किन गुणस्तरीय भएन स्वास्थ्य क्षेत्र?
स्वास्थ्य क्षेत्र गुणस्तरीय हुन नसक्नुमा निजी संस्थाको नाफाखोरी प्रवृत्ति र सरकारी सेवाको व्यवस्थापकीय कमजोरी मुख्य कारण हुन्।
म नब्बेको दशकमा स्वास्थ्य व्यवस्थापन पढेर निजी क्षेत्रबाट स्वास्थ्य सेवामा लागें। सरकारले भर्खरै उदार आर्थिक नीति अवलम्बन गर्दै चिकित्सामा निजी अभ्यासको बाटो खोलेको थियो। त्यति वेला धेरैजसो सरसफाइको कमीले हुने र सरुवा रोग जनस्वास्थ्यका चुनौती थिए। अस्पताल धेरै थिएनन्। साधारण बाहेकका सेवा लिन ग्रामीण भेगबाट काठमाडौं नै आउनुपर्थ्यो।
त्यसयता स्वास्थ्य क्षेत्रमा क्रमिक सुधार नभएको होइन। बिस्तारै काठमाडौं र अन्य ठूला शहरी क्षेत्र बाहिर पनि निजी स्वास्थ्य संस्था खुल्न थाले। सरकारी सेवा विस्तार हुँदै गयो। आवश्यक जनशक्ति उत्पादनका लागि मेडिकल कलेज र अन्य शैक्षिक संस्था खुल्दै गए। भरपर्दो उपचार र निदानले आधुनिक चिकित्सामा बिरामीको विश्वास बढ्दै गयो। उपचारकै लागि भारत वा अन्य देश जानेको सङ्ख्या घट्यो।
जुनसुकै क्षेत्रमा सेवासँगै गुणस्तर पनि बढ्नु जरुरी हुन्छ। स्वास्थ्यमा त गुणस्तर मार्गनिर्देशक नै हुनुपर्नेमा दुई मत नहोला। तर, स्वास्थ्यमा निजी क्षेत्रको प्रवेश तीन दशक नाघ्दा पनि गुणस्तर नबढेको बिरामीहरूकै अनुभवले देखाउँछ। व्यवस्थापकीय कमजोरीले गर्दा सेवाग्राहीले पैसा र समय खर्चिंदा पनि चित्तबुझ्दो सेवा पाएका छैनन्।
व्यक्तिले स्वास्थ्य सेवा लिन नसक्नुमा अनेक कारण हुन्छन्। आर्थिक रूपमा कमजोर व्यक्ति पैसा नभएकैले स्वास्थ्य सेवाबाट वञ्चित हुन्छन्। यी र यस्ता पक्षलाई सामाजिक निर्धारक पनि भनिन्छ जुन कतिपय अदृश्य हुन्छन् त कति सजिलै औंल्याउन सकिन्छ। कतिपय बिरामी चाहिं आफ्नै लापरवाहीले अस्वस्थ रहन्छन्। यिनमा खास गरी चिकित्सकको निर्देशन पूर्ण पालना नगर्ने दीर्घरोगीहरू पर्छन्।
तथ्याङ्कले नेपालमा जनसङ्ख्या वृद्धिदर घटेको र औसत आयु बढेको देखाउँछ। अर्थात्, अन्य विकसित देशमा जस्तै नेपाली समाज पनि बूढो हुँदै गएको छ।
‘आर्थ्राइटिस’ ले गर्दा मैले पनि विगतका दुई-तीन महीना अस्वस्थताबाट गुज्रनुपर्यो। यसले शरीर सुन्निनु, दुख्नुका साथै दैनिक गतिविधिमै अवरोध पुर्याएर मानसिक असर पनि दिन्छ। उपचार क्रममा नियमित प्याथोलोजी परीक्षण साथै चिकित्सकको निर्देशनमा बस्नुपर्छ। अरू दीर्घकालीन समस्या जस्तै आर्थ्राइटिस पनि परहेजमा बसे सामान्य अवस्थामा फर्कन्छ।
नेपालमा केही रोगका विशेषज्ञ चिकित्सकको अत्यन्त कमी छ। बाथरोग विशेषज्ञले हेर्ने आर्थ्राइटिसमा पनि बिरामीको सङ्ख्या बढिरहँदा चिकित्सक थोरै छन्। बाथरोगले ज्येष्ठ नागरिकलाई अझ बढी सताउँछ। तथ्याङ्कले नेपालमा जनसङ्ख्या वृद्धिदर घटेको र औसत आयु बढेको देखाउँछ। अर्थात्, अन्य विकसित देशमा जस्तै नेपाली समाज पनि बूढो हुँदै गएको छ।
सरकारले ज्येष्ठ नागरिकलाई भत्तासँगै अस्पतालमा उनीहरूको वार्ड या छुट्टै अस्पताल बनाउने योजना ल्याइरहे पनि स्वास्थ्य सेवामा सबैको पहुँच सहज बनाउन आवश्यक दरबन्दी नै खोलेको छैन। बुढ्यौली सम्बन्धी रोगका विशेषज्ञको पनि अभाव छ।
म आफैं दक्ष विशेषज्ञको खोजीमा काठमाडौंको पुरानो र प्रतिष्ठित निजी अस्पताल पुगें। शुरूमा दुई दिनको पर्खाइ र त्यसपछि आखिरी रिपोर्ट देखाउन दुई घण्टा पर्खंदा पनि पालो नआएपछि हरेस खाएर फर्किएँ। बरु सरकारी अस्पतालमै सेवा लिन्छु भनेर केही दिन चक्कर लगाएँ। मोबाइलको एपबाटै समय लिन सकिने विज्ञापन गरिएको अस्पतालमा सर्भर कनेक्ट नै नभएपछि त्यो बाटो पनि मोडियो।
साधारणतया स्वास्थ्यका सामाजिक निर्धारक भन्नाले मानिसको ज्ञान, आर्थिक हैसियत, सेवा केन्द्रसम्म पहुँच जस्ता विषय बुझिन्छन्। मेरो हकमा यस्ता कुनै तगारा थिएनन्। आफ्नो समस्याबारे थाहा भएरै सम्बद्ध क्षेत्रको चिकित्सक पत्ता लगाउन सकें। आवश्यक परीक्षण गर्न आर्थिक कठिनाइ पनि थिएन। न त पहुँच मुश्किल थियो। तर, निजी अस्पताल पुग्दा पनि समस्या हल भएन। यसबाट नब्बेको दशकमा शुरू भएको निजी स्वास्थ्य सेवाले पनि प्रगति गर्न नसकेको देखिन्छ।
अस्पतालमा अनावश्यक भीड थुप्रनु भनेको अस्पतालले बिरामीको समय व्यवस्थापन गर्न नसक्नु हो।
केही संरचना बाहेक अपोइन्टमेन्ट व्यवस्थापन, बिरामीलाई डाक्टरसम्म पुर्याउने तरीका अझ पुरानै शैलीका छन्। डाक्टरको कोठा बाहिरको घुइँचो र गोपनीयतामा गरिँदै आएको बेवास्ता उस्तै छ। न त स्वास्थ्यकर्मीको बोल्ने शैली सुधारिएको छ। जबकि, विश्वमा गरिएका थुप्रै अध्ययनले स्वास्थ्यकर्मीको बोली-व्यवहारले नै बिरामीलाई आराम मिलेको निष्कर्ष निकालेका छन्।
यस्ता समस्या निराकरणका उपाय के हुन् त? सरकारी/गैरसरकारी संस्थादेखि स्वास्थ्यकर्मीसम्मले चिकित्सा विज्ञानमा आएका प्राविधिक र अन्य परिवर्तनसँगै आफूलाई सुधार्नुपर्छ। सरकारका नीति-योजनाले यो यथार्थलाई वेलैमा नसमेटे हाम्रो स्वास्थ्य सेवा सधैं पछाडि परिरहनेछ।
स्वास्थ्य सेवामा व्यवस्थापनसँगै सूचना प्रविधि व्यापक पारिए अधिकांश सेवाग्राहीले भोग्दै आएको कष्ट सहजै निर्मूल हुन्छ। बिरामीको समय व्यवस्थापनमा होस् वा रेकर्ड राख्न, सरकारी र निजी दुवै क्षेत्रले प्रविधिको पूर्ण प्रयोग गर्नुपर्छ। अस्पतालमा अनावश्यक भीड थुप्रनु भनेको अस्पतालले बिरामीको समय व्यवस्थापन गर्न नसक्नु हो।
सरकारले अस्पतालहरूको अनुगमन गर्दा बिरामीले भोगेको कष्ट र लाग्ने समय पनि समावेश गरिनुपर्छ। सरकारले विस्तार हुँदै गएको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राखी जनशक्ति व्यवस्थापनमा पनि ढिलाइ गर्न हुँदैन।
(प्याकुरेल चिकित्सा समाजशास्त्री हुन्। हिमालको २०७९ असार अंकमा ‘अब त सुध्र!’ शीर्षकमा प्रकाशित।)