माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री बन्न विदेश धाइरहेका छन्ः पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्न देश-विदेश धाइरहेको टिप्पणी गरेका छन्।
एमाले प्रचार विभागले साउन ४ गते काठमाडौंमा अनलाइनका सम्पादकहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव पोखरेलले दाहाल प्रधानमन्त्री बन्नका निम्ति देश-विदेश दौडाहामा निस्किएको बताएका हुन्।
जनमत गुमाएकाहरूले राष्ट्रको नेतृत्व गर्ने भन्ने कुरा लोकतान्त्रिक कुरा नभएको तर्क गर्दै नेता पोखरेलले १२ प्रतिशत जनमतलाई समेत प्रभावित पार्न नसक्ने दाहालले प्रधानमन्त्री बन्ने प्रयास गर्नु लोकतन्त्रका लागि लज्जाको विषय भएको बताए। “जति साना दलहरू मुलुकको राजनीतिमा हावी हुन्छन्, त्यति मुलुकले सही बाटो समाउन सक्दैन,” उनले भने, “आज के देखिन्छ– तेस्रो र चौथो पार्टी प्रधानमन्त्री खोज्न हिंडिराखेको, भौंतारिराखेको सुन्दाखेरी नेपालको लोकतन्त्रले सही बाटो समातेको छ? १२ प्रतिशत जनमतलाई प्रभावित गर्ने सामर्थ्य राख्दैन। प्रधानमन्त्री खोज्न देश-विदेश दौडाहामा कुदेको छ, योभन्दा लज्जाजनक लोकतन्त्र के हुन्छ त?”
अर्को प्रसङ्गमा महासचिव पोखरेलले कालो धनलाई सेतो बनाउने प्रयास असफल भएपछि सरकारले नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीमाथि प्रहार गरिरहेको आरोप लगाए।
अहिलेको आर्थिक सङ्कटको मुख्य कारण सरकारको गलत नीति भएको बताउँदै महासचिव पोखरेलले अहिलेको सरकार असंसदीय प्रणाली अन्तर्गत बनेको बताए।
एमालेलाई नीतिगत रूपमा नेतृत्व गर्न सक्ने हिसाबले सुदृढ गर्ने र त्यो नीतिसँग सहमत हुनेहरूसँग सहकार्य गर्ने एमालेको नीति भएको भन्दै उनले यो गठबन्धनको नीति नभएको र त्यसलाई सोही रूपमा बुझ्न समेत आग्रह गरे।