आजदेखि मनसुन शुरु
नेपालमा यसवर्षको मनसुन १० दिन ढिलो शुरु भएको छ ।
सामान्यतया १० जूनदेखि शुरु हुने मनसुन यो वर्ष २० जूनदेखि शुरु भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबारदेखि मुलुकको पूर्वी भागबाट शुरु भएको मनसुन क्रमशः मध्य हुँदै पश्चिमतर्फ विस्तार हुने क्रममा रहेपनि देशभर फैलिन भने अझै केही समय लाग्ने छ ।
जूनदेखि सेप्टेम्बरसम्म चार महीनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि मानिन्छ ।
नेपालमा वार्षिक वर्षाको करीब ८० प्रतिशत वर्षा मनसुनको समयमा हुने गर्छ ।
साउथ एशियन क्लाइमेट आउटलुक फोरम १४ मा आकलन गरिएअनुसार यस वर्षको मनसुनी वर्षा नेपालका प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का केही पश्चिमी भूभागमा औसतभन्दा कम हुने अनुमान महाशाखाको छ ।
सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समय अर्थात करीब ३० वर्षको औसत वर्षालाई बुझिन्छ ।
सरदर वर्षाको ९० देखि ११० प्रतिशतसम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिकतम वर्षा भएको मानिन्छ ।