बाबुराम भट्टराई सहित जसपाका नौ नेतालाई कारबाही
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई सहित नौ नेतालाई कारबाही गरेको छ।
वीरगञ्जमा जारी जसपा केन्द्रीय समितिको बैठकले संघीय परिषद् अध्यक्ष भट्टराई सहित नौ नेतालाई सबै पदबाट मुक्त गर्ने निर्णय गरेको हो। संघीय परिषद् अध्यक्ष भट्टराई पार्टी विभाजन गर्ने गतिविधिमा लागेको भन्दै अध्यक्ष यादवले प्रस्तुत गरेको प्रस्तावलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ।
भट्टराईसँगै हिसिला यमी, महेन्द्र राय यादव, रमेश यादव, प्रशान्त सिंह, दुर्गा सोब, गंगानारायण श्रेष्ठ, भक्तबहादुर शाह र दानबहादुर चौधरीलाई जसपाका सबै जिम्मेवारीबाट हटाएको हो। पार्टी विरोधी कार्य गर्दै समानान्तर भेला गरेकाले जिम्मेवारीबाट मुक्त गरिएको जसपाका एक जना केन्द्रीय सदस्यले बताए।
जसपाको वीरगञ्ज बैठकले विधान पनि संशोधन गरेको छ। दुई अध्यक्ष रहने व्यवस्थालाई संशोधन गरेर एकल अध्यक्ष रहने व्यवस्था गरेको छ।