२५५ रुपैयाँमा शुरू भएको खुवा उद्योगको उज्यालो कथा
२०३८ साल साउन ५ गते खुलेको खुवा पसलले ४० वर्षको आरोह अवरोह खपेको छ। गोकर्ण बाँस्तोलाले शुरू गरेको खुवा उद्योग कति वर्ष चल्छ भन्न सकिन्न। तर, उनले फैलन मद्दत गरेको खुवा व्यवसाय भने लामो समय निरन्तर हुने देखिन्छ।
काठमाडौं बल्खुबाट १८ किलोमिटर दक्षिणको खोंचमा रहेको काली ‘दक्षिणकाली’ का रूपमा चर्चित छ। दुई दशकयता दक्षिणकाली मन्दिर हुँदै हेटौंडा पुग्ने ईश्वरी राजमार्ग दिन दुईगुना रात चौगुनाका दरले व्यस्त छ। नत्र त उक्त बाटोको चहलपहल दक्षिणकाली मन्दिर आउजाउ गर्नेेहरूमा सीमित थियो।
दक्षिणकाली मन्दिरमा आउनेहरूले फर्कंदा लैजाने कोसेली हो, खुवा। दक्षिणकाली दर्शन गर्न आउनेहरूलाई लक्षित गरेर स्थानीयले २०३०/३२ सालदेखि खुवा बेच्ने थालेका हुन्। ती दिन सडक अभावमा पशुपालन गर्ने कृषकले दूध बजारमा लैजान सक्दैनथे। अनि खुवा घोट्ने चलन चल्यो। शुरूमा टेकर, सिस्नेरीका कृषकले खुवा बनाउँथे। छैमलेका एकाधले पनि खुवा बनाउँथे। खुवा बनाउनेमध्येका एक हुन्, गोकर्ण बाँस्तोला।
भक्तपुर खरीपाटीका पुस्तौनी थलोबाट फर्पिङ पुगेका दोस्रो पुस्ताका बाँस्तोला फर्किङमै जन्मिए, हुर्किए। किसान परिवारका बाँस्तोलाले लेखपढ गर्न पाएनन्। खेती किसानीमै लागे। गाई पाले‚ दूध बेचे। खुवाको व्यापार गर्दा होला भन्ने सोचेर ‘काली खुवा उद्योग’ खोले। नाम उद्योग भए पनि उनको घरेलु उद्योगमा घरकै सदस्य सक्रिय हुन्थे। २०३८ साउन ५ गते उनले खोलेको खुवा पसलले ४० वर्ष पूरा गरेको छ।
पहिला बजार सानो थियो, ग्राहक पनि थोरै। तर, विश्वास धेरै थियो। अहिले ग्राहकसँगै अविश्वास पनि बढेको छ ।
४० वर्षको व्यावसायिक अनुभव सुनाउन बस्दा केबाट शुरू गर्ने होला भन्नेमा उनी अकमकिए। “आफूले बिताएको समयको कुरा भन्नै लाज लाग्ने वेला आयो‚ खोइ के भन्नु?” उनले भने। यद्यपि‚ कुरा गर्दै जाँदा उनले जीवनका धेरै कथा सुनाउन भ्याए। पहिला बजार सानो थियो, ग्राहक पनि थोरै। तर, विश्वास धेरै थियो। “अहिले ग्राहकसँगै अविश्वास पनि बढेको छ,” उनले घुमाउरो भाषामा भने, “घटेको छ भनेर नकारात्मक कुरा पनि किन गर्नु? अविश्वास बढ्यो भन्दा सकारात्मक सुनियो नि हैन?”
शुरूमा उनका ग्राहक दक्षिणकाली मन्दिर दर्शन गर्न आउनेहरू नै हुन्थे। पछि पछि उनको कीर्ति फैलँदै गयो र खुवा लिन आउनेको सङ्ख्या बढ्दै गयो। छैमले, सिस्नेरीसम्मका मान्छे उनीकहाँ खुवा लिन आउँछन्। बाटो पर्दा घरमाइतीलाई खुवा कोसेली किन्ने पनि उत्तिकै हुन्छन्। “मान्छेलाई मलाई विश्वास गर न भन्दा गर्दैनन्। कामले, समयले, इमानले विश्वास दिने हो,” उनले भने, “म लिटर र किलोको हिसाब जान्दिनँ, तीन मुरी दूधसम्मको खुवा बनाएँ।”
किसान परिवारका सदस्यले नै कृषिको महत्त्व नबुझ्ने समाज विकसित हुँदै गएकोमा उनको चिन्ता छ। मान्छे सुखभोगी हुँदै जाँदा कृषि पेशा छायामा पर्न थाले जस्तो उनलाई लाग्छ। “गाउँका मान्छे पनि प्याकेटका दुध खाने भए। गाई नपाल्ने भए। एउटा गाई त जसले पनि पाल्न सक्छ,” उनले भने, “अब त्यो दुःख कसले गर्ने? आईए, बीए पढेकाले किन गोबर सोहर्ने? किन घाँस काट्ने? गाई त गरीबले पाल्ने जस्तो गर्न थाले।”
मान्छेलाई मलाई विश्वास गर भनेर हुँदैन । कामले, समयले, इमानले विश्वास दिने हो।
गरीबी हटाउन र श्रमको महत्त्व बुझाउन पशुपालन चाहिने कुरा हामीले बुझ्न बुझाउन नसकेको उनलाई लाग्छ। “अब कोही दुःख गर्न चाहँदैन। दुःख नगरी सुख कसरी होला र?” उनको प्रश्न छ।
विगतमा भन्दा खुवाको बजार बढे पनि गुणस्तर भने बढ्न नसकेको उनको बुझाइ छ। चार सन्तानका बुबा उनलाई सबै सन्तानले उच्च शिक्षा हासिल गरेकोमा सन्तोष छ। जेठी छोरी र रेडियोग्राफर छोरा काठमाडौंमै छन् भने दुई छोरी विदेशमा। “माइली अमेरिकामा, कान्छी बेलायतमा छे। पाँच महीना बेलायत बसेर असार तेस्रो साता फर्किएँ,” बेलायती चकलेट अघि सार्दै उनले सुनाए।
आफूले जे जति गरेको हो यही पसलबाट गरेको उनले खुलाए। “मैले अरू केही जानेको छैन। गरेको पनि छैन,” उनले भने। बास्तोलाले व्यापारको शिखर पनि देखे। कोरोनाको कहर पनि भोगे। “कुनै वेला १८ घण्टासम्म पनि काममा खटिएँ,” उनी भन्छन्, “१०-१२ घण्टा त अहिले पनि पसलमै हुन्छु।”
उनले विद्यालयको अनुहार नदेखे पनि लेखपढ गर्न जानेका छन्। पसलको खातापाता सबै आफैं हेर्छन्। पसलमा दैनिक अखबार आउँछ। उनी पत्रिका एकसरो पढ्छन्। पसलमा हुने राजनीति, सामाजिक विषयमा तर्क गर्छन्। अचेल पसलमा टीभी टाँस्ने चलन छ, तर उनी पत्रिकामै सीमित छन्। टीभी मनोरञ्जनमुखी भएकाले पुराना पुस्ताका कुरा सुन्ने-सुनाउने एउटा अवसर पनि टीभीेले खाइदिने उनको बुझाइ छ। ‘आगो ताप्नु मुढाको कुरा सुन्नु बूढाको’ भन्ने उखान पनि खुइलिंदै गएको उनको बुझाइ छ। “हात-हातमा मोबाइल छ, जताततै मनोरञ्जनका कुरा छ अनि पसलमा पनि टीभी राख्दा बूढापाकाको कुरा सुन्ने–सुनाउने परिपाटी हराउँला कि भनेर नराखेको हुँ,” उनले प्रष्ट्याए।
हामी कृषिप्रधान देश भनेर थाक्दैनौं। कृषिप्रधान भनिने देशमा समाजका अगुवाले असार १५ का दिन धानको माला लगाउने कुरा उनलाई कत्ति पनि चित्त बुझेको छैन। “अबका दिनमा नयाँ पुस्ताले दूबोको माला भनेर धानको बेर्ना ल्याउन बेर छैन। धान र दूबो नै नचिन्ने पुस्ता बनाउने देशले कृषिबाट उन्नति कसरी गर्ला?” उनले प्रश्न तेर्स्याए।
स्वीट्जल्यान्डमा एउटा गाई पाल्नेले पनि चीज उद्योग चलाएको कुरा पढ्न पाइन्छ। हामी कहाँ भने व्यावसायिक पशुपालन र कृषिजन्य व्यवसाय गर्नेलाई कसैको भरथेग छैन। नत्र गोकर्ण बाँस्तोला जस्ता साना व्यवसायी देशमा छ्यापछ्याप्ती हुनुपर्ने।
अहिले मान्छे पढ्ने, सुन्ने, जान्ने भए, तर ज्ञानी भएनन् भन्ने उनलाई लाग्छ। “विकसित भनिएको देशमा सार्वजनिक ठाउँको फूल पनि टिप्दैनन्। यहाँ आफू हिंड्नुपर्ने बाटोको बत्ती पनि ढुङ्गाले हानेर फुटाउँछन्,” उनी भन्छन्, “यो सब हुनुको दोष कसको? हामीले के सिक्यौं, के सिकायौं?”
वेलाको हिसाबले अहिले सत्ययुग र विगतमा कलियुग रहेको उनको बुझाइ छ। सुख त अहिले कति हो कति। पहिला आमाबाबाको पालामा कति दुःख थियो। बिहान उठेर दैलो पोत्नुपर्ने, पानी बोक्न पँधेरोमा धाउनुपर्ने, खेतबारी, कल, घाँस, गोठ सब भ्याउनुपर्ने। अहिले केही गर्नु पर्दैन। “सुख बढेसँगै मान्छेको आयस्ता बढ्नुपर्ने, इमान जमान पनि बढ्नुपर्ने। त्यो चाहिं भएन, विकृति र विसङ्गति भने आकाशियो,” उनले भने।
४० वर्षमा धेरैले उनलाई ‘कति कमाइस्?’ भनी सोध्छन्। त्यो प्रश्नको निश्चित जवाफ उनीसँग छैन। “दुई चार मुरी धान आउने खेत छ। मकै खाने बारी छ। एकाध ठाउँमा घडेरी पनि छ,” उनले भने, “मैले जति गरें, यसैबाट गरेको हुँ।”
तर, व्यवसाय शुरू गर्दाको अवस्था यस्तो थिएन। पसल खोल्न कृषि विकास बैंकले दुई हजार ऋण दिने भयो। ऋण लिनका लागि १०० रुपैयाँको शेयर किन्नुपर्ने प्रावधान थियो। त्यही १०० सय जुटाउन पनि महाभारत भएको उनले सुनाए।
विकसित भनिएको देशमा सार्वजनिक ठाउँको फूल पनि टिप्दैनन्। यहाँ आफू हिंड्नुपर्ने बाटोको बत्ती पनि ढुङ्गाले हानेर फुटाउँछन् ।
उनले काम गर्दै गए। भैंसी दुई वटा, बाख्रा १४ वटा, गाई ६ वटासम्म पालेको उनी २०४७ सालयता खुवा व्यवसायमा मात्रै केन्द्रित भए। उनले व्यवसाय शुरू गर्दा भाडाको घरबाट शुरू गरेका हुन्। नौ वर्ष भाडाको घरमा बसेपछि अहिले बसेको आफ्नै घरमा सरे।
२०३८ सालमा व्यवसाय थाल्दा उनको साथमा २५५ रुपैयाँ मात्र थियो। “के छ कति छ भन्ने कुराले मान्छेको इलम र मानको मापन हुनु हुँदैन। तपाईं कहाँदेखि धाएर मेरो कुरा सुन्न आउनुभयो। मेरो कुरा समाजलाई दिन हुन्छ भन्ने तपाईंको विचार भयो। यो नै कमाइ हो नि, होइन र?” उनले भने।
उनलाई लाग्छ‚ नयाँ पुस्ता काम गर्नै लाज मान्ने खालको हुँदै गएको छ। “इमानदार भएर काम गर्दा गर्जो टर्छ। अरू तनाव किन लिनु?” उनले अनुभव सुनाए, “आज जे छ त्यो भोलि नहुन सक्छ, आज नभएको भोलि हुन पनि सक्छ। मुख्य कुरा अभिमान गर्नु हुन्न।”
जीवनमा आफूलाई कर्म गर्न हौस्याउने दुई जनाको नाम उनले बारम्बार लिए। राष्ट्रिय वाणिज्य बैंक, फर्पिङ शाखाका तत्कालीन अधिकृत मिठाराम सापकोटा र वाणिज्य तथा आपूर्ति कार्यालयका अच्युतवल्लभ पन्त। “उहाँहरू त मेरा लागि भगवान् सरह हुनुभयो,” गला अवरुद्ध बनाउँदै उनी बोले, “उहाँहरूले मलाई गर्नुभएको सहयोग र हौसला म वर्णन गर्न सक्दिनँ।”
यति भनिसक्दा उनका आँखा रसाए। यता धुम्म आकाशमुनि उखरमाउलो गर्मी थियो‚ उता उनका आँखामा भल बगे। भावनाको भल थामिएपछि उनले आफ्नो कहानी जारी राखे। कुनै वेला उनले पेडा पनि बनाए, गुदपाक पनि। तर‚ तिनमा दुःख धेरै र बिक्री नभएर घाटा धेरै हुने देखियो। अनि खुवामा मात्र एकोहोरिए। उनको विचारमा हामी नेपालीलाई गाउँघरको दुःख प्यारो भएन। दुःख प्यारो नहुँदा सुख पनि हातबाट फुत्किरहेको ठान्छन् उनी।
समाजको मूल्य-मान्यताको मूल्याङ्कन दूधमा देखिने उनको अनुभव छ। “पहिलाको दूध कति बाक्लो हुन्थ्यो, अहिले पातलो हुन थालेको छ,” उनले भने। समाजमा नभएको नैतिकता दूधमा पनि छैन। समाजमा इमान जमान भएको भए दूध पनि बाक्लो हुन्थ्यो होला भन्ने उनलाई लाग्छ।
अहिले पनि उनको पसलमा प्रतिकिलो ९ सय ५० का दरले दैनिक दश, पन्ध्र किलो खुवा बिक्री भइरहेको छ । त्यस्तै, उनले दैनिक हाराहारी दुई सय लिटर दूध र हाराहारी दुई सय पचास कप चिया पनि बेचिरहेकै छन् ।
गोकर्ण बाँस्तोलाले शुरू गरेको खुवा उद्योग कति वर्ष चल्छ भन्न सकिन्न। तर, उनले फैलन मद्दत गरेको खुवा व्यवसाय भने लामो समय निरन्तर हुने देखिन्छ।