उपसभामुखको चुनाव हुँदै, भुसाल र भट्टराई प्रतिस्पर्धामा
लामो समयदेखि रिक्त उपसभामुख पदका लागि आज प्रतिनिधि सभामा निर्वाचन हुँदै छ।
संघीय संसद् सचिवालयले आज दिउँसो ३ बजे उपसभामुखका लागि मतदान गर्ने कार्यसूची तय गरेको छ। उपसभामुखका लागि बिहीबार मनोनयन दर्ताको समय तोकिएको थियो।
उपसभामुखका लागि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद विद्या भट्टराई उम्मेदवार बनेका छन्। दुवै जनाले बिहीबार मनोनयन दर्ता गरेका थिए।
भुसालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र)का सांसद देवप्रसाद गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी)की सांसद लक्ष्मीकुमारी चौधरी छन्। त्यस्तै, भट्टराईको प्रस्तावकमा एमाले सांसद शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल छन्।
सत्तारूढ गठबन्धनबाट भुसाल उपसभामुख हुने लगभग निश्चित छ। उनको पक्षमा बहुमत सांसद छन्।
प्रतिनिधि सभाका २७५ मध्ये अहिले २७१ सांसद छन्। जसमा कांग्रेसका ६१, माओवादीका ४९, एकीकृत समाजवादीका २३, जनता समाजवादी पार्टी (जसपा)का २० र राष्ट्रिय जनमोर्चाका एक सांसद छन्। त्यस्तै, एमालेका ९८ सांसद छन् भने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का १३ सांसद छन्।
प्रतिनिधि सभाको नियमावली अनुसार, उपसभामुखमा निर्वाचित हुन तत्काल कायम रहेका सांसदको बहुमत आवश्यक पर्छ। अहिले कायम रहेका २७१ सांसदको बहुमत १३६ हुन्छ। सत्तारूढ गठबन्धनमा रहेका पाँच दलका सांसदको सङ्ख्या १५४ छ।
२०७४ सालमा भएको चुनावमा एमालेकी शिवमाया तुम्बाहाङ्फे उपसभामुख निर्वाचित भएकी थिइन्। तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि नयाँ सभामुख चयन गर्दा तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन्।
संवैधानिक व्यवस्था अनुसार, सभामुख र उपसभामुख एउटै पार्टीको नहुने व्यवस्था छ। त्यति वेला एमाले र माओवादी एकीकृत भएर बनेको नेकपाबाट अग्निप्रसाद सापकोटा सभामुख निर्वाचित भएका थिए। उपसभामुखको पद रिक्त रहेको थियो।