सन्दीपले चार विकेट लिँदा नेपाललाई दुई सय रनको लक्ष्य
कप्तान सन्दीप लामिछानेले चार विकेट लिएपछि नेपालले दुई सय रनको लक्ष्य पाएको छ।
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियासँग भएको खेलमा नेपाली बलरले कसिलो बलिङ गरे। जसले गर्दा नेपालले सामान्य लक्ष्य पाएको हो।
टस जितेर ब्याटिङ रोजेको नामिबियाले ४९.३ ओभरमा सबै विकेट गुमाएर १९९ रन बनायो। नामिबियाका लागि जेहार्ड इरसमसले अर्ध शतक प्रहार गरे। उनले ७० बलमा ५३ रन बनाए।
त्यस्तै, डेबिड वाइसले ३४, डिभान ल-कक र जेजे स्मितले २७-२७ रन बनाए।
नेपालका लागि लामिछानेले १० ओभरमा दुई मेडिन राख्दै २९ रन खर्चेर चार विकेट लिए। सोमपाल कामीले १० ओभरमा ३३ रन खर्चेर दुई विकेट लिए। त्यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई र बसिर अहमदले एक विकेट लिए।