राप्ती र लुम्बिनी प्रादेशिक अस्पतालमा टिकट र शय्या निःशुल्क
लुम्बिनी प्रदेशका दुई प्रादेशिक अस्पतालमा आजदेखि आकस्मिक र बहिरङ्ग सेवाको टिकट तथा शय्या निःशुल्क हुने भएको छ।
दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा यी सेवा निःशुल्क हुने भएको हो।
लुम्बिनी सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा आकस्मिक र बहिरङ्ग सेवाको टिकट र शय्याको शुल्क नलिने घोषणा गरेको थियो। यसका लागि एक करोड ५० लाख रुपैयाँ विनियोजन गरेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूले जानकारी दिए। जसमध्ये लुम्बिनी प्रादेशिक अस्पताललाई एक करोड र राप्ती प्रादेशिक अस्पताललाई ५० लाख रुपैयाँ छुट्याइएको छ।
“ओपीडी र जनरल बेडका लागि यी दुई अस्पतालमा वार्षिक डेढ करोड खर्च आउने देखिन्छ‚” मन्त्री थारूले भने, “आगामी वर्ष थप बजेट विनियोजन गर्दै जाने प्रदेश सरकारको लक्ष्य छ।”
यसैबीच लुम्बिनी सरकारको निर्णय अनुसार ओपीडी र जनरल बेडमा निःशुल्क सेवा दिइरहेको राप्ती प्रादेशिक अस्पतालका प्रमुख डा. विनोद सिंहले बताए। “हामीले प्रदेश सरकारले गरेको निर्णय कार्यान्वयन गरेका छौं,” डा. सिंहले भने, “यो सेवाले आर्थिक अवस्था कम्जोर भएका बिरामीहरूलाई सहयोग पुग्नेछ।”