (kassites) हो। सम्राट् हंबुरवीका छोरा सम्सुलुनाले कसहरूबाट जोगिन दोजला (Tigris) नदीको दोभान नजिकै दियाला भन्ने ठाउँमा ईशापूर्व १७२६ मा सुरक्षा किल्ला बनाएका थिए। ईपू १७०० तिर बेबिलोनियामा स्थापित कस साम्राज्य करीब ईपू ११५५ तिर एलम जातिसँग परास्त हुनुपरेको थियो। यो ६०० वर्षमा कसहरूले धर्म‚ संस्कृति लगायतका कुराको राम्रो विकास गरेको पाइन्छ। यसका अनेकौं पुरातात्त्विक नमूनाहरू भेटिएको छ (सूर्यमणि अधिकारी, खस साम्राज्यको इतिहास‚ २०६१:२०-२१)।
एलमबाट परास्त भएपछि कसहरू मध्यएशिया हुँदै पूर्वतिर लागेको पाइन्छ। ईपूको सातौं शताब्दी पहिले नै खसहरू करकुरम गिरि शृङ्खला पार गरी गिलगिट र काश्मीरसम्म फैलिसकेका थिए (जनकलाल शर्मा, हाम्रो समाजः एक अध्ययन‚ २०६७:२१९-२२०)। यसरी पूर्वतर्फ बढ्ने क्रममा हिमाञ्चल प्रदेशमा पनि खसहरूको प्रभाव भयो। तराईबाट आएका चन्दवंशको प्रभाव हुनुअघि हिमाञ्चलमा खसहरूको प्रभाव थियो।
हिमाञ्चल प्रदेशको अधिकांश भागलाई खसादेश भन्नुको कारण यही हो। किनकि, यहाँका अधिकांश मानिस खस हुन्। यहाँका रावत, विष्ट, नेगी, कार्की आदि खसिया रजपूत हुन्। ब्राह्मणहरूको जातपातको प्रभाव भएकाले सबैले आफूलाई रजपूत भनेका हुन्। (राहुल सांकृत्यायन, कुमाउँ‚ २०१५:१६०)।
पश्चिम नेपालमा खसहरूको आगमनलाई लिएर विभिन्न विद्वान्हरूले विभिन्न कुरा बताएका छन्। सूर्यमणि अधिकारीले ईशाको पाँचौं शताब्दी पूर्व भनेका छन् (अधिकारी, २०६१:२९)। पूर्णप्रकाश नेपाल यात्रीले भने ईपू आठौं शताब्दीदेखि ईपू पाँचौं शताब्दीमा नै खसहरू पश्चिम नेपालमा आइसकेको उल्लेख गरेका छन्। (पूर्णप्रकाश नेपाल यात्री, सिञ्जाको ऐतिहासिक रूपरेखा‚ २०७५:१८२)।
ईपू तेस्रो शताब्दीमा पाटलीपुत्र (पटना) मा विन्दुसारको निधनपछि उनका छोरा अशोकलाई उत्तराधिकारी बन्न नदिन विप्लव भएको थियो। त्यस वेला अशोकलाई गद्दीमा चढाउन पश्चिम नेपालका दुई जना खसले सहयोग गरेका थिए। रोमन इतिहासकार प्लिनी (ईपू पहिलो शताब्दी) ले पनि हिमालयको यस भेगमा खसहरूको चर्चा गरेका छन् (माधव पोख्रेल, खस जातिको खास कुरो, २०७५ फागुन ११, अन्नपूर्ण पोस्ट्)।
खस जातिहरू बेबिलोनियाबाट आएका हुन्। खस जातिका पूर्वजले मरुतस (वायु, विद्युत् तथा सम्बद्ध प्राकृतिक चिज) लाई देउता मानी पूजा गर्न थाले।
स्रोङचोङ गम्पोको उदयपछि तिब्बतमा बौद्ध धर्मले व्यापकता पायो। पश्चिमी तिब्बतमा भने राजा लाङ्गदर्माले बौद्ध धर्मको विरोध गरे। यस्तैमा एक बौद्ध भिक्षुद्वारा उनको (ई ८४२) हत्या भयो। यो अराजकताको स्थिति हुँदै गरेको अवस्थामा कुमाउँबाट केही खसहरू करीब आठौं शताब्दीमा त्यहाँ पुगे। पछि त्यहाँका राजा बन्न सफल भए। तिब्बतमा हुँदै उनीहरूले बौद्धमत ग्रहण गरे। यिनकै सन्तान नागराजले पछि राजधानी दुल्लु सारेका थिए (अधिकारी, २०६१:३५)।
नागराजले स्थापना गरेको खस साम्राज्य पछि विशाल हुन पुग्यो। अलग अलग सामाजिक‚ सांस्कृतिक पृष्ठभूमि भएका गण्डकी प्रदेश, खारी प्रदेश, केदारखण्डबीच शक्ति सन्तुलनमा विचलन आयो। विसं १४०६ तिर खारी प्रदेश तिब्बततिरै रह्यो। केदारखण्ड पनि छुट्टियो। एवंक्रमले राज्य टुक्रिंदै गई बाइसे र चौबीसे राज्यमा परिणत भए।
खसहरूमा सांस्कृतिक प्रभाव
खसको प्राचीन रूप कस भए झैं प्राचीन बेबिलोनमा पुजिने मार्डुकलाई मस्टसँग जोडेर हेर्ने गरिन्छ। मष्टाको एक भाइ बाबिरो मष्टालाई र बेबिलोनमा पुजिने मार्डुकलाई पनि मरुत भनिने हुँदा साथै कसहरूले लामो सङ्गत गरेका बान्नी मष्टो पनि असिरियन (Assyrian) सभ्यताको असुर मष्टोको अवशेष हुन सक्ने विश्वास केही विद्वान्को छ (तेजबहादुर कार्की, मष्टो संस्कृति‚ २०७७:४७)। यसको लहरो प्राचीन मेसोपोटामियाको सभ्यतासम्म जोडिन पुग्छ।
जेन्दाआवेस्ताको अकुरमज्दाको सादृश्यमा हामी प्राचीन फारसेलीमा बाबैरुशमज्दाको कल्पना गर्न सक्छौं। मस्त (शिर) फारसेलीमा मज्दा अथवा मज्द भयो। नेपालीमा मस्ट वा मष्टो भयो। जुम्ली भाषिकामा मैठ वा मैठो हुन पुग्यो।
फारसेलीहरू बेबिलोनका हितैषी नभएकाले उनीहरूको देशमा बाबैरुशमज्द (बाबेरु मस्ट) को प्रगति भएको पाइँदैन। परन्तु‚ तिनले इरानमा कदर नगरे तापनि बेबिलोन छाडेर काश्मीरको बाटो हिमाल प्रवेश गर्ने कासी (कस) हरूले बाबिरो मस्ट (बाबैरुशमज्द) लाई प्रतिष्ठा दिलाए। यसरी बान्नी (असुर) मस्टले हाम्रो नाता अतीतमा असुर देशसित भएको प्रमाणित गर्छ। बाबिरो मस्टले अतीतमा हाम्रो (खसको) नाता बेबोलिनसित थियो भन्ने प्रमाणित गर्छ (बालकृष्ण पोखरेल, खस जातिको इतिहास‚ २०७५: २६३)
मष्टो परम्परा मष्टा देउतासँग सम्बन्धित रहेर गरिने परम्परा हो। खस जातिहरू बेबोलोनियाबाट आएका हुन्। खस जातिका पूर्वजले मरुतस (वायु, विद्युत् तथा सम्बद्ध प्राकृतिक चिज) लाई देउता मानी पूजा गर्न थाले। यही मारुतस शब्द मउत्त-मउट्ट-मष्ट-मष्टो शब्दको विकास भयो (कार्की, २०७७:३३)।
कसहरूले लामो समयसम्म असिरियनहरूसँग सङ्गत गरेको पाइन्छ। केही विद्वान्हरूले बान्नी र बाबिरो सर्वप्राचीन पनि भनेका छन्। जसलाई बेबोलियानदेखि नै बोकेर ल्याएकोसम्म भनेका छन्। नन्दा देवी गढवालकी एक देवी हुन्, यी देवी कसहरूले बेबिलोनबाट ल्याएकी भगवती नन्ना हुन् (पोख्रेल)। भारतको हिमाञ्चल र उत्तराखण्डमा हिन्दूहरूको बोलवाला भएपछि केदार (कुदुर्रु) परम्परा महादेवको अवतारका रूपमा पुज्न थालेको पाइन्छ।
पुराण लगायत हिन्दू धर्म ग्रन्थहरूमा खसहरूलाई व्रात्स्य वा अनार्य भनी उल्लेख गरिएको छ। साथै‚ मनुस्मृतिमा समेत अनार्य नै भनेको पाइन्छ।
खसहरू प्राचीनकालदेखि नै रणकौशल र योद्धा जाति थिए। महाभारतको युद्धमा कौरव पक्षबाट त्रिशूल, फलामको गोला सहित सशस्त्रले युक्त भएर, कवज लगाएर अश्वारोही योद्धाका रूपमा सरिक भएको पाइन्छ। उनीहरूलाई बल्लीक क्षेत्रका र बर्बर जातिको रूपमा हेरेको पाइन्छ (अधिकारी, २०६१:२७,२८)। हरिवंश पुराण, भागवत पुराण तथा कल्की पुराण लगायतमा उनीहरूको बहादूरीको व्याख्या छ। पुराण लगायत हिन्दू धर्म ग्रन्थहरूमा खसहरूलाई व्रात्स्य वा अनार्य भनी उल्लेख गरेको छ। साथै‚ मनुस्मृतिमा समेत अनार्य नै भनेको पाइन्छ।
युधिष्ठिरले गरेको यज्ञमा भेटी लिएर आएका खसहरूको उल्लेख छ। मेरु र मंदार पहाडको बीचमा पर्ने शैलदा नदीको किनारमा खस बस्छन्, उनीहरूले कमिलाद्वारा निकालिएको पिपिलक नामक सुन लिएर आएको पाइन्छ (महाभारत, सभापर्व, ५२/राहुल, कुमाउँ‚ २०१५:२७/जोशी, कर्णाली लोकसंस्कृति १, २०७८:४८-४९)। वशिष्ठको गाई नन्दिनीलाई गाधिपुत्र विश्वामित्रले जबर्जस्ती लान खोज्दा नन्दिनीले आफ्नो रक्षाका लागि खस जातिको उत्पन्न गरेको महाभारतमा उल्लेख छ। यी दृष्टान्तले पनि खसहरू ईपू पाँचौं शताब्दीतिरै बल्हिक तथा पश्चिमोत्तर भारतमा रहेको देखाउँछ।
कुमाउँ‚ गढवाल लगायतका ठाउँमा ईपू दोस्रो शताब्दीदेखि छैटौं वा सातौं शताब्दीसम्म बौद्ध धर्मको दबदबा थियो। नवौं शताब्दीमा शंकराचार्यले उत्तराखण्डमा धार्मिक अभियान चलाए। शंकराचार्यको आगमनअघि बद्रीनाथ र केदारनाथ बौद्धमार्गी पुजारी थिए। त्यसको साटो आफैंसँग आएका दक्षिण भारतीय ब्राह्मणहरूलाई पुजारी बनाए। यो परम्परा आजसम्म कायमै छ (अधिकारी, २०६१:१३७)।
खस राजाहरूको राजकीय धर्मको प्रभावलाई हेर्दा दुल्लुमा राज्य स्थापना गर्दा (नागराजका पुर्खा कुमाउँबाट खारी हुँदै दुल्लु आएका थिए) बौद्ध धर्मको विशेष बज्रयानको प्रभाव देखिन्छ, तर पनि आममानिसमा मष्टोको अस्तित्व भेटिन्छ (कार्की)। शंकराचार्यको अभियानले हिन्दू तथा शैव धर्मको प्रभाव र मध्यकालपछि विस्तार भएको नाथ परम्पराले खसहरूमा हिन्दू धर्मको प्रभाव बढ्दै गएको पाइन्छ। यस्तै‚ खस राज्यको विघटनसँगै बाइसे र चौबीसे राज्यहरूले हिन्दू धर्मलाई प्रधान्य दिंदै गए। यसपछि मष्टो धर्म‚ संस्कृति क्रमशः क्षीण हुँदै गयो।
भ्रमपूर्ण वंशावली
मष्टो शब्दको व्युत्पत्ति संस्कृत शब्द मरुतसबाट भएको हो। यस अर्थमा मष्टो देव पनि मरुत अर्थात् वायु देउता जस्तै प्रतीत हुन आउँछ (सूर्यमणि अधिकारी, बाइसे राज्यको इतिहास‚ २०७६:३०१)। ऋग्वेदमा मरुतको कल्पना पवनदेवको रूपको माध्यमबाट गरेको पाइन्छ। मरुत देउताको क्रमानुगत रूपमा स्वरूप परिवर्तन हुँदै गएको हो (डा. यदुवंशी, शैवमत‚ २०१२:६)।
भाषाविद्हरूका अनुसार‚ नेपाली भाषा संस्कृत भाषाभन्दा पनि प्राचीन फारसी भाषासँग नजिक छ। त्यसैले फारसीको मज्दा अपभ्रंश भएर मष्टो बनेको हुन सक्छ। खसहरू मध्यएशिया र फारस वरपर लामो समयसम्म रहेको र त्यहाँबाट उनीहरूको सांस्कृतिक र प्रागैतिहासिक शब्द त्यहींबाट आएको हुन सक्छ (कार्की, २०७७:३५)।
स्थानका आधारमा हेर्ने हो भने, मष्टा देवताको मूल थलो बान्नी (बझाङ) र मूल मष्टा बान्नी नै मानिन्छ। त्यहींबाट बझाङकै ढँडार भन्ने ठाउँमा सरेको र ढँडारबाटै मष्टाका भाइहरू अछाम, बाजुरा, हुम्ला, मुगु हुँदै दुःख खप्तै पुरुषार्थ गर्दै जुम्ला र तिब्रीकोटमा प्रवेश गरेको कुरा सुनिन्छ (सिंह, कर्णाली लोक संस्कृति, भौगोलिक दृष्टिकोण‚ २०७८:१९७)।
कर्णाली क्षेत्रमाको बसोबास र विस्तार मष्टो र भवानी मान्ने मानिसहरूबाट भएको हो (जोशी, कर्णाली लोक संस्कृति, इतिहास‚ २०७८:७)। मष्टो विक्रमको पाँचौं शताब्दी पूर्व नै बझाङको राजसत्तामा थियो। डोटी, बझाङ र जुम्लाका रैथानेहरूले देवाधिदेव मानेको कुरा सेती अञ्चल दिग्दर्शनमा पूर्णप्रकाश नेपालले उल्लेख गरेका छन्।
मष्टोलाई हिन्दू धर्मसँग जोडेको पनि पाइन्छ। विभिन्न विद्वान्हरूको मत र तथ्यहरूलाई अध्ययन गर्दा हिन्दू धर्मको प्रभाव परेकाले यसरी जोडिएको देखिन्छ।
मष्टा देउताहरू र सम्बन्धित भवानीहरूसँग जोडिएका संस्कृति र परम्परालाई मष्टो संस्कृति भनिन्छ। १२ भाइ मष्टा देउता र नौ बहिनी भवानी भनिए पनि यसमा त्योभन्दा विविधता पाइन्छ। मष्टोलाई हिन्दू धर्मसँग जोडेको पनि पाइन्छ। विभिन्न विद्वान्हरूको मत र तथ्यहरूलाई अध्ययन गर्दा हिन्दू धर्मको प्रभाव परेकाले यसरी जोडिएको देखिन्छ। मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइँसराइ गर्दै जाँदा मष्टाका नाउँहरूमा पनि विविधता आएको पाइन्छ।
शंकराचार्यको आगमनपछि भारतको उत्तर-पश्चिम क्षेत्रहरूमा (कुमाउँ, गढवाल) लगायतका अन्य स्थानहरूमा छैटौं वा सातौं शताब्दीपछि बौद्ध धर्मको प्रभाव घट्दै गयो। पश्चिम नेपालमा पनि यसको प्रभाव पर्न थाल्यो। यस्तै‚ नाथ (शिवका अवतारका रूपमा मानिएका आदिनाथ, मत्स्येन्द्रनाथ, गोरखनाथ आदि) परम्परा आदिले पनि हिन्दू धर्मको प्रभाव बढाउँदै लगेको पाइन्छ। सिञ्जा साम्राज्य पतनसँगै बनेका विभिन्न राज्यहरूले हिन्दू धर्मलाई राजकीय धर्मका रूपमा विकास गर्दै लगे। यो धर्मान्तरणको प्रभावको चलन पन्ध्रौं शताब्दीमा व्यापक भए पनि यो क्रम सोह्रौं शताब्दीसम्म रहेको पाइन्छ।
बढ्दो हिन्दू धर्मको प्रभावसँगै खसहरूले शासकलाई रिझाएर वा ब्राह्मण पुरिहितलाई रिझाएर, दान दिएर जनै धारण गर्ने प्रचलन पछिसम्म पनि थियो (चन्द्रप्रकाश बानियाँ, महारानी)। मुगु क्षेत्रका एक रजौटा गगनिराजबाट जनै पाएको एउटा लेखौट (अधिकारी, २०७६:२९२) छ। उक्त लेखौटमा राजाको सेवा, उपचार‚ झारफुक गरी रोग निको परे बापत साथै मष्टालाई रिझाएर जनै दिएको उल्लेख छ। यस दृष्टान्तबाट त्यो वेला धर्मान्तरण इज्जत वा पुरस्कारको विषय भएको थाहा हुन्छ।
खसहरूलाई ब्राह्मणले जनै लगाइदिएर क्षत्री बनाई दिन्थे (राजाराम सुवेदी, कर्णाली प्रदेशको मध्यकालीन इतिहास‚ २०५४:४९२)। यिनीहरूमा पढ्न‚ लेख्न इच्छुक र धामीहरू ब्राह्मण बने र यिनैलाई खस बाहुन भनेर चिनिन्छ (कार्की, २०७७:२३०)। खसहरूले हिन्दू परम्पराका गोत्र प्रवर्तक ऋषिहरू कश्यप, भारद्वाज, उपमन्यु कपिल, कौशिक, अत्रि आदि अनेक ऋषिहरूलाई आफ्ना गोत्र प्रवर आदिपुरुष माने। यो परम्परा आजसम्म पनि छ। गोत्र परिवर्तनद्वारा पूर्ण रूपमा हिन्दू हुन आए (उही, शर्मा, २०६७:२२०-२२१)।
आजका तागाधारण गर्ने धेरै क्षत्री, ठकुरीहरूले आफ्नो वंश भारतीय रजपूत भएको दाबी गर्दछन् र त्यहाँ लगेर जोडेको पाइन्छ। त्यसको दाबी गर्ने खास र गतिलो आधार भने पाइन्न (अधिकारी, २०७६:२९१)। मष्टा र भवानीलाई कुलदेवता मानी पुज्ने सबै समुदायहरू खस हुन्।
दलितहरूमा पनि मष्टो परम्पराको केही अवशेष पाइन्छ। तर‚ उनीहरूमा हिन्दू गोत्र र प्रवर भने पाइँदैन‚ त्यसका आधारमा वर्गीकरण गरिएको हुँदैन। गोत्र ऋषिहरूका सन्तान दलित हुँदैन भन्ने मान्यताका कारण त्यसो भएको हो। दलितहरूमा कासी (कस/खस), कोशल (प्राचीन खस जनपद)‚ कौशल्य, कासी‚ कोशल जस्ता गोत्र समूह हुनु, यस्ता समूहहरू बाहुनहरूमा नहुनु, खसबाट हिन्दू बनाइएका केही क्षेत्रीमा चाहिं पाइनुले पनि यी गोत्र खासमा खस वंश परम्परालाई सङ्केत गर्ने स्तर हुन् भनी भन्न सकिन्छ (शिवाकोटी, सन् २०१४:२५१/आहुति, २०७३, समता नीतिपत्रः१३)
अन्त्यमा, अर्घाखाँचीका ‘खन’ (?) अपभ्रंश हुँदै खन्याल, खदाल र खनाल भएको पाइन्छ। यस थरका बाहुन‚ क्षेत्री तथा दलितहरू पनि पाइन्छन्।
आफूलाई आर्य भन्ने खनालहरूले आफ्नो कुलपूजा (मष्टो पूजा/देवाली) गर्दा बराह मष्टा, छेत्रपाल तथा विन्देश्वरी भवानी लगायत पुज्ने गर्छन्। मष्टो पूजा गर्ने परम्परा हिन्दू परम्परा होइन। यसको अस्तित्व कन्नौजमा भेटिएको छैन। मष्टा शरीरमा कम्प आउने र पुस्तान्तरण हुने परम्परा हो। आफैं उत्पत्ति हुने वा व्यक्तिमा सरेर आउने (मष्टा धामी उत्रने) परम्परा हो।
हिमालखबरको ‘विजयपुरमा खनालको नालीबेली’ भन्ने लेखमा लिइएका सन्दर्भ सामग्री (वंशावली)को कन्नौज र खनालको मष्टो संस्कृतिका आधारमा किन हेरिएन र तुलना गरिएन? विजयपुरका खनाल र उनीहरूले पाएको स्यामोहर, बिर्तामोहर र लालमोहरहरूको प्रमाणित गर्दै गर्दा, नेपालमा को अघि र को पछि भनेर लेखिने जातीय इतिहासलाई लिएर हुने खिचातानीको एउटा श्रेणी हो भन्ने लाग्छ।
बिहार, उत्तर प्रदेश, जम्मुकाश्मीर, बंगदेश (बंगाल) का अधिकांश छुट्टै संस्कृति मान्ने (हिन्दू, बौद्ध इतरका) समुदायहरू, केही हिन्दूहरू र अधिकांश बुद्धिस्टहरूले आफ्नो इतिहास जसरी तेह्रौं र चौधौं शताब्दीपछि मुस्लिम वंशावलीतिर जोड्न थाले, त्यसरी नै खसहरूले गोत्र र प्रवर ऋषिसँग जोडेका हुन्। त्यसैले मष्टो मान्ने खनाल र अन्य कथित खस-आर्यहरूले आफ्नो वंशावली कनौज लगायत, गोत्र र प्रवर ऋषिसँग जोड्नु तार्किक छैन।