क्रिकेटका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेद्वारा राजीनामा
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेले पदबाट राजीनामा दिएका छन्।
उनले बुधबार काठमाडौंमा आकस्मिक पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएको बताएका हुन्। गत मंसीर २५ गते प्रमुख प्रशिक्षकमा नियुक्त भएका उनले एक वर्ष नपुग्दै पद त्यागेका छन्।
प्रमुख प्रशिक्षक दासानायकेले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्। स्कटल्यान्ड भ्रमणमा नेपाली टोलीले गरेको खराब प्रदर्शनका कारण उनी दबाबमा थिए।
उनी गत वर्ष दोस्रो पटक नेपालको प्रमुख प्रशिक्षक भएका थिए। यसअघि सन् २०११ मा नेपालको प्रशिक्षक भएका थिए।
उनले २०७८ मंसीरमा दुई वर्षका लागि क्यानसँग सम्झौता गरेका थिए। तर, एक वर्ष पूरा नहुँदै राजीनामा दिएका छन्।
दासानायकेको पहिलो कार्यकाल भने सफल थियो। सन् २०११ देखि २०१५ सम्म नेपाली टोली सम्हालेका उनको पालामा नेपाल पहिलो पटक आईसीसी टी-२० कपमा छनोट भएको थियो। बाङ्लादेशमा भएको टी-२० विश्वकपमा नेपाल सहभागी भएको थियो।
यसैबीच नेपाल क्रिकेट संघ (क्यान)ले पनि प्रमुख प्रशिक्षकबाट दासानायकेले दिएको राजीनामा स्वीकृत गरेको छ। उनको व्यक्तिगत निर्णयलाई सम्मान गर्दै राजीनामा स्वीकृत गरिएको क्यानले जनाएको छ।