विद्यालय शिक्षाः बदल्नुपर्ने बाटो
शिक्षामा प्रगति गरेका हरेक मुलुक पाँच वर्षसम्मको उमेरमा गरिने लगानीले सबैभन्दा ठूलो प्रतिफल दिन्छ भन्ने बुझेर गुणस्तरीय प्रारम्भिक बालविकास शिक्षामा केन्द्रित छन्। हामीकहाँ पनि हाम्रो स्रोतसाधन ससाना बालबालिकाको दिगो विकासमा केन्द्रित गर्नुपर्छ।
नेपालको शिक्षा सङ्कटमा रहेको कथन नयाँ हैन, बरु सङ्कटमा किन छ भनेर प्रष्ट बुझ्ने वेला आएको छ। शिक्षामा सर्वत्र बिग्रिएको अवस्था सुधार्न एक मात्र उपाय हो, सर्वसुलभ गुणस्तरीय शिक्षा। यसका लागि सबै सरकारी विद्यालय राम्रो हुनैपर्छ। मुलुकको २० प्रतिशत विद्यार्थी पढाइरहेका निजी विद्यालयहरूले केही हदसम्म गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छन्। तर, ८० प्रतिशत विद्यार्थी पढ्ने सरकारी विद्यालयको सुधार नगरी शैक्षिक सुधार हुन सक्दैन।
सरकारी विद्यालयले निजीबाट सिक्नुपर्ने धेरै कुरा हुन सक्छन्। तर, निजीका नराम्रा वा सतही कुरा मात्रै सिक्नु चाहिं विडम्बना नै हो। कतिपय विद्यालयले टाई लगाउने वा नेपाली बोल्दा गाली गर्ने कुरा निजीबाट अनुसरण गरेको देखिन्छ। जुन निरर्थक देखासिकी हो।
सरकारी विद्यालयमा कक्षा १ देखि नै अङ्ग्रेजी पढाउने निर्णय राम्रो होला। तर, निर्णय गरेर मात्र पुग्दैन, दक्ष जनशक्ति, कार्यक्रम र साधनस्रोत चाहिन्छ। अङ्ग्रेजी पढाउन अङ्ग्रेजीमा पोख्त शिक्षक नै चाहिन्छ। राजनीतिक निकटताका आधारमा ‘हाम्रा’ हेर्ने होइन, ‘राम्रा’ शिक्षक छनोट गरिनुपर्छ।
सरकारी विद्यालयमा कक्षा १ देखि नै अङ्ग्रेजी पढाउने निर्णय राम्रो होला। तर, निर्णय गरेर मात्र पुग्दैन, दक्ष जनशक्ति, कार्यक्रम र साधनस्रोत चाहिन्छ। अङ्ग्रेजी पढाउन अङ्ग्रेजीमा पोख्त शिक्षक नै चाहिन्छ।
के हो गुणस्तरीय शिक्षा?
गुणस्तरीय शिक्षाले बालबालिकाको समग्र मस्तिष्कलाई विकास गर्ने मौका दिन्छ। विद्यार्थीको शारीरिक, भावनात्मक, सामाजिक, भाषिक र बौद्धिक विकासमा टेवा दिन्छ र व्यक्तित्वको समग्र निर्माणमा सहयोग गर्छ। यस्तो शिक्षाले विद्यार्थीलाई पढेरभन्दा गरेर र भोगेर सिक्ने अवसर दिन्छ।
व्यवस्थित रूपमा सञ्चालित कक्षाकोठा त्यो होइन, जहाँ विद्यार्थीहरू पङ्क्तिबद्ध बसी किताब पल्टाएर कापीमा सारिरहेका मात्रै हुन्छन्। यसले त दिमागको एउटा सानो पाटोलाई मात्रै विकास गर्छ। राम्ररी सञ्चालित कक्षामा विद्यार्थीहरू विभिन्न कार्यमा व्यस्त भएका देखिन्छन्। उनीहरूले कहिले एक्लै त कहिले ससाना दौंतरी समूहमा काम गरेका हुन्छन्। कहिलेकाहीं शिक्षकले पूरै कक्षालाई नै निर्देश गरिरहेको या कथाका किताब पढेर सुनाइरहेका हुन्छन्। गुणस्तरीय बालकेन्द्रित शिक्षामा विद्यार्थी आफैंबाट निर्देशित हुन्छन् र विभिन्न क्रियाकलापबाट ज्ञान निर्माण गर्छन्, जसले सिकाइलाई दिगो बनाइदिन्छ। शिक्षकबाट निर्देशित ज्ञान भने केही समय मात्र रहन्छ।
राम्रो हिसाबमा चलाइएको कक्षाकोठामा विद्यार्थीहरूको मूल्याङ्कन पनि निरन्तर हुन्छ। विद्यार्थीको क्रियाशीलता, आचरण, जिम्मेवारी, सरसफाइ, स्वास्थ्य आदि सबै पक्षको मूल्याङ्कन गरिन्छ। विद्यार्थीले एकअर्कासँग कस्तो सम्बन्ध राख्छन्, सीप कसरी विकास भइरहेको छ, उनीहरूको प्रस्तुति कस्तो छ, समूहमा काम गर्न रुचाउँछन् कि एक्लै भन्ने विषयको पनि लेखाजोखा हुन्छ।
गुणस्तरीय शिक्षाको जग सानैदेखि अर्थात् पूर्व प्राथमिक कक्षाहरूमै बसाल्नुपर्छ। बालबालिकाको मस्तिष्क पाँच वर्षको उमेरभित्रै ९० प्रतिशत वृद्धि भइसक्ने हुनाले धेरै बानीव्यहोरा त्यस अगावै सिकाइसक्नुपर्छ। उनीहरूसँग धेरै कुराकानी गर्नुपर्छ, अन्तरक्रिया तथा सम्झाइबुझाइ गरेर सिकाउनुपर्छ, ताकि अरूलाई राम्रोसँग सुन्ने र आफ्नो कुरा निर्धक्कसँग भन्न सक्ने बानी विकास होस्। साना बालबालिकालाई सबै कुरा नौलो र पहिलो चोटि अनुभव हुने भएकाले उनीहरू एकदमै जिज्ञासु र प्रश्नको खानी नै हुन्छन्। उनीहरूले प्रश्न गर्दा धैर्य गरेर जवाफ दिने, खेलको माध्यमबाट सिकाउने शिक्षककै कारण बाल्यकालदेखि नै शिक्षा गुणस्तरीय हुन्छ।
शिक्षामा कार्यरत र शिक्षाप्रेमी सबैले के बुझ्नुपर्छ भने ससाना बालबालिकालाई सिकाउने विधि विद्यालय शिक्षाभन्दा अर्कै हुन्छ, जुन उनीहरूको मस्तिष्कको विकाससँग सम्बन्धित हुन्छ। यसलाई बालबालिकाको ‘विकास सुहाउँदो अभ्यास’ भनिएको छ। भाषिक विकास, भावनाहरूको नियन्त्रणमा टेवा र राम्रो आनीबानी बसाल्ने काम सानैमा हुनुपर्छ। पछि गरौंला भनेर बस्यो र यो समय गुम्यो भने बालबालिकाको मस्तिष्क र स्वभाव विकासको महत्त्वपूर्ण मौका नै गुम्छ।
व्यवस्थित रूपमा सञ्चालित कक्षाकोठा त्यो होइन, जहाँ विद्यार्थीहरू पङ्क्तिबद्ध बसी किताब पल्टाएर कापीमा सारिरहेका मात्रै हुन्छन्। यसले त दिमागको एउटा सानो पाटोलाई मात्रै विकास गर्छ।
शिक्षामा आज प्रगति गरेका हरेक मुलुक पाँच वर्षसम्मको उमेरमा गरिने लगानीले सबैभन्दा ठूलो प्रतिफल दिन्छ भन्ने बुझेर गुणस्तरीय प्रारम्भिक बालविकास शिक्षामा केन्द्रित छन्। यस कारण हामीकहाँ पनि शिक्षामा लागेका सबैले हाम्रो स्रोतसाधन ससाना बालबालिकाको दिगो विकासमा केन्द्रित गर्नुपर्छ। यहाँ चुक्यौं भने, पछि उपचारात्मक हिसाबले गरिने सिकाइ ‘बूढो सुगा पढाउनु’ सरह हुन्छ।
निराशाका तस्वीर
गुणस्तरीय शिक्षाको बाटोमा हामी धेरै अलमलिँदै आएका छौं। प्रथमतः स्रोतसाधन विना गुणस्तरीय शिक्षा सम्भव छैन। शिक्षक र शिक्षासँग जोडिएका नेतृत्वकर्ताहरूलाई उपयुक्त तालीम, कक्षाकोठा र खेल मैदानमा ज्ञान निर्माण गर्न सक्ने शिक्षण सामग्री, पत्रु खानारहित पौष्टिक आहार र विद्यालय–अभिभावकबीच हार्दिक सम्बन्ध हुन नसके गुणस्तरीय शिक्षा अगाडि बढ्न सक्दैन। तर, वास्तविकता चाहिं शिक्षामा राष्ट्रिय बजेट घटिरहँदा झन् झन् धेरै प्रतिशत तलब–भत्ता र प्रशासनिक खर्चमा गइरहेको छ।
विगतमा शिक्षामा कुल बजेटको १८ प्रतिशतसम्म लगानी भएको थियो। त्यो अवस्थाबाट अहिले ११ प्रतिशतभन्दा तल झरेका छौं। यो स्थितिमा शिक्षाको गुणस्तर विकास हुने कुरै भएन। शिक्षामा यो न्यून प्राथमिकताले ‘आफ्नै खुट्टामा बन्चरो हान्ने’ देश बन्दै छ। दुई उदाहरणमा चर्चा गरौं।
उदाहरण एकः अर्थशास्त्रमा धनी झन् धनी र गरीब झन् गरीब बन्दै जान्छ भनेर व्याख्या गर्न ‘म्याथ्यु इफेक्ट’ पदावली प्रयोग गरिन्छ। ‘म्याथ्यु इफेक्ट’ शिक्षामा पनि लागू हुन्छ। जस अनुसार, प्रारम्भिक कक्षामा पढाइ राम्रोसँग शुरू गरेका बालबालिकाको सिकाइमा उत्तरोत्तर प्रगति हुन्छ। पढ्नेबारे ज्ञान भएपछि उनीहरूले ज्ञानका लागि पढ्न थाल्छन्। सानोमा वर्णमाला र बाह्रखरी राम्ररी सिक्न नपाएका विद्यार्थी कक्षा चढ्दै जाँदा विद्यालय छाड्ने क्रम बढ्दो हुन्छ। सानैमा जानिसक्नुपर्ने कुरा नसिकेपछि माथिल्लो कक्षामा धेरै गाह्रो हुन्छ र लाज मान्न थाल्छन्।
विगतमा शिक्षामा कुल बजेटको १८ प्रतिशतसम्म लगानी भएको थियो। त्यो अवस्थाबाट अहिले ११ प्रतिशतभन्दा तल झरेका छौं। यो स्थितिमा शिक्षाको गुणस्तर विकास हुने कुरै भएन।
कक्षा ३ सम्ममा सबै बच्चाले पढ्न सिकून् भनेर एक दशकअघि पश्चिमा दातृ जगत्ले ‘अर्ली ग्रेड रिडिङ’ कार्यक्रम ल्याएको थियो। यो कार्यक्रम नेपालमा पनि लागू गरिएको थियो। विद्यार्थीहरूले प्रारम्भिक कक्षामा आफ्नो गतिमा पढ्न नपाउँदा पढ्नै जानेनन्, यसलाई सच्याउनुपर्यो भनेर यहाँ उक्त कार्यक्रम ल्याइएको थियो। तर, कार्यक्रम दुई मूलभूत पाटोमा चुक्न पुग्यो।
पहिलो गल्ती, सबै बालबालिकाले एकै गतिमा पढ्छन् भन्ने मान्यता राखेर अभ्यासपुस्तिका राखियो। तर, कक्षा १ मा पढ्न जानिसकेका बच्चा पनि आउँछन् र अक्षरारम्भ नभएका पनि। भर्खरै सिक्न थालेका बालबालिकाको पनि सिक्ने गति एउटै हुँदैन। कसैले टपक्कै टिप्छन् भने कतिलाई अलि समय लाग्छ। शिक्षकले हतार नगरी हरेक बच्चालाई पर्याप्त समय दिनुपर्छ।
कक्षा १ मा वर्णमाला र बाह्रखरी सिकेर सरल अक्षर पढ्न सके भने, पछि आधा र जोडे–मोडेको अक्षर सिक्छन्। कक्षा २ को अन्त्यमा सरल शब्द, वाक्यांश र वाक्य सिक्छन् र कक्षा ३ भरि पढ्ने अभ्यास गर्छन्। त्यस वेला उनीहरूको हातमा राम्रा किताब पुर्याउनुपर्छ। धैर्यसाथ यसो गरे तीन वर्षभित्र हाम्रा सबै बालबालिकाले पढ्न सिक्छन्। तर, माथि उल्लिखित अभ्यासपुस्तिकाले गर्दा शिक्षकले सबै बालबालिकालाई एकसाथ एउटै समय दिन्छन् र थप समय चाहिने विद्यार्थी सधैं पछि पर्छन्।
दोस्रो गल्ती, शिक्षकलाई आफ्नो सिर्जनशीलता र मौलिकताको प्रयोग गर्नै नदिई विस्तृत र निर्देशित पाठयोजना बनाएर पढाउन दिनु हो। शिक्षकले मोटामोटी निर्देश र सामग्री पाए विद्यार्थीलाई सुहाउँदो हुने गरी आफ्नै योजना बनाएर सिकाउन सक्छन् भन्नेमा हामीले विश्वास नै गरेनौं। के नेपाली भाषा शिक्षकले कक्षा १, २ र ३ का विद्यार्थीलाई वर्णमाला र बाह्रखरी आफ्नै भाषामा पढाउन सक्दैनथे? सबैभन्दा सानालाई पढाउन सबैभन्दा सक्षम र उत्साहित शिक्षक हुनुपर्नेमा जिम्मेवारी नदिंदा शिक्षकले रमाएर पढाउनै सकेनन्, आत्मबल खस्कियो।
माथिको उदाहरणले के देखाउँछ भने, दातृ निकायले हाम्रो देश र यहाँका जनतालाई तल्लो दर्जाका रूपमा हेरेर काम गर्छ। उनीहरूको देशमा बालबालिकाले आफ्नै गतिमा सिक्छन्, तर नेपालमा त्यो लागू हुन सकेन। शिक्षण सिकाइमा सिर्जनशील भएर मौलिकता प्रयोग गर्न र जिम्मेवारी पाए भने शिक्षकले उत्साहित भएर पढाउँछन् भन्ने पनि सबैलाई थाहा छ, तर त्यो पनि यहाँ लागू भएन।
उदाहरण दुईः गरीब देश भएकाले नेपालको बजेटको आकार नै सानो हुन्छ। त्यसमा पनि शिक्षालाई बजेटमा प्राथमिकता दिइँदैन। शिक्षामा कुल बजेटको १०/११ प्रतिशत हाराहारी विनियोजन हुने गरेको छ। दातृ निकायहरूले हाम्रो बजेटकै अनुपातमा सहयोग दिने गरेका छन्। विगतमा त्यस्तो सहयोग नेपालको शिक्षा बजेटको २० प्रतिशत अनुदान हुन्थ्यो, पछिल्लो समय अति कम विकसित मुलुकबाट उक्लिएर मध्य आय भएको देश बन्न लम्किरहँदा अनुदानलाई ऋणका रूपमा परिणत गरिएको छ। नेपालको विकासमा साँच्चै इच्छुक हो भने दातृ निकाय र मित्रराष्ट्रहरूले कुनै न कुनै स्वार्थ बोकेका निकायले बनाएको नियम नहेरी यहाँको शिक्षालाई आवश्यक अनुदान र योगदान स्वस्फूर्त गर्नुपर्थ्यो।
अहिलेसम्मको अवस्था हेर्दा विदेशबाट ठूलो रकम आउला र शिक्षाको विकास होला भन्ने त दिवास्वप्न मात्र हो। यसैले अरूमाथि आश राख्नुभन्दा आफ्नो बाटो आफैं विस्तार गर्दै जानुपर्छ। यसको शुरूआत शिक्षामा कुल बजेटको २० प्रतिशत विनियोजनबाट गरिनुपर्छ।
सबै शिक्षक र नेतृत्व वर्गले के बुझ्नुपर्छ भने, अभिभावकले विद्यालयलाई पत्याएर आफ्नो बालबालिका पढाएकै कारण उनीहरूको जागीर कायम छ। अभिभावकले बालबालिका नपठाउने हो भने विद्यालय नै बन्द हुन्छ।
सुधारका तीन उपाय
कुनै पनि देशको अवस्था र क्षमता अरू क्षेत्रभन्दा शिक्षाले झल्काउँछ। त्यसै गरी, कुनै पनि देशको शैक्षिक स्तर त्यहाँ पढाउने शिक्षकको स्तरले निर्धारण गर्छ। शिक्षामा शिक्षकको महत्त्वपूर्ण भूमिका हुनेबारे धेरै अनुसन्धानले प्रष्ट पारेका छन्। तसर्थ, शिक्षकका साथै नेतृत्व वर्गको क्षमता विकास गरिनुपर्छ। यससँगै अभिभावकसँग मिलेर काम गर्ने परिपाटी बसाल्नुपर्छ।
विद्यमान शिक्षा प्रणालीमा सरकारी विद्यालयका विद्यार्थी र उनीहरूका अभिभावकलाई शिक्षक र नेतृत्व वर्गले हेप्ने वा उपेक्षा गर्ने गर्छन्। अभिभावकलाई विद्यालयमा बोलाउँदा विद्यालयमा गर्नुपर्ने योगदान वा विद्यार्थीबारे गुनासोका कुरा मात्र सुनाइन्छ। तिनले आफ्नो बालबालिकाले के सिकिरहेका छन् भनेर जान्ने र अभिभावकत्वबारे सिक्ने मौका विरलै पाउँछन्। कमजोर आर्थिक अवस्थाका कारण आफ्ना बालबच्चा निःशुल्क पढाउन बाध्य यी अभिभावकले विद्यालयलाई न धेरै सुझाव दिन सक्छन्, न विद्यालयबाट धेरै अपेक्षा गर्छन्, न त चित्त नबुझ्दैमा अर्को विद्यालय खोज्ने विकल्प हुन्छ।
निजी विद्यालयमा बच्चा पढाउने अभिभावकले भने विद्यालयबाट केही न केही अपेक्षा गरेका हुन्छन् र केही कुरा ठीक नलागे निर्धक्क भन्न सक्छन्। चित्त नबुझ्दा बच्चालाई अर्को विद्यालयमा पढाउन सक्छन्। त्यसैले पनि निजी विद्यालयहरू अभिभावकको चित्त बुझाउन बाध्य हुन्छन्। साथै, कोभिड–१९ महामारीका वेला बन्दाबन्दीमा के पनि महसूस भयो भने निजी विद्यालयका शिक्षकले काम नगरी तलब पाउँदैनन् भने यो कुरा सरकारी विद्यालयका शिक्षकहरूमा लागू हुँदैन।
सबै शिक्षक र नेतृत्व वर्गले के बुझ्नुपर्छ भने, अभिभावकले विद्यालयलाई पत्याएर आफ्नो बालबालिका पढाएकै कारण उनीहरूको जागीर कायम छ। अभिभावकले बालबालिका नपठाउने हो भने विद्यालय नै बन्द हुन्छ। यो कुरा निजी विद्यालयले त मनन गरेका होलान्, सरकारी विद्यालयले पनि यो कुरा बुझेर इमानदारीपूर्वक पठनपाठन गर्नुपर्छ। विद्यालय शिक्षा सुधारको दिशामा यो पहिलो उपाय हो।
निजी विद्यालयले ठेलीका ठेली किताब बच्चालाई बोक्न लगाए भन्ने आरोप लाग्थ्यो। अहिले हरेक सरकारी विद्यालयमा प्रारम्भिक कक्षाकै विद्यार्थीहरूले पाँच वटा किताब बोक्नुपर्ने अवस्था आएको छ। प्रारम्भिक कक्षाका बालबालिकाको सिकाइ प्रक्रियामा ‘खेल नै काम हो’ भन्ने सिद्धान्त लागू गरिनुपर्छ, जसले उनीहरूको सर्वाङ्गीण विकास हुन्छ। किताबको भारी बोकाउनु बालबालिकाले खेलेर सिक्छन् भन्ने सिद्धान्तको बिल्कुल विपरीत छ। यसलाई यथाशीघ्र हटाइनुपर्छ। शिक्षकहरूले विद्यार्थीलाई पढ्न सक्नुपर्छ र उसलाई के चाहिन्छ, केमा रमाउँछ, त्यसै अनुसार सिकाइ प्रक्रियामा डोर्याउनुपर्छ। यो कुरा प्रारम्भिक कक्षामा झनै आवश्यक छ।
प्रयोगात्मक पाठ्यक्रम, शिक्षक र नेतृत्व वर्गलाई तालीम, निरन्तर मूल्याङ्कनको मापदण्ड, कक्षाकोठामा चाहिने शिक्षण सामग्रीको व्यवस्थापन, पर्याप्त खेल मैदान, विद्यालयको पुस्तकालयलाई चाहिने उपयोगी किताबको सूची आदिमा ध्यान दिनुपर्छ।
बच्चाहरूलाई खेलको माध्यमबाट सिक्ने मौका दिनुपर्छ, साथीहरूसँग घुलमिल भई सामाजिकीकरणद्वारा मीठो बोल्ने बनाउने तथा नाचगान सिकाउँदै मांसपेशीको कसरत गराएर शारीरिक र मानसिक विकास गर्ने मौका दिनुपर्छ। शिक्षामा कार्यरत सबैले विद्यार्थीको विकास किताब पढेर मात्र हुँदैन भन्ने प्रष्ट बुझ्नुपर्छ। शिक्षक तालीमले मात्र पुग्दैन। बृहत् र व्यावहारिक प्रशिक्षण दोस्रो उपाय हो। विद्यालय शिक्षाको अधिकार पाएको स्थानीय सरकारले पनि तालीमप्राप्त शिक्षकलाई उसले सिकेका कुरा कक्षामा कार्यान्वयन गर्ने वातावरण सुनिश्चित गर्नुपर्छ।
तेस्रो उपाय हो, स्थानीय सरकारले शिक्षा सम्बन्धी आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक लिएर इमानदारीपूर्वक प्रयत्न गर्ने। पालिकाले निजी शिक्षालाई हेर्ने दृष्टिकोण पनि परिवर्तन गरेर सार्वजनिक र निजी विद्यालय दुवैलाई अगाडि बढाउने उपायहरू सोच्नुपर्छ। प्रयोगात्मक पाठ्यक्रम, शिक्षक र नेतृत्व वर्गलाई तालीम, निरन्तर मूल्याङ्कनको मापदण्ड, कक्षाकोठामा चाहिने शिक्षण सामग्रीको व्यवस्थापन, पर्याप्त खेल मैदान, विद्यालयको पुस्तकालयलाई चाहिने उपयोगी किताबको सूची आदिमा ध्यान दिनुपर्छ। विद्यालयहरूलाई विज्ञान प्रविधिमा सबलीकरण गर्ने काम पनि स्थानीय सरकारको भागमा आएको छ। शिक्षक र नेतृत्व वर्गलाई जस्तै स्थानीय सरकारमा कार्यरत शिक्षा सम्बद्ध जनशक्तिलाई पनि उचित तालीमको व्यवस्था गरिनुपर्छ।
हालसम्म नेपालले गरीब र सधैं अरूसँग हात पसार्ने देशको परिचयमा उभिनुपरेको छ। यसलाई हामीले आत्मनिर्भर र स्वाभिमानी देशमा परिणत गर्नुपर्नेछ। हरेक अभिभावकलाई आफ्नो सन्तान राम्ररी हुर्काउने र पढाउने आकाङ्क्षा पूरा गर्ने उपायहरू प्रदान गर्नुपर्नेछ। ठूलो सङ्ख्यामा युवाहरू काम र अध्ययनका लागि विदेशिनुपर्ने बाध्यता अन्त्य गरी देशकै स्रोतसाधन उपयोग गरी सबै नेपाली यहीं अट्ने बनाउनुपर्छ। के यो सपना साकार पार्ने प्रयत्न गर्न हामी तयार छौं?
(दीक्षित ललितपुरस्थित रातो बङ्गला स्कूलकी संस्थापक निर्देशक र रातो बङ्गला फाउन्डेशनकी अध्यक्ष हुन्। हिमालको २०७९ साउन अङ्कबाट।)