मान्छेलाई पो दुख्छ, ढुङ्गोलाई के दुख्छ!
पूर्व सचिव गोपी मैनालीको निबन्ध सङ्ग्रह ‘घाउ आफैंलाई दुख्छ’ का निबन्धले पक्का नेपालीपनको स्वाद पस्केको छ।
आफूलाई दुख्ने भनेको आफ्नै घाउ हो। आफ्नो कथा आफ्नो लागि विशेष हुन्छ। यिनै भावनामाथि कोरिएका निबन्धहरूको सङ्ग्रह हो, ‘घाउ आफैंलाई दुख्छ।’ गोपी मैनाली लिखित ३० निबन्ध समेटिएका सङ्ग्रहमा विचार र दर्शन, यात्रा र समाज लगायत विषयका निर्वन्ध अभिव्यक्ति छन्।
काभ्रेको रोशी खोला किनारको तिमाल गाउँमा जन्मिएका मैनाली साहित्यका शौखीन स्रष्टा हुन्। प्रशासनिक विषयका ज्ञाताका रूपमा चर्चित पूर्व सचिव मैनाली साहित्य लेखनमा पनि सक्रिय छन्।
२०७३ सालमा सेवानिवृत्त मैनालीका निबन्धमा आत्मपरक, वस्तुपरक र तथ्यपरक प्रस्तुति छन्। निजत्व, आत्मप्रकटीकरण, हार्दिकता उनको रचनाको जरा हुन् भने अनुभूतिका लहर, भावको सघनता, स्वच्छन्द तार्किकता लेखनका फलक झैं देखिएका छन्।
यसर्थ ‘घाउ आफैंलाई दुख्छ’ ले निर्धारण गरेको आधार र आयम बृहत् छ तर फलक भने व्यक्ति, संघर्ष र कर्म वरिपरि घुमेको छ। निबन्धको थप स्वाद कला र साहित्य रचनामा प्रस्फुटित भएको छ।
समाजलाई नियाल्ने क्रममा लेखकले भोगेको कुरा के हो भने व्यक्ति भ्रममा बाँच्दो रहेछ। ऊ अर्काको सपना र जीवनसँग ईर्ष्या गर्छ। फलानो जस्तो हुन पाए भन्ने कामना गर्छ। तर, सबैको आफ्नै कथा हुन्छ। निजत्व हुन्छ। पीडा र बह पनि आफ्नै हुन्छ। अन्तिम सत्य मृत्यु हो, जसका अगाडि मान्छेका कामना, इच्छा, आवेग अभिनय सरह हुन्।
त्यसैले आफ्नो कथा र आफ्नो जीवन आफूलाई विशेष लाग्ने हो। यही नै सत्य हो। बुद्धको ‘अप्प दीपो भवः’ जस्तै आफ्नो दीप आफैं बनेर यस भवसागरलाई तर्नुको विकल्प छैन। गीतामा पनि आफूले आफैंलाई बुझ्नुपर्ने तर्क छ।
अर्जुन त महाभारतको लडाइँ नलडी भाग्ने सुरमा थिए। उनमा युद्ध लड्ने सामर्थ्य थिएन। कृष्णले अर्जुनलाई स्वधर्मबारे सिकाए अनि आफ्नो कर्तव्यबोध गराउँदै आफैंलाई बुझ्ने बाटो सिकाए। आखिर मान्छेले गर्नुपर्ने सबैभन्दा प्रमुख काम भनेको आफूले आफैंलाई चिन्नु रहेछ।
बाल्यकालको स्मृति, जीवनका कथा, संघर्षका व्यथा सबैको हुन्छ। जो समाजमा दृष्टिमा सफल भएको भनिन्छ, मान्छे तिनकै कथा सुन्छ। लेखकको तर्क छ, नेपाली समाजको अन्तःप्रेरणा आर्थिक उन्नतिमा मात्र केन्द्रित हुँदै गएको छ। तसर्थ, आर्थिक सफलतालाई मात्र सफलता मान्ने गरिन्छ। यस सन्दर्भमा लेखकको विचार भिन्न छ।
उनको तर्क छ- मान्छे समाजको दृष्टिकोणको सापेक्षतामा सफल, असफल हुन सक्छ। प्रत्येकको ध्येय पवित्र हुनुपर्छ। उसले व्यक्तिगत लाभहानिभन्दा माथि उठेर जगत्को भलाइमा केन्द्रित हुनुपर्छ।
जीवन गतिमान् छ। जीवनलाई गति दिने एउटा तत्त्व हो, सपना। अल्बर्ट आइन्स्टाइन, ग्यालिलियो, एल्बा एडिसन, नेपोलियन बोनापार्ट लगायत महारथ प्राप्त व्यक्तित्वले शुरूमा सपना नै देखेका थिए। तिनले पहिला सपना देखे, अनि सपना पछ्याए।
लेखकले यस्तो तर्क गरिरहँदा शिक्षाकर्मी केन रोबिन्सनको झल्को आउँछ। रोबिन्सनले भनेका छन्, मान्छे जति पढ्दै जान्छ, समाज चिन्दै जान्छ र हुर्कंदै जान्छ, उसको सपना देख्ने क्षमतामा ह्रास आउँछ। हामी शिक्षाले ज्ञान प्राप्त गर्ने भन्छौं, तर सपना देख्न नसक्ने शिक्षाको के उपादेयता?
बुद्धको पहिलो आर्य सत्य पनि ‘जीवन दुःख छ’ भन्ने छ। यसलाई बोध गर्नुपर्छ। दुःखसँग दया माग्ने सफल हुँदैनन्। सपना देख्नु र सपनालाई विपना बनाउने संघर्ष नै जीवन हो। तर, जीवन विरोधाभासपूर्ण छ। यो सरल रेखामा हिंड्दैन। प्रत्येक परिणति अनिश्चित छ। भवितव्य अज्ञात छ। अनिश्चयले दिने अवसादमा मलम लगाउने काम कला साहित्यले गर्छ।
यसै फेरोमा उनिएका छन् सङ्ग्रहका निबन्ध। ‘अक्षर र म’ निबन्ध प्रत्येक नेपालीको कथा हो। जसमा बाल्यकालीन अक्षराम्भका प्रसङ्गलाई सारगर्भित तवरमा प्रस्तुत गर्दै अक्षरको महिमागान प्रस्तुत गरिएको छ। त्यस्तै, ‘महान् मानिस’ निबन्धमा महान् चिन्तन र व्यवहारले नै मानिसलाई महान् बनाउँछ भन्ने तथ्य उदाहरण सहित प्रस्तुत छ।
सङ्ग्रहमा समावेश ‘मृत्यु अझै मरेन’ शीर्षक निबन्धले जीवनको अन्तिम सत्य मृत्युबारे अनेक जिज्ञासालाई मृत्युको मृत्यु किन भएन भन्ने शाश्वत चिन्तनलाई मिठासपूर्ण काल्पनिकीमा प्रस्तुत गर्दै मानवीय अस्तित्वमाथिको चिन्तनलाई सघन बनाएको छ।
लामो समय सरकारी उच्च पदमा आसिन लेखकले ‘पदको मान्छे’ शीर्षकका निबन्धमा पद प्राप्तिपछि मान्छेमा एकाएक ओतप्रोत हुन पुग्ने दम्भमाथि प्रहार गरेका छन्। उनले पैसाले हासिल हुने पदवीहरूको उपादेयतामाथि प्रश्न उठाएका छन्। मान्छे पद पाएपछि दम्भी हुने हो कि उसमा पहिल्यैदेखि संस्कारजन्य स्वभावका कारण रहेको दम्भ पदप्राप्तिपछि प्रकट हुने हो भन्ने कुरा सोचनीय भएको तर्क उनको छ।
‘बाइसौं शताब्दीको मान्छे’ मा लेखकले विज्ञान र प्रविधिको चरम विकासबाट आगामी शताब्दीमा जेसुकै पनि सम्भव हुने तीव्र स्वरैकल्पनालाई अभिव्यक्तिको आधार बनाएका छन्। ‘झ्याउँकिरीले डाकेको दशैं’ मा उनले बाल्यकालीन दशैंको रोमाञ्चकतालाई संवेगपूर्ण अभिव्यक्तिले मुखरित पारेका छन्। सङ्ग्रहभरका निबन्धले पक्का नेपालीपनको स्वाद पस्केका छन्।