विराटनगरबाट अपहरित बालिकाको भारतबाट उद्धार
मोरङको विराटनगरबाट अपहरित एक बालिकालाई प्रहरीले भारतबाट उद्धार गरेको छ।
मोरङको बुढीगंगा गाउँपालिका–१ का दीपेन्द्र यादवकी छोरी एक वर्षीया निकिशा साह साउन २ गते बिहान विराटनगरबाट अपहरणमा परेकी थिइन्। उनलाई भारतको दरभंगाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए।
बालिका अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले विराटनगर–६ का २७ वर्षीय रवीन्द्रकुमार साह र अञ्जली साहलाई पक्राउ गरेको छ। प्रहरीले रवीन्द्रलाई अपहरणको मुख्य योजनाकार भनेको छ।
बुधबार पत्रकार सम्मेलन मार्फत आरोपितलाई सार्वजनिक गर्दै कोइरालाले भने, “बालिकाको परिवार आर्थिक रूपमा सम्पन्न भएकाले फिरौती लिने उद्देश्यले अपहरण गरेको देखिन्छ।”
प्रहरीका अनुसार, रवीन्द्र र दीपेन्द्रबीच सामान्य चिनजान थियो। भेटघाट गर्ने बहानामा विराटनगरको रोडशेषचोकबाट दीपेन्द्रलाई झुक्याएर अञ्जलीले बालिकालाई लगेको प्रहरीको भनाइ छ।
त्यसपछि रवीन्द्रले दुवै जनालाई मोटरसाइकलमा भारत लगेको खुलेको एसपी कोइरालाले बताए। सप्तरीको राजविराज हुँदै भारतको कुनौली पुगेपछि रवीन्द्र नेपाल फर्केको र अञ्जलीले बालिकालाई दरभंगा लगेको अनुसन्धानमा खुलेको कोइरालाको भनाइ छ।
भारतीय प्रहरीको समन्वयमा बालिकाको उद्धार गर्न सफल भएको प्रहरीले जनाएको छ।