भारतले गहुँ निर्यातमा रोक लगाएपछि सङ्कटमा नेपाली उद्योग
छिमेकी मुलुक भारतले गहुँ निर्यातमा रोक लगाएपछि नेपालमा गहुँबाट उत्पादन हुने मैदा, आँटा, सुजीको अभाव भई त्यससँग सम्बन्धित उद्योगहरू सङ्कटमा पर्ने व्यवसायीहरूले बताएका छन्।
नेपाल मैदा उत्पादक संघका महासचिव राधेश्याम अग्रवाल गहुँ आयात गर्न नसके नेपालमा सञ्चालित गहुँसँग सम्बन्धित उद्योग बन्द हुने अवस्था आउने बताउँछन्। “अहिले स्टकमा भएको गहुँ, मैदा, सुजीको पिठोले चलाउँदै आएका छौं,” अग्रवाल भन्छन्, “समयमै गहुँ आयात गर्न नसके नेपालका ३६ वटा मैदा उद्योग बन्द हुने सम्भावना छ।”
व्यवसायीले ठूलो अभाव हुने बताइरहे पनि सरकारी अधिकारीहरू भने त्यस्तो अवस्था सिर्जना नहुने बताउँछन्। “भारतले आन्तरिक उत्पादनको निर्यातमा मात्रै रोक लगाएकाले नेपालले तेस्रो मुलकबाट पनि गहुँ आयात गर्न सक्छ,” उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव उर्मिला केसीले भनिन्, “हाम्रो आन्तरिक उत्पादनले पुग्ने भएकाले गहुँको त्यति साह्रो समस्या हुँदैन।”
कसलाई समस्या?
नेपाल मैदा उत्पादक संघका अनुसार, नेपालका ३६ वटा मैदा उद्योगले वार्षिक ६ लाख ५० हजार मेट्रिक टन गहुँ प्रयोग गर्दै आएका छन्। जसमध्ये ७० प्रतिशत आन्तरिक उत्पादन र बाँकी ३० प्रतिशत भारत लगायत अन्य देशबाट आयात हुन्छ।
भारतले गहुँ आयातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा मैदा, आँटा र सुजीको अभाव हुने संघका महासचिव राधेश्याम अग्रवाल बताउँछन्। नेपालस्थित भारतीय दूतावासले नेपालका लागि प्रतिबन्ध नलगाएको बताए पनि आफूहरूलाई आयातमा कठिनाइ भएको उनको भनाइ छ। रूस–युक्रेन युद्धका कारण विश्वमा खाद्य सङ्कटको सङ्केत देखिएपछि भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको हो।
“भारतीय दूतावासले नेपालका लागि प्रतिबन्ध छैन भने पनि आयात गर्न भने कठिनाइ परेको छ,” अग्रवालले भने, “भारतीय भन्सार विभागले आधिकारिक पत्र नआई पठाउन मिल्दैन भनेको छ।”
नेपाल पाउरोटी उद्योग संघका अध्यक्ष कमलराज अधिकारी भारतको उक्त निर्णयको प्रत्यक्ष असर पाउरोटी उद्योगमा देखिएको बताउँछन्। सरकारले भारतबाट गहुँ आयातका लागि कदम नचाले केही महीनापछि नै पाउरोटीका लागि आवश्यक वस्तु अभाव हुने उनको भनाइ छ।
“नेपालको उत्पादनले मुश्किलले पाँच महीना धान्छ,” अध्यक्ष अधिकारीले भने, “भारतबाट गहुँ आयात गर्नु नै पर्ने हुन्छ।”
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव उर्मिला केसी तेस्रो मुलकबाट गहुँ आयात भइरहकाले अहिले नै हाहाकार नहुने उनको भनाइ छ। यस्तै‚ चिनी र गहुँ आयातका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहको उनको भनाइ छ।
नेपालमा कति हुन्छ उत्पादन?
नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत रहेको राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम‚ भैरहवा अनुसार, नेपालमा वार्षिक २१ लाख मेट्रिक टन गहुँ उत्पादन हुन्छ। यसले आन्तरिक मागलाई धान्न सकेको छैन। नेपालमा वार्षिक २५ लाख मेट्रिक टन गहुँको माग छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार, नेपालमा गहुँ उत्पादकत्व दुई हजार ९९१ किलो प्रति हेक्टर रहेको छ। नेपालमा वार्षिक सात लाख ११ हजार हेक्टरमा गहुँखेती हुन्छ।
आर्थिक वर्ष (आव) २०७४/७५ मा सात लाख ६ हजार ८४३ हेक्टरमा १९ लाख ४९ हजार एक मेट्रिक टन गहुँ उत्पादन भएको थियो। यस्तै, आव २०७५/७६ मा सात लाख तीन हजार ९९२ हेक्टरमा २० लाख पाँच हजार ६६५ र आव २०७६/७७ मा सात लाख सात हजार ५०५ हेक्टरमा २१ लाख ८५ हजार २८९ गहुँ उत्पादन भएको छ।
यस्तै, आव २०७७/७८ मा सात लाख ११ हजार ६७ हेक्टरमा २१ लाख २७ हजार २७६ मेट्रिक टन गहुँ उत्पादन भएको मन्त्रालयको तथ्याङ्क छ।
उत्पादन बढाउने कस्तो छ प्रयास?
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका अनुसार, सन् २०१७ देखि हालसम्म गहुँका ५४ वटा उन्नत जातको विकास गरेको छ। तीमध्ये ४१ वटा जात खेती गरिंदै आएको छ। बाँकी १३ वटा जात कम उत्पादन दिने, सिन्दुरे (खैरो र पहेंलो) र पात डढुवा रोग बढी लाग्ने भएकाले खेती गर्न छाडिएको छ।
सरकारले गहुँ उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत गहुँ खेतीका लागि तीन वटा जोन र एउटा सुपरजोन कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रम अन्तर्गत तीन हजार १२१ हेक्टर गहुँ खेती हुन्छ। जसबाट १४ हजार १३१ मेट्रिक टन गहुँ उत्पादन हुन्छ।
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम‚ भैरहवाका प्रविधिक संयोजक खेमराज पन्त सरकारी स्तरबाट मलखाद, सिंचाइ, बीउको सहज उपलब्धता भए गहुँखेती बढाई उत्पादन बढाउन सकिने बताउँछन्। यस्तै, पूर्वी तराईका जिल्लाहरूमा गहुँखेती कार्यक्रम लानुपर्ने उनको सुझाव छ।
“नेपालमा धानखेतीपछि धेरैजसो जमीन बाँझो हुन्छ। किसानलाई प्रोत्साहन दिएर औसतमा गहुँखेती हुने क्षेत्र सात लाख ११ हजार हेक्टरबाट आठ लाख हेक्टर पुर्याउन सकिन्छ,” पन्त भन्छन्, “यसो गरे सजिलै आत्मनिर्भर भई आयात विस्थापन गर्न सकिन्छ। यसका लागि स्थानीय सरकारले बाँझो खेत राख्न नपाइने नीति ल्याउनुपर्छ।”
चार वर्ष ११ महीनामा ३६ अर्बको गहुँ आयात
नेपालमा गहुँ उत्पादनको प्रशस्तै सम्भावना भए पनि बर्सेनि अर्बौं रुपैयाँको गहुँ आयात भइरहेको छ। भन्सार विभागका अनुसार, नेपालमा भारत, मेक्सिको, चीन, जापान‚ थाइल्यान्ड, यूएई, बेलायत, बाङ्लादेशबाट गहुँ आयात हुन्छ।
चार वर्ष ११ महीनामा यी देशहरूबाट ३६ अर्ब सात करोड ९४ लाख ८६ हजार रुपैयाँ बराबरको ११ लाख ३६ हजार ६६२ मेट्रिक टन बराबरको गहुँ आयात भएको छ।
तथ्याङ्क अनुसार, आव २०७४/७५ मा तीन अर्ब २७ करोड ६४ लाख ९२ हजार रुपैयाँको एक लाख १० हजार ४२८ मेट्रिक टन गहुँ आयात भएको छ। यस्तै, आव २०७५/७६ मा ६ अर्ब २४ करोड ६४ लाख २९ हजार रुपैयाँको दुई लाख एक हजार १७ मेट्रिक टन र आव २०७६/७७ मा आठ अर्ब १९ करोड ५६ लाख ४१ हजार रुपैयाँको दुई लाख ४० हजार सात सय ४५ मेट्रिक टन गहुँ आयात भएको छ।
आव २०७७/७८ मा तीन लाख ९० हजार ८८५ मेट्रिक टन बराबरको ११ अर्ब ६५ करोड ८७ लाख ७९ हजारको गहुँ आयात भएको छ। गत आवको ११ महीनासम्म ६ अर्ब ७० करोड २१ लाख ४५ हजार रुपैयाँको एक लाख ९३ हजार ५९७ मेट्रिक टन गहुँ आयात भएको छ।