पढ्नै पाउँदैनन् हाम्रा ‘हेलन केलर’
सुन्न र देख्न नसक्ने हेलन केलर राम्रो शिक्षा पाएर चर्चित लेखक बनिन्, तर नेपालमा भने श्रवण दृष्टिविहीन बालबालिकाले पढ्नै पाएका छैनन्।
कक्षाकोठाको भुईंमा केही विद्यार्थी लडिबुडी गरिरहेका छन्। केही कक्षाकोठाको भित्ता छामेर टोलाइरहेका छन्। केही सरसामान ओल्टाइपल्टाइ रहेका छन्। शिक्षक पनि उनीहरूलाई नियाली रहेका छन्, चुपचाप।
प्रायः कक्षाकोठा भन्ने बितिक्कै बेन्च वा कुर्सीमा विद्यार्थी लहरै बसेका, अघिल्लोतिर उभिएर शिक्षकले पढाइरहेको दृश्य आउँछ। तर, काठमाडौंको पुरानो बानेश्वरस्थित ‘श्रवण दृष्टिविहीन डे केयर सेन्टर’ को कक्षाकोठाको दृश्य भने बेग्लै छ। यहाँ कोही पढ्ने र पढाउने भन्ने हुँदैन, सिक्ने र सिकाउने हुन्छ, त्यो पनि बोलेर र लेखेर होइन, छामेर।
बहिरा दृष्टिविहीन अभिभावक समाजले सञ्चालन गरेको सेन्टरमा ३२ विद्यार्थी र दुई शिक्षक छन्। सबै विद्यार्थी न सुन्छन न त देख्न। श्रवण दृष्टिविहीन यी विद्यार्थीलाई स्पर्श गरेरै सिकाउनुपर्छ। “हातका औंला चलाएर, पाखुरा र अनुहारमा छोएर दैनिक क्रियाकलाप सिकाउनुपर्छ,” शिक्षक करुणा महर्जन भन्छिन्।
संकेत देखाउन आँखा नदेख्ने र बोलेर बुझाउन कान नसुन्ने भएकाले उनीहरूको दिमागमा शब्द र चित्रको कल्पनासम्म नहुने गरेको अर्की शिक्षक शैलु खरेल बताउँछिन्। “दिमागमा शब्द र चित्रको संयोजन नभएकाले बोल्न पनि सक्दैनन्,” खरेल भन्छिन्।
यो सेन्टरमा मात्रै होइन, देशभरि नै श्रवण दृष्टिविहीन बालबालिकालाई पढाउने दुइटा मात्रै शिक्षक हुन्, करुणा र शैलु। अझ सरकारी तवरमा त यस्ता बालबालिकालाई पढाउने कुनै व्यवस्था छैन। अभिभावकको पहलमा सञ्चालन भइरहेको यस सेन्टरमा श्रवण दृष्टिविहीनलाई पठनपाठन गरिरहेका उनीहरू बालबालिकासँगै रमाइरहेका छन्।
करुणा र शैलुले भारतको मुम्बईस्थित ‘हेलेन केलर इन्स्टिच्युट फर डेफ एन्ड डेफब्लाइन्ड’ मा दुई वर्ष अध्ययन गरेका हुन्। सात वर्षअघि अध्ययन गरेर आएका उनीहरू बहिरा दृष्टिविहीन बालबालिकालाई नयाँ जीवन दिइरहेका छन्। तर, नयाँ शिक्षक नआएकोमा भने उनीहरूलाई चिन्ता लाग्छ। “शिक्षक कम भएकाले तालिम, प्रशिक्षण, सभा, गोष्ठी सबै भ्याउनुपर्छ,” करुणा भन्छिन्।
राज्यले श्रवण दृष्टिविहीन बालबालिकाप्रति ध्यान नदिएकाले शिक्षक बढ्न नसकेको शैलुको बुझाइ छ। यहाँ मात्रै ३२ विद्यार्थी भर्ना भएका छन्। देशका सबै जिल्लामा यस्ता बालबालिका छन्। सरकारले वास्ता नगरेको बताउँदै शैलु भन्छिन्, “सरकारले अपाङ्गता भएका व्यक्ति सक्षम हुनै सक्दैनन् भन्ने गलत मान्यता बोकेर काम गर्नुभन्दा पहिल्यै हात उठाएको देखिन्छ।”
शैलुले भनेजस्तै सरकारले श्रवण दृष्टिविहीन बालबालिकाप्रति बेवास्ता गरेको छ। उनीहरूले अध्ययन गर्ने स्रोत कक्षा वा विशेष विद्यालय स्थापना गर्नतिर ध्यान दिएको छैन। यी बालबालिकालाई पढाउने ‘डेफब्लाइन्डड’ विषय अध्ययन गरेका शिक्षक देशभर दुई जना मात्रै छन्। “केही जिल्लामा तालिम लिएका शिक्षक त छन्, तर केही दिनको तालिमले मात्रै पुग्दैन,” करुणा भन्छिन्, “महीना दिनको तालिमले कान नसुन्ने र आँखा नदेख्ने बालबालिकालाई सिकाउन सक्षम बनाउँदैन तर अहिले विकल्प पनि छैन।”
दुवै जनाको पृष्ठभूमि शिक्षण पेशा नै हो। त्यसले पनि यी बालबालिकालाई पढाउन सहयोग पुगेको उनीहरूको भनाइ छ। अझ करुणाले त भारतमा अध्ययन गर्नुअघि पनि तालिमकै आधारमा श्रवण दृष्टिविहीन बालबालिकालाई पढाएकी थिइन्।
त्यस्तै‚ शैलुले पनि काठमाडौंको ‘अंकुर फाउन्डेशन फर इन्क्लुसिभ एजुकेशन’ संस्थामा स्वयंसेवका रुपमा श्रवण दृष्टिविहीन बालबालिकाको हेरचाह गरेकी थिइन्। तालिमबाट प्राप्त ज्ञानले मात्रै श्रवण दृष्टिविहीन बालबालिकालाई सक्षम बनाउन नसक्ने बुझेपछि थप अध्ययन गर्न भारत पुगेको उनी बताउँछिन्। “नेपालमा त यो विषय नै थिएन। भारतमा पनि त्यसवेलासम्म नेपालबाट अध्ययन गर्न कोही गएका रहेनछन्,” उनी सम्झिन्छन्।
यी बालबालिकालाई पढाउन दक्ष भएर मात्रै नपुग्ने उनको अनुभव छ। अध्ययनसँगै सेवाभाव र धैर्यता चाहिने उनी बताउँछिन्। उनीहरू छामेर, सुँधेर र चाखेर मात्र वस्तुको पहिचान गर्छन्। कति बालबालिकालाई उभिन, अडिन, पाइला चाल्न समेत मुस्किल हुन्छ। “दिसापिसाब गर्न सिकाउनेदेखि हिंड्डुल गराउनै एक वर्षसम्म लाग्न सक्छ,” शैलु भन्छिन्।
करुणा पनि यी बालबालिकालाई पढाउन धर्यसँगै मानसिक रुपमा शान्त पनि हुनुपर्ने बताउँछिन्। यति हुँदाहुँदै पनि पेशागत सुरक्षा नहुँदा भने तनाव हुने गरेको उनी सुनाउँछिन्। “यो संस्था बन्द भयो भने हामीले घरमै बस्नुपर्छ,” उनी भन्छिन्, “सरकारको त कुनै अध्ययन गराउने वा तालिम दिने संस्था पनि छैन।”
यो संस्था बन्द हुन्छ कि भन्ने चिन्ता शिक्षकलाई मात्रै होइन, अभिभावकलाई पनि छ। यस्ता बालबालिकालाई अध्ययन गराउने अर्को संस्था नहुँदा कहाँ पढाउने भनेर चिन्ता लाग्ने गरेको अभिभावक पनि बताउँछन्।
यस्ता बालबालिकालाई पढाउन चुनौती पनि छ। उनीहरूलाई अध्यापन गराउने दुई वटा माध्यम छन्, ‘फाइन मोटर’ (औंलाले गर्ने मसिनो काम) र ‘ग्रस मोटर’ (पूरा शरीर छोएर सिकाइने) विधि। यी बाहेक अन्य विधि सिकाइका लागि प्रभावकारी हुँदैनन्। यी विधि भने निरन्तरतासँग जोडिएका छन्। केही दिन पनि पढाइ रोकिँदा बालबालिकाले सबै बिर्सिन्छन्, फेरि शून्यबाटै सिकाउनुपर्छ।
ललितपुरको सुनाकोटीकी विधता थापा (१२) लाई यस्तै कठिनाइ आयो। केही वर्षअघि यो सेन्टर बन्दा हुँदा उनले सिकेको बिर्सिइन्। घरमा निस्किन समेत पाइनन्। “आफैं हिंड्न, संकेत दिन पनि सिकिसकेकी थिई। संस्था बन्द हुँदा सबै बिर्सिई,” विधाताकी आमा विमला भन्छिन्।
त्यसैले यो संस्थालाई बन्द हुन नदिन सरकारले सघाउनुपर्ने उनको भनाइ छ। यससँगै सरकारी तवरबाट श्रवण दृष्टिविहीन बालबालिकालाई पठनपाठन गर्ने व्यवस्था गर्नुपर्ने उनको आग्रह छ। “अब सरकारले पनि विद्यालय खोल्नुपर्छ। अपाङ्गता हुँदैमा शिक्षाको अधिकारबाट बालबालिकालाई बञ्चित गराउनु हुँदैन,” विमला भन्छिन्।
यसका लागि प्रयास भइरहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रको समावेशी शिक्षा शाखाकी निर्देशक दिव्या दवाडी बताउँछिन्। श्रवण दृष्टिविहीन विद्यार्थीका लागि स्रोतकक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयमा प्रस्ताव गरिएको उनले बताइन्। “श्रवण दृष्टिविहीन बालबालिकाको बारेमा सोचेका छौंं। शिक्षक पनि बढाउन प्रयास गर्नेछौं,” उनी भन्छिन्।
स्रोत विकास केन्द्रले स्रोतकक्षा सञ्चालन गर्न प्रस्ताव गरे पनि देशभर यस्ता कति बालबालिका छन् भन्ने तथ्यांक छैन। देशभर श्रवण दृष्टिविहीन बालबालिकालाई तालिम दिँदै आएको अभिभावक समाजका अनुसार सबै जिल्लामा यस्ता बालबालिका छन्। एउटा जिल्लामा कम्तिमा २५ जना बालबालिका भेटिएको समाजका अध्यक्ष लाक्पा नुरु शेर्पा बताउँछन्। “तर, सबै बालबालिकालाई तालिम दिने संस्थाको क्षमता नहुँदा चार जिल्लामा मात्रै काम गरिरहेका छौं,” अध्यक्ष शेर्पा भन्छन्।
दुई शिक्षकको भर
नेपालमा देख्न र सुन्न नसक्ने बालबालिकालाई पठनपाठनको व्यवस्था नगरिएकोमा शिक्षक करुणा र शैलु आक्रोष पोख्छिन्। उनीहरू अमेरिकी लेखिका हेलन केलरको उदारहण दिन्छन्। “श्रवण दृष्टिविहीन भएकी केलरलाई हाम्रो सरकारले जस्तै शिक्षा दिन वेवास्ता गरेको भए के उनी सफल हुन्थिन?,” उनीहरू प्रश्न गर्छिन्।
केलरको सिकाइमा अवरोध आएको भए नेपालका विभिन्न जिल्लामा श्रवण दृष्टिविहीन बालबालिकाझै गुमनाम हुने शिक्षक शैलुको भनाइ छ। “श्रवण दृष्टिविहीनलाई त मान्छे नै नगन्ने समाज छ। सरकारको प्राथमिकतामा नपर्नु पनि त्यही मानसिकता हो जस्तो लाग्छ,” शैलु भन्छिन्, “हाम्रा हेलन केलरहरूले त पढ्न नै पाएका छैनन्।”
उनका अनुसार एक श्रवण दृष्टिविहीन बालबालिकाका लागि एक शिक्षक आवश्यक पर्छ। तर, नेपालमा शिक्षककै अभावका कारण उनीहरू २० जनासम्म बालबालिकालाई एकै कक्षाकोठामा राखेर पढाइरहेका छन्।
राम्रोसँग पढाउन सके उनीहरू सफल बन्न सक्ने उनको विश्वास छ। निरन्तरको सिकाइले केही बालबालिका आत्मनिर्भर बनेको उनी बताउँछिन्। त्यसकैको एउटा उदारहण हुन् सविना तामाङ (१७)। जन्मदै आँखा नदेख्ने र कान सुन्न नसक्ने उनी १४ वर्षको उमेरसम्म ओछ्यानमै सीमित थिइन्।
दुई वर्षमा शिक्षक शैलु र करुणाको सहजीकरणले सविना दाँत माझ्न, शौचालय जान, लुगा धुन, तरकारी काट्न र पकाउन, गणना गर्न सक्षम भएकी छन्। “हेर्न अन्धकार र सुन्न सन्नटाको कल्पनासम्म गर्दा मन आत्तिन्छ भने उनीहरूलाई छोएर सिकाउँदा कति डराउँछन् होला? त्यसैले सही तरिकाले उठ–बस गर्नु पनि ठूलो उपलब्धि हो,” करुणा भन्छिन्।
अर्को बालबालिकाको सिकाइको मापनले शिक्षकलाई हौसला थपेको छ। शैलु र करुणाको निर्देशनमा संस्थाले आफ्नै कोर्ष बनाएको छ। जहाँ प्रत्येक वर्ष बालबालिकाको सिक्ने कुराको निश्चित लक्ष्य हुन्छ। प्रत्येक महीनाको प्रगति विवरण अनुसार उनीहरूको सिकाइको मापन गरिन्छ। जस्तैः सविना तामाङले पहिलो महीना औला चलाउन, सामान समाउन सिकिन्। त्यसपछि शौचालय गर्न, खाना खान, अंक गणना गर्न लगायतका काम सिकेकी छन्।
यसपछि भने सुन्न नसक्नेको सांकेतिक भाषा र दृष्टिविहीनको ब्रेललिपिबाट अध्ययन गराए जस्तो उनीहरूमा सम्भव छैन। राज्यले पनि यी बालबालिकाका लागि अध्ययन प्रणाली वा कोर्षको विकास गरेको छैन। सुन्न र हेर्न नसके पनि यी बालबालिकाको सबैभन्दा ठूलो विशेषता छैटौं इन्द्रीय बढी सक्रिय हुने रहेको शैलुको अनुभव छ। “उनीहरू सिकाएको कुरा ढिलो बुझे पनि त्यसलाई मनन चाँडै गर्न सक्छन्,” उनी भन्छिन्।
सरकारी बेवास्ता, अभिभावकको पहल
करीब १७ वर्षअघिको कुरा हो, श्रवण दृष्टिविहीन बालबालिकाका अभिभावक एकजुट भए। उनीहरूले आफ्ना बालबालिकालाई सामान्य क्रियाकलाप सिकाउने निधो गरे। त्यसका लागि संस्था श्रवण दृष्टिविहीन अभिभावक समूह खोले। शुरुआतमा नौ जना बालबालिका रहेको संस्थाकाे संस्थापक अध्यक्ष मीना शाही थिइन् । वर्तमानअध्यक्ष लाक्पा नुरु शेर्पा भन्छन, “सरकारले नबुझेपछि आफैं आफ्ना सन्तानको भविष्यका लागि काम गर्ने निधो गर्यौं।”
त्यतिवेला अपाङ्गता भएका व्यक्तिको शिक्षा कमै प्राथमिकता थियो। त्यसमा पनि श्रवण दृष्टिविहीन बालबालिकाको सरकारले पहिचान समेत नगरेको श्रवण दृष्टिविहीन अधिकारकर्मी शंखर चौसर बताउँछन्। काठमाडौं उपत्यकामै त्यस्ता बालबालिका भए पनि अध्ययनको व्यवस्था नभएको उती बताउँछन्।
अभिभावकले शुरुआत गरे पनि लामो समय निरन्तरता दिन सकेनन्। “हामीले धान्न नसकेर पढाइ बन्द पनि भयो,” अध्यक्ष शेर्पा भन्छन्, “सन्तानको मुख हेरेर दुःख गरेर भए पनि निरन्तरता दिने प्रयास गरिरहेका छौं।”
अध्यक्ष शेर्पाको छोरा १३ वर्षीय साइन पनि श्रवण दृष्टिविहीन हुन्। बिहान उज्यालो भएदेखि राति ननिदाउन्जेल एक जना हेरचाह गर्ने साथी चाहिन्छ। “कहिले काहीं न दिन न रात, सुत्नै सक्दैन। चिच्याउने र रुने मात्र गर्छ,” छोराको दैनिकी सुनाउँदै उनी भन्छन्, “निरन्तर सिक्न पायो भने बुझ्ने होला कि!”
संविधानले सबै बालबालिकालाई शिक्षाको अधिकारको ग्यारेन्टी गरेको भए पनि सरकारले वास्ता नगरेको अभिभावकको गुनासो छ। शिक्षाको अवसर नपाउँदा उनीहरू दैनिक क्रियाकलाप सिक्नबाट पनि बञ्चित छन्। जसले गर्दा उनीहरूको सामाजिक, सांस्कृतिक अधिकारबाट पनि बञ्चित हुनुपरेको अध्यक्ष शेर्पाको भनाइ छ।
यस्ता बालबालिकालाई दैनिक कुनै पनि क्रियाकलापमा सामेल नगराउँदा थप शिथिल र आक्रमक पनि बन्न सक्छन्। तर, आर्थिक अभावका कारण कम तलबमा शिक्षक राख्नु परिरहेको उनको गुनासो छ। अझै थोरै बालबालिकालाई मात्रै सिकाइमा सामेल गर्नु परिरहेको उनी बताउँछन्। “बालबालिकाका लागि आमाबुवालाई जस्तै चिन्ता सरकारलाई पनि हुनुपर्ने हो तर त्यस्तो छैन,” शेर्पा भन्छन्, “राज्यले थोरै पनि चिन्ता गरेको भए उनीहरू पनि कसैभन्दा कम हुने थिएनन्। उनीहरूको क्षमता अन्य बालबालिकाभन्दा कम छैन।”
नेपाल अपाङ्ग महासंघका अध्यक्ष मित्रलाल शर्मा श्रवण दृष्टिविहीन बालबालिकामाथि सरकारले पनि अन्याय गरेको बताउँछन्। यस्ता बालबालिकाका अभिभावकले ‘हामो छोराछोरी कहाँ पढाउनु’ भनेर सोध्ने गरेको बताउँदै शर्मा भन्छन्, “तपाईंका छोराछोरीलाई राज्यले व्यवस्था गरेको यो संस्थामा लानुस् भन्न पाएको दिन न्याय हुनेछ।”