मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सहित तीन जना विरुद्ध अदालतमा रिट
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाका उपकुलपति डा. विश्वराज जोशी सहित तीन जना विरुद्ध रिट दायर भएको छ।
नेकपा (एकीकृत समाजवादी)को भ्रातृ संगठन युवा संघ मकवानपुरका उपाध्यक्ष सफल अधिकारीले उच्च अदालत हेटौंडामा प्रतिष्ठानका उपकुलपति डा. जोशी, रजिस्ट्रार राजेश प्रसाईं, संयोजक चिरञ्जीवी चुडाल विरुद्ध रिट दायर गरेका हुन्।
उपकुलपति जोशीले प्रतिष्ठानलाई सही नेतृत्व नदिएको र अन्य पदाधिकारीले पनि आफू अनुकूल नियमावली र कार्यविधि बनाएर प्रतिष्ठानलाई सक्रिय बनाउन पहल नगरेको आरोप लगाइएको छ।
७६ वर्षीय उपकुलपति जोशीले कुलपति, सहकुलपतिको निर्देशन नमानेको, शिक्षाध्यक्षले लगेका प्रस्तावको सुनुवाइ नगरेको, डीन नियुक्त गर्नुपर्नेमा संयोजक पद खडा गरेको लगायत आरोप छ। अन्य कुनै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नभएको संयोजक पद खडा गरी स्वास्थ्य विज्ञान नपढेको व्यक्ति नियुक्त गरेको अधिकारीको आरोप छ।
यस्तै, प्रतिष्ठानको नाममा दुई करोड ६० लाख रुपैयाँ बेरुजु देखिएको, ६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको भन्दै अख्तियारमा उजुरी पर्दा समेत प्रतिष्ठानको हितमा काम गर्न नखोजेको आरोप छ। प्रतिष्ठानको आर्थिक कारोबारको आन्तरिक लेखा परीक्षण समेत नगराएको, प्रतिष्ठानको सभामा पनि यो विषय पेश नगरी आर्थिक बदमासी लुकाउन खोजिएको आरोप रिटमा उल्लेख छ।
उपकुलपतिले अनुभव र कानूनी मापदण्ड नपुगेका रजिस्ट्रार नियुक्तिमा पनि मौनता साँधेको, प्रशासनिक र आर्थिक अनुभव नभएका व्यक्तिहरूलाई प्रतिष्ठानको रकमको कारोबार गर्न दिंदा बदमासीका अलावा बेरुजु देखिएको विषय पनि रिटमा उल्लेख छ।
यस्तै, प्रतिष्ठानका पदाधिकारीहरू दायित्वबाट पन्छिएर असक्षम र अयोग्य देखिएकाले प्रतिष्ठानकै भविष्य अन्योलमा पर्ने गरी काम भइरहेकाले तत्काल रोक्न, पदाधिकारीहरूलाई पदमुक्त गरी नयाँ पदाधिकारी राखेर प्रतिष्ठानको भविष्य जोगाउन रिटमा अपील गरिएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले छानबिन गर्न समिति गठन गरेपछि गत वैशाख १४ मा उपकुलपति जोशी स्वतः निलम्बित भएका थिए। तर, वैशाख २८ मा जोशीलाई निलम्बन गर्ने बागमती सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि उनी काममा फर्केका थिए। जोशीलाई मुख्यमन्त्री डोरमणि पौडेलले २०७७ साल साउन १६ गते चारवर्षे कार्यकालका लागि नियुक्त गरेका थिए।