यस्तो छ कांग्रेस निकट पत्रकारबीच प्रतिस्पर्धा
नेपाली कांग्रेस निकट पत्रकारहरू नयाँ नेतृत्व चयनका लागि आठ वर्षपछि प्रतिस्पर्धा गर्न लागेका छन्।
सत्तारूढ दल नेपाली कांग्रेस निकट पत्रकारको संगठन नेपाल प्रेस युनियनमा नयाँ नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुन लागेको छ। आठ वर्षपछि युनियनको नवौं राष्ट्रिय महाधिवेशन साउन ६ र ७ गते मकवानपुरको हेटौंडामा हुँदै छ। महाधिवेशन नजिकिएसँगै पत्रकारहरू नेतृत्वका लागि उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा जुटेका छन्।
२०७१ भदौमा पोखरामा सम्पन्न आठौं महाधिवेशनबाट बद्री सिग्देल नेतृत्वमा आएका थिए। त्यसयता पटक पटक युनियनको महाधिवेशन सर्दै आएको थियो। जसले गर्दा युनियनभित्र मात्रै होइन, कांग्रेसभित्र पनि नेतृत्वको आलोचना हुँदै आएको थियो।
हेटौंडामा हुने लागेको महाधिवेशनमा युनियनको अध्यक्षका लागि अनिता बिन्दु, शिव लम्साल, दीपक आचार्य, ईश्वरी ओझा, रामप्रसाद दाहाल, सन्तोष न्यौपाने र भुवन भट्टले उम्मेदवार बन्ने घोषणा गरेका छन्। कांग्रेस संस्थापन पक्षबाट बिन्दु अध्यक्षकी उम्मेदवार बन्ने भएकी छन्।
उनले साउन ३ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेकी छन्। त्यस्तै, संस्थापन पक्षको टीमबाट वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी, महासचिवमा जगन्नाथ दुलाल र कोषाध्यक्षमा माधव धिताल उम्मेदवार बन्ने घोषणा गरिएको छ।
संस्थापन पक्षबाट बाँकी पदमा हेटौंडामै उम्मेदवार तय गरिने भएको छ। युनियनमा ३३ पदाधिकारी सहित १४२ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ।
सर्वसम्मति भएमा सिग्देलले पनि अध्यक्षमा दोहोरिने आकाङ्क्षा देखाएका थिए। तर, कांग्रेस नेता डा. शेखर कोइराला पक्ष निकट पत्रकारले उम्मेदवार घोषणा गरेपछि सर्वसम्मतिको बाटो बन्द भएको थियो। त्यसपछि संस्थापन पक्षले बिन्दुलाई उम्मेदवार बनाउने तय गरेको जनाइएको छ।
संस्थापन इतर पक्षले कसलाई अध्यक्षको उम्मेदवार बनाउने भन्ने टुङ्गो लगाउन बाँकी नै छ। अध्यक्षमा शिव लम्सालले दाबी गरेका छन्। उनी गत निर्वाचनमा सिग्देलसँग पराजित भएका थिए। सिग्देलले ६४२ मत पाएका थिए भने लम्सालले ४४४ मत पाएका थिए।
त्यस्तै, संस्थापन इतर पक्षबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य र रामप्रसाद दाहालले दाबी गरेका छन्। नेपाल पत्रकार महासंघको निर्वाचनमा उनले अध्यक्षको उम्मेदवारी फिर्ता लिएका थिए। त्यति वेला दाहाललाई युनियनमा अध्यक्ष बनाउने सहमति भएको उनी निकट पत्रकारको भनाइ छ। संस्थापन इतर पक्षले उम्मेदवार नबनाए आफ्नै प्यानल बनाएर भिड्ने तयारी गरेका छन्।
अहिलेसम्मको अवस्थामा अध्यक्षमा बिन्दु नै बलियो देखिएकी छन्। उनीप्रति महिला पत्रकारको पनि झुकाव देखिएको छ।
अध्यक्षको दाबी प्रस्तुत गरिरहेका दाहालले लम्साललाई सघाएमा भने प्रतिस्पर्धा रोचक हुने देखिन्छ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षमा लीलाराज खनाल र नीरज खतिवडाले पनि उम्मेदवारी घोषणा गरेका छन्। महिला उपाध्यक्षमा सलोजा दाहाल, कल्पना शर्मा र दिलिपाश्री अधिकारी उम्मेदवार बन्ने भएका छन्।
महासचिवमा खिला कार्की, दिलीप पौडेल, नकुल अर्याल, भीष्मराज ओझा, रमेश वाग्ले र विमल ज्ञवालीले पनि उम्मेदवारी घोषणा गरेका छन्।
यसै गरी, उपमहासचिवमा सुलोचना गौतम, भुवन शर्मा, युवराज गौतम र कुसुम विक उम्मेदवार बन्ने भएका छन्। कोषाध्यक्षमा पदमराज जोशी, जानुका बराल र मित्र भण्डारीले पनि दाबी गरेका छन्।
सचिवमा खगेन्द्र भण्डारी, मेनुका ढुंगाना, लोकेन्द्र भट्ट, विजय रेग्मी, तीर्थ बस्नेत, कालिका महत, राधा खनाल, टीकाराम सुनार र एलपी देवकोटा प्रतिस्पर्धामा छन्।
युनियनको महाधिवेशनका लागि देशभरबाट एक हजार ६२० जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्। जसमा दुवै पक्षका हाराहारी महाधिवेशन प्रतिनिधि रहेको आकलन गरिएको छ। यसमा केन्द्रीय समितिले मनोनयन गर्ने महाधिवेशन प्रतिनिधिको टुङ्गो लाग्न भने बाँकी नै छ।
युनियनको महाधिवेशनले ३३ पदाधिकारी सहित १४२ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ।