बागमती नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
रौतहटस्थित बागमती नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई बालकको शव फेला परेको छ।
दुर्गा भगवती गाउँपालिका-३ मत्सरीका मनोज झाका १३ वर्षीय छोरा हर्ष र वडा नं २ भलोहियाका गोवरी दासका नाति १३ वर्षीय आदित्यको डुबेर मृत्यु भएको हो।
हर्ष र आदित्य सहित ६ जना बिहीबार बिहान ७ बजे नदीमा नुहाउन गएका थिए। उनीहरू घर नफर्किएपछि अभिभावकले खोजतलास गर्दा नदी किनारमा लुगा, पाठ्यपुस्तक, साइकल, चप्पल फेला परेका थिए। त्यसपछि बिहीबार ११ बजेदेखि स्थानीय‚ सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले खोजतलास शुरू गरेका थिए।
रातिसम्म नभेटेपछि खोजी कार्य रोकेका थिए। शुक्रबार बिहानैदेखि पुनः खोजी गर्दा दुर्गा भगवती-३ स्थित नदी किनारमा आदित्यको र वडा नं ५ बडहर्वा नजिक निर्माणाधीन पुल छेउ हर्षको शव फेला परेको रौतहट प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका जिल्ला अस्पताल गौर लैजाने तयारी भएको प्रहरीले जनाएको छ।