एआईजी विश्वराज पोखरेलको रिट खारेज
सर्वोच्च अदालतले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको रिट खारेज गरेको छ। योसँगै प्रहरी महानिरीक्षक नियुक्ति सम्बन्धी विवाद टुङ्गिएको छ।
सरकारले धीरजप्रताप सिंहलाई महानिरीक्षक नियुक्त गरेपछि एआईजी पोखरेल सर्वोच्च अदालत पुगेका थिए। शुक्रबार उनको रिटमाथि भएको सुनुवाइपछि कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले पोखरेलको रिट खारेज गरेको हो।
सरकारले आफूभन्दा जुनियरलाई आईजीपी नियुक्त गरेको भन्दै पोखरेलले वैशाख १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए। सरकारको निर्णय बदर गरी आफूलाई आईजीपी नियुक्तिको आदेश माग गरेका थिए। तर, सर्वोच्चले त्यस्तो आदेश दिन अस्वीकार गरेको छ।
सिंह आईजीपी नियुक्त भएसँगै पोखरेल बिदामा बसेका थिए। उनले साउन २० गते अनिवार्य अवकाश पाउँदै छन्।
त्यस्तै, सर्वोच्चले पोखरेल विरुद्ध परेको तीन वटा रिटलाई पनि खारेज गरेको छ। पोखरेल डीआईजीबाट एआईजी हुँदा जुनियरलाई बनाएको भन्दै तत्कालीन डीआईजी घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले रिट दायर गरेका थिए।
उनीहरूले पनि जुनियरलाई एआईजी बनाएकाले सरकारको निर्णय बदर गर्न माग गरेका थिए। आज सर्वोच्चले तीनै जनाको रिट पनि खारेज गरेको छ।