तयारी विनै कुहिने र नकुहिने फोहोर छुट्याउन मेयर बालेनको उर्दी
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले तयारी विना नै नगरबासीलाई कुहिने र नकुहिने फोहोर छुट्याउन उर्दी जारी गरेका छन्।
काठमाडौंको चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले साउन ३ गते सूचना प्रकाशित गरी नगरबासीलाई घरमै फोहोरको वर्गीकरण अनुरोध गरेका छन्। उनले कसरी वर्गीकरण गर्ने भन्ने पनि सुझाएका छन्।
चन्द्रागिरिमा कालो झोलामा कुहिने फोहोर, रातो झोलामा सिसा र सिसाजन्य फोहोर, हरियो झोलामा प्लास्टिकजन्य फोहोर, सेतो झोलामा कागजजन्य फोहोर, नीलो झोलामा फलाम लगायत कवाडीजन्य र पहेंलो झोलामा सेनिटरी प्याड, डाइपर लगायत फोहोर छुट्याएर राख्न अनुरोध गरेका छन्।
यी झोला कहाँबाट ल्याउन? मेयर गिरीले नागरिकलाई भनेका छन्, “शून्य फोहोर अभियान अन्तर्गत उल्लिखित रङका झोलाहरू वडा कार्यालयहरू र टोल सुधार समितिहरू मार्फत निःशुल्क उपलब्ध हुनेछन्।”
योभन्दा झण्डै एक महीनाअघि नै काठमाडौं महानगरपालिकाले पनि घरमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्न सूचना जारी गरेको थियो। महानगरको वातावरण तथा कृषि विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘२०७९ साउन १ गतेदेखि स्रोतमा नै फोहोरको पृथकीकरण (कुहिने र नकुहिने फोहोर छुट्याउने) गर्नुहुन सम्पूर्ण महानगरबासीहरूलाई विनम्र अनुरोध छ।”
यससँगै आइतबार र बुधबार कुहिने तथा सोमबार र शुक्रबार नकुहिने फोहोर सङ्कलन गर्ने महानगरले जनाएको छ। फोहोर उत्पादकलाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै भाँडामा सङ्कलन गर्न, तोकिएको समय र सवारी साधनमा मात्र फोहोर दिन अनुरोध गरेको छ।
यो व्यवस्था लागू गर्न साउन १ गते आयोजित कार्यक्रममा महानगरका मेयर बालेन्द्र साह (बालेन)ले फोहोरका कारण मानिस रोगी भइरहेको बताए। उनले भनेका थिए, “लगभग नारकीय जीवन भोगिरहेका छन्। यसलाई रोक्ने जिम्मेवारी तपाईं हाम्रै हो।”
तर, महानगरबासीले कुहिने र नकुहिने फोहोर कसरी वर्गीकरण गर्ने? कस्तो भाँडोमा छुट्याएर राख्ने? फोहोर वर्गीकरण गर्ने भाँडो वा झोला वा डस्टबिन कहाँबाट ल्याउने? वर्गीकरण गरेको फोहोर फाल्न प्लास्टिककै झोला प्रयोग गर्ने कि कपडाको?
यस विषयमा महानगरले नागरिकलाई कुनै जानकारी दिएको छैन। यस विषयमा महानगरले कस्तो तयारी गरेको छ? “फोहोर छुट्याउन सात लाखभन्दा बढी डस्टबिन चाहिने अनुमान छ। महानगरले एकै पटक किनेर दिने अवस्था पनि छैन,” महानगरका सहायक प्रवक्ता महेशकुमार काफ्ले भन्छन्, “के गर्ने भन्नेबारे छलफलको चरणमा छ। त्यसैले अहिले महानगरबासीलाई नै फोहोर छुट्याइदिनुस् भनेर अनुरोध मात्र गरिएको हो।”
कम्तीमा सात लाख डस्टबिन किन्न धेरै खर्च हुने भएकाले महानगरले किनेर दिन तत्काल सम्भव नभएको उनको भनाइ छ। केही ठूला होटल, रेस्टुरेन्टमा फोहोरको वर्गीकरण भइरहेको उनले बताए।
काठमाडौं उपत्यकाबाट दैनिक एक हजार दुई सय टन फोहोर निस्किन्छ। यसमध्ये सबैभन्दा बढी काठमाडौं महानगरपालिकाबाट मात्रै दैनिक ५१६ टन फोहोर निस्किन्छ।
मेयर साहले फोहोरलाई वर्गीकरण गरेर मल बनाउने बताएका छन्। त्यसका लागि घरमै कुहिने र नकुहिने फोहोर वर्गीकरण गर्न महानगरबासीलाई आह्वान गरेका छन्। “कुहिने फोहोरबाट मल बनाउने कि डम्पिङ साइटमा विसर्जन गर्ने भन्ने विषयमा योजना बनाउन बाँकी नै छ। यस विषयमा पनि छलफल गरिरहेका छौं, छिटै योजना बनाउँछौं,” सहायक प्रवक्ता काफ्लेले भने।
महानगरले कुनै तयारी नगरेर कुहिने र नकुहिने फोहोर छुट्याउन आग्रह मात्रै गरेको छैन, कारबाही गर्ने पनि चेतावनी दिएको छ। महानगरले सूचना जारी गर्दै भनेको छ, “स्रोतमा नै फोहोरको पृथकीकरण नगरमो फोहोर सङ्कलन नगर्ने र काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसूर मानी प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना हुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”
कसरी गर्ने वर्गीकरण?
कुहिने र नकुहिने फोहोर सही तरीकाले घरमै वर्गीकरण गर्दा फोहोर व्यवस्थापनमा पनि सहयोग पुग्ने विज्ञहरू बताउँछन्। कुहिने फोहोरबाट मल समेत बनाउन सकिने प्राङ्गारिक मल प्रवर्द्धन प्रविधि प्रसार विशेषज्ञ डा. विष्णुकुमार धिताल बताउँछन्।
उनका अनुसार, यसका लागि सानो फलामको टुक्रा, कागज, प्लास्टिक, सिसा, आदि नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्नुपर्छ। त्यस्तै, तरकारी केलाएर बाँकी रहेको फोहोर, खाना, दाल, सागपात लगायत कुहिने फोहोरलाई छुट्टै राख्नुपर्छ। फोहोर व्यवस्थापनका लागि मेयर साहले राम्रो शुरूआत गरेको भए पनि त्यतिले मात्रै नपुग्ने उनको भनाइ छ। “कुहिने फोहोरबाट घरमा नै मल बनाउन सकिन्छ भन्ने ज्ञान दिनुपर्छ,” डा. धिताल भन्छन्।
आफूले आठ वर्षदेखि फोहोर वर्गीकरण गरेर मल बनाउने गरेको बताए। “मेरो घरमा अलिकति खाली जग्गा छ। त्यसमा मैले कम्पोस्ट मल बनाउने गरेको छु,” डा. धिताल भन्छन्, “फोहोर वर्गीकरणका लागि डस्टबिन किन्न धेरै खर्च हुन्छ। त्यसमा महानगरले सहयोग गर्नुपर्छ।”
उनका अनुसार, चार जनाको परिवार भएको घरमा सातामा सात किलोग्राम जति कुहिने फोहोर निस्किन्छ। घर वरिपरि ठाउँ भएका मानिस कम्पोस्ट बनाउन सक्छन्। “खाली जमीनमा खाल्डो खन्दै, पुर्दै गरेर तीन महीनामा मल तयार हुन्छ,” उनी भन्छन्।
तर, धेरै ठाउँ नभएका र कोठामा बस्नेलाई बाल्टीमा जम्मा गरेर राख्दा गन्हाउने भएकाले समस्या हुन सक्ने उनी बताउँछन्। “बाल्टिनमा जम्मा गर्नुपर्छ, फोहोरको गन्ध आउन सक्छ। गन्ध नआउन दिनका लागि औषधि छर्कनुपर्छ,” उनी भन्छन्।