काठमाडौंमा फोहोरले सास्ती, हेटौंडाबाट फोहोर प्रशोधन मशिन विदेश निर्यात
संघीय राजधानी काठमाडौं लगायत देशका ठूला शहरहरूमा फोहोर व्यवस्थापनको समस्या भइरहँदा हेटौंडामा बनाइएको फोहोर प्रशोधन मशिन भने जापान हुँदै विदेशमा बिक्री भइरहेको छ।
काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएको अर्को वर्ष २०७५ मा जापान पुगेका विद्यासुन्दर शाक्यले फोहोरबाट ऊर्जा उत्पादन गर्ने मशिनको अवलोकन गरे। उनले यस्तो मशिन खरीद गर्ने प्रस्ताव पनि राखे। अनि, शाक्यले सोधे- यो मशिन कहाँ बनेको हो?
जापानको कम्पनीले जवाफ दियो- नेपालमा बनेको हो। हामीले पनि नेपालबाटै ल्याएका हौं।
त्यो जवाफ सुनेपछि मेयर शाक्य चकित परे। अहिले भने तपाईं-हामी चकित पर्ने अर्को खबर छ, यस्तै मशिन तेस्रो देशलाई बेच्न मकवानपुरको हेटौंडा उपमहानगरपालिका-८ कमानेका कृष्ण खतिवडा ५० जना कामदार सहित जापान जाँदै छन्।
“नेपालबाट मशिन बिक्री गर्न पाइँदैन। मशिनका पाटपुर्जा बोकेर जापान जाँदै छु,” खतिवडाले भने, “केही मुलुकबाट ठूलो परिमाणमा मशिनको माग भएको छ, तर यहाँबाट पठाउनका लागि नेपाल सरकारले प्रमाणपत्र दिने प्रावधान नभएकाले जापानबाटै पठाउँछु।”
जापानी प्रविधिको प्रयोग गरेर खतिवडाले चार वर्षदेखि फोहोर प्रशोधन मशिन निर्माण गरिरहेका छन्। जसले फोहोरलाई विद्युत्, ग्यास, कोइला लगायतमा परिणत गर्छ। यो मशिनले प्लास्टिक, सिसा, टिन जस्ता फोहोरलाई ‘जिरो वेस्ट बेस’ मा प्रशोधन गर्ने उनी बताउँछन्।
“यो मशिनले एक घण्टामा दुई टन फोहोर व्यवस्थापन गर्ने क्षमता राख्छ,” उनी भन्छन्, “यो प्रक्रियाबाट ०.५ मेगावाट बिजुली उत्पादन हुन्छ।”
उनका अनुसार, कुहिने फोहोरबाट पत्थर कोइला बन्छ भने नकुहिने फोहोरबाट क्लिङ्कर निस्कन्छ। त्यो क्लिङ्करबाट सिमेन्ट उत्पादन गर्न सकिने उनी बताउँछन्। “यो मशिनभित्र जडान भएको सिस्टमले फोहोर छान्ने, पिस्ने, सुकाउने र उत्पादन गर्ने भएकाले फोहोर व्यवस्थापन सहजै गर्न सकिन्छ,” खतिवडा भन्छन्।
उनले अहिलेसम्म चार वटा मशिन जापान पठाइसकेका छन्। यतै मशिन तयार गरेर पठाउँदैनन्। पाटपुर्जा लग्छन्। कामदार सहित जापानमा गएर तयार पार्छन्। “सरकारले प्रमाणपत्र नदिने भएकाले पाटपुर्जा लगेर जापान जान्छौं, उतै फिट गरेर बिक्री गर्छौं,” खतिवडा गुनासो गर्छन्, “आफ्नो उत्पादन जापान लगेर जापानको नाम दिएर अन्य मुलुकमा बिक्री गर्नुपरेको छ।” उनीसँगै काम गर्ने ५० जना कामदारले पनि जापानबाटै तालीम प्राप्त गरेका छन्।
यसका लागि जापानको यामातो इन्टरनेशनल कर्पसँग सहकार्य गरेका छन्। त्यसकै नामले हेटौंडा-८ मा यामातो इन्टरनेशनल प्रा.लि. स्थापना गरेका छन्। मसमुरा यमाजी नेतृत्वको यामातो इन्टरनेशनल कर्पको टीममा उनी सिस्टम डेभ्लपरका रूपमा सहभागी छन्।
मशिन निर्माणका लागि नेपालसँगै चीन, इटाली र जापानबाट सामग्री आयात गर्छन्। हेटौंडामा बनाइने मशिनले एक घण्टामा दुई टन फोहोर प्रशोधन गर्छ। त्यसबाट ३० टन कार्बन र हाइड्रोजन ग्यास निस्कने उनी बताउँछन्। “फोहोर प्रशोधन गर्दा निस्कने कार्बन र हाइड्रोजन ग्यास पनि बिक्री गर्न सकिन्छ,” उनी भन्छन्। यो मशिन पाँच लाख अमेरिकी डलरमा विदेशमा बिक्री गर्छन्। नेपालमा भने दुई करोड रुपैयाँ मूल्य पर्ने उनी बताउँछन्।
मशिन किन्दा महँगो भए पनि पछि त्यसैले लगानी उठाउने उनी बताउँछन्। फोहोर प्रशोधन गर्दा निस्कने बिजुली र क्लिङ्करले लगानी उठाउने उनको भनाइ छ।
त्यस्तै, फोहोर प्रशोधन गर्दा प्राप्त हुने कच्चा पदार्थबाट इँटा बनाउन सकिने उनको भनाइ छ। त्यो इँटा आँगन, बाटो वा सडकमा पनि प्रयोग गर्न सकिन्छ। उद्योगबाट निस्केको क्लिङ्करले भुइँ ढलान गरेका छन्।
खतिवडाका अनुसार, सिमेन्टको सट्टामा फोहोरबाट प्राप्त हुने क्लिङ्कर प्रयोग गरी ढलान गरेको ठाउँमा तीन घण्टापछि मालवाहक सवारी गुडाउन सकिन्छ। पहिरो जाने ठाउँमा पर्खाल लगाउन यसको प्रयोग गर्न सकिने उनको भनाइ छ।
नेपालमा किन बिक्री भएन?
काठमाडौंका पूर्व मेयर शाक्य जापानबाट फर्केपछि हेटौंडा पुगेका थिए। उनले हेटौंडामा मशिन अवलोकन गरेका थिए। त्यति वेला आफूले काठमाडौंको फोहोर प्रशोधनको जिम्मा दिन आग्रह गरेको खतिवडाले बताए।
“काठमाडौंको फोहोर व्यवस्थापन गर्न कत्रो समस्या भइरहेको छ। मलाई १५-२० वर्ष काम गर्ने अनुमति दिनुहोस्, सित्तैमा फोहोर व्यवस्था गर्छु भनेको थिएँ,” पूर्व मेयर शाक्यसँगको संवाद सुनाउँदै खतिडाले भने, “मेयरसापले धेरै कोशिश गर्नुभयो, तर सक्नुभएन।”
काठमाडौंको फोहोरबाट हुने आम्दानी र राजनीतिले गर्दा पूर्व मेयर शाक्यले आफूलाई व्यवस्थापनको जिम्मा दिन नसकेको उनको भनाइ छ। त्यही कारणले काठमाडौं महानगरले मशिन पनि खरीद गर्न नसकेको उनी बताउँछ्न्।
त्यस्तै, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले मशिन खरीद गर्न खोजेका थिए। उनले हेटौंडाको फोहोर व्यवस्थापनका लागि एउटा मशिन राख्ने खतिवडालाई वचन दिएका थिए। “के भएछ कुन्नि, राख्न सक्नुभएन,” खतिवडाले भने।
यससँगै अन्य दुई जिल्लाका स्थानीय तहले पनि मशिन राख्न खोजेका थिए। तर, उनीहरूले दुई करोडमा किन्न नसकिने जनाउँदै निःशुल्क मशिन दिन आग्रह गरेका थिए। “सित्तैमा त मैले पनि दिन सकिनँ,” खतिवडा भन्छन्, “मशिन त किन्दैनन्, फोहोर पनि दिंदैनन्। सबैभन्दा बढी राजनीति त फोहोरमा रहेछ।”
शिक्षकबाट ‘सिस्टम डेभलोपर’
२०४८ सालमा शिक्षण पेशा छोडेर औद्योगिक क्षेत्रतिर लागें। उद्योगमा काम गर्न थालें। उद्योगमा पनि मशिनरी पार्ट बनाउँथें।
त्यो कामले रोजीरोटी चलेकै थियो। तर, २०५५ सालमा मेरी श्रीमती बिरामी भइन्। नेपालमा उपचार हुन सकेन। उपचारका सिलसिलामै बेल्जियम गएँ। त्यहाँ उपचार गर्न लामै समय लाग्यो। अहिले पनि उपचार चलिरहेकै छ।
लामो समय बेल्जियममा बस्नुपर्ने बाध्यता भएपछि काम गर्ने योजना बनाए। सन् २००७ मा त्यहीं जापानी स्टोर खोलें। त्यहाँबाट जापानी सामान यूरोपका अन्य मुलुकमा सप्लाई हुन्थ्यो।
यसै क्रममा जापानीहरूसँग सम्बन्ध विस्तार भयो। जापानमा फोहोर प्रशोधनका विषयमा काम भइरहेको थियो। अझ प्लास्टिकको समस्या जताततै छ। प्लोस्टिक लगायतको फोहोर कसरी नियन्त्रण गर्ने? कसरी वातावरण जोगाउने भन्ने दिमागमा खेल्न थालेपछि फोहोर प्रशोधन गर्ने मशिनको निर्माण गर्ने सोच आयो। र, सन् २०१५ बाट यसमा काम गर्न थालें।
यसअघि जापानका इन्जिनीयरसँग धेरै कार्यशाला, सेमिनारमा सहभागी भएँ। कसरी प्लास्टिकलाई वातावरणमैत्री तरीकाले नष्ट गर्न सकिन्छ भन्नेमा जापानीसँग छलफल गरें।
जापानी टोली भारतसम्म आयो। अन्य धेरै देश पनि पुग्यो। त्यो टोलीमा म पनि थिएँ। धेरै छलफलपछि ‘रिसर्च एन्ड डेपलभमेन्ट’ (आरएनडी) मा जुट्यौं। हाम्रो टोलीमा यूरोप र एशियाका वैज्ञानिक पनि थिए।
त्यसअघि नै जापानमा बनेको मशिन हेर्यौं। थुप्रै चरणमा कामपछि फिलिपिन्सको सेफु टापुमा ‘आरएनडी’ गर्यौं। त्यही कामको पछिल्लो ‘अपडेट भर्सन’ मकवानपुरको मनहरीमा चलायौं। मनहरीबाट तीन वर्षअघि हेटौंडा सारेको हुँ।
मनहरीमा ५२ कट्ठा जग्गामा उद्योग थियो। यहाँ जग्गा मिलेन। त्यसैले खुम्च्याएर सात कट्ठामा राखेका छौं।
हेटौंडा आएपछि चार वटा मशिन विदेशमा बिक्री गरिसकें। हामीले जहाँ जहाँ आरएनडी गरेका थियौं, त्यहाँ बनाएका मशिन अहिलेसम्म चलिरहेकै छन्। तिनै मशिनको अपडेट भर्सन जापानमा बनाएका थियौं। अहिले हेटौंडामै बनिरहेका छन्।
नेपाल सरकार उद्योगीमैत्री छैन। बरु जापान सरकारले सहयोग गरिरहेको छ, त्यहाँका रेल स्टेशनमा सित्तैमा प्रचार गरिदिएको छ। यहाँ पो अनेक समस्या खेपेर काम गरिरहेका छौं। यहाँबाट विदेशमा बिक्री गर्न त पाइँदैन, पाटपुर्जा जापान लग्दा पनि अनेक झमेला आउँछन्, तर्साउँछन्, फसाउने जस्तो कुरा गर्छन्।