आज नामिबियासँग प्रतिस्पर्धा गर्दै नेपाल
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दै छ।
स्कटल्यान्डको भ्रमणमा रहेको नेपाली टोलीले आफ्नो तेस्रो खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र नामिबियाको खेला आज अपराह्न ३ः४५ बजे हुनेछ।
नेपालले स्कटल्यान्ड भ्रमणका क्रममा यसअघि भएका दुई खेलमध्ये एउटामा जित र एउटामा हार बेहोरेको छ। पहिलो खेलमा नामिबियासँग ४० रनले पराजित भएको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई पाँच विकेटले पराजित गरेको थियो।
नेपालले पछिल्लो पाँच खेलमा दुईमा जित, एउटा बराबरी र दुईमा हार बेहोरेको छ। त्यस्तै, नामिबियाले पछिल्लो पाँच खेलमा दुईमा जित र तीनमा हार बेहोरेको छ।
लिग-२ अङ्कतालिकामा पनि नेपाल माथि छ। नेपाल १८ खेलमा १७ अङ्क बटुलेर पाँचौं नम्बरमा छ भने नामिबिया १७ खेलमा १६ अङ्क बटुलेर छैटौं नम्बरमा छ।
अहिलेसम्म ओमन ३६ खेलमा ४४ अङ्क जोडेर अङ्कतालिकाको शीर्षस्थानमा छ भने पपुवा न्यूगिनी २० खेलमा दुई अङ्क जोडेर पुछारमा छ। यसको शीर्ष तीनमा रहेका टोली सन् २०२३ को विश्वकप छनोट खेल्न पाउनेछन्।