मधेशको मुद्दा कमजोर बनाउन बाबुरामले पार्टी फुटाउन खोजेः उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेशको मुद्दालाई कमजोर बनाउन बाबुराम भट्टराई लागिपरेको आरोप लगाएका छन्।
वीरगञ्जमा सम्पन्न केन्द्रीय समिति बैठकबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा यादवले पार्टी विभाजन गरी मधेशको मुद्दा कमजोर बनाउन भट्टराई लागेको बताएका हुन्। तर‚ पार्टी विभाजनका लागि आवश्यक सङ्ख्या नपुगेर उनी आफैं परास्त भएको यादवको दाबी छ।
अध्यक्ष यादवले आफूहरूले निषेधको राजनीति नगरेको बताउँदै भट्टराई कमजोरी सच्याएर आए अहिले पनि ढोकामा ताल्चा नलगाएको बताए। यद्यपि‚ केही व्यक्ति चोइटिएर गए यसले पार्टीलाई खसै प्रभाव नपर्ने पनि यादवले बताए।
भट्टराई समूहले कतिपय नेता तथा कार्यकर्ताहरूलाई गुमराहमा राखेर काठमाडौं आयोगित भेलामा सहभागी गराएकाले ती नेता तथा कार्यकर्ताहरू मूलधारमा फर्किने यादवले दाबी गरे। उनले पार्टीको विधानमा संघीय परिषद् अध्यक्षलाई पार्टीका बैठक बोलाउने अधिकार नदिएको बताउँदै भट्टराईले बैठक बोलाएर विधान विपरीत काम गरेको जिकिर गरे।
वीरगञ्जमा सम्पन्न बैठकले नयाँ राजनीतिक शक्तिका रूपमा पार्टीलाई अगाडि बढाउन ऊर्जा प्रदान गरेको अध्यक्ष यादवले बताए। आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एक्लै वा गठबन्धन दुवै तरीकाले जान सक्ने उनको भनाइ छ। यद्यपि अहिलेको परिस्थितिमा गठबन्धन भएरै निर्वाचनमा जाँदा राम्रो हुने यादवले बताए।
संघीय परिषद् अध्यक्ष अशोक राईले वीरगञ्जको बैठकले पार्टी विभाजन गर्ने मानसिकतालाई गतिलो जवाफ दिएको बताए।