पूर्वमन्त्री यादवद्वारा जसपाको पदीय जिम्मेवारी परित्याग
जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समिति सदस्य रेणु यादवले पार्टीका सबै पदीय जिम्मेवारी परित्याग गरेकी छन्।
जसपाले सरकारबाट फिर्ता बोलाएपछि असन्तुष्ट बनेकी नेत्री यादवले बिहीबार अध्यक्ष उपेन्द्र यादवलाई राजनीनामा पत्र बुझाएकी छन्। वीरगञ्जमा जारी जसपा केन्द्रीय समिति बैठकमा सहभागी उनी बुधबार राजीनामा पत्र बुझाएसँगै कार्यक्रमस्थलबाट बाहिरिएकी छन्।
अध्यक्ष यादवले उनलाई सरकारबाट फिर्ता बोलाएर राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाएको थियो। विना कारण मन्त्रीबाट फिर्ता बोलाएको भन्दै उनी असन्तुष्ट रहेकी थिइन्।
पार्टीको कुनै पनि जिम्मेवार पदमा नबस्ने भन्दै राजीनामा बुझाएको जनाइएको छ। राजीनामा पत्रमा भने व्यक्तिगत कारणले पद त्यागेको उल्लेख गरेकी छन्।
“वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु,” राजीनामा पत्रका भनेकी छन्, “तसर्थ आजकै मितिदेखि लागू हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु।”
यस्तो रेणुकुमारी यादवको राजीनामा पत्र:
आदरणीय अध्यक्षज्यू,
जनता समाजवादी पार्टी (जसपा) नेपाल
विषय: पदीय जिम्मेवारीमा नबस्ने सम्बन्धमा।
म रेणुकुमारी यादव करबी १५ वर्षदेखि आफ्नो मेहनत, लगनशीलताका साथ अनेकौँ कठिन परिस्थतिमा विभिन्न बाधा-अवरोध, उतार-चढाव र आरोह-अवरोह पार गर्दै पार्टीका हितका लागि पूर्ण रूपमा इमान्दारिता र नैतिकताका साथ सक्रिय रुपमा जिम्मेवारीहरू पूरा गर्दै आइरहेकी यहाँलाई अवगत नै छ।
विभिन्न कालखण्डमा पार्टी पटक-पटक टुटफूट र अनेक किसिमको पडयन्त्रका सिकार भईरहँदा पनि आँफू विच्चलित नभई सदैव मधेश र मधेशी जनता लगायत सम्पूर्ण उपेक्षित वर्ग र समुदायको हकहितका लागि पार्टीको पक्षमा चट्टानी अडान लिएको सर्वविदितै छ।
यहाँहरूको साथ-सहयोग, विश्वास र सदभावकै कारणले गर्दा मैले विभिन्न पदीय दायित्वमा रहि काम गर्ने सुनौलो अवसर पाएँ। पदमा रहिरहँदासम्म मैले आफ्नो व्यक्तिगत क्षमता, विवेक, राजनीतिक अनुभवले पार्टीको निर्देशनमा रहि
इमान्दारिता, निष्ठापूर्वक पूर्ण जिम्मेवार भइ आफ्नो पदीय जिम्मेवारीलाई पूरा गर्न भरपूर प्रयास गरेको छु। मैले आफ्नो कार्यकालमा के-कस्ता कामहरू गरे त्यसको तुलनात्मक समीक्षा पार्टीले पछि आवश्य नै गर्नेछ।
यहाँहरूसँग सहकार्य गरिरहँदा मैले राजनीतिक र व्यक्तिगत जीवनमा धेरै कुरा सिक्ने, बुझ्ने, जान्ने मौका र अवसर पाए।
यद्यपी, वर्तमान अवस्थामा मेरो व्यक्तिगत कारणले गर्दा पदीय जिम्मेवारीमा रहेर काम गर्ने सक्ने अवस्था नरहेको हुनाले मैले यस जनता समाजवादी पार्टी (जसपा) नेपालसँगको पदीय जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको छु। तसर्थ आजकै मितिदेखि लागू हुने गरी पार्टीले मलाई दिएको पार्टीको सम्पूर्ण पदीय जिम्मेवारीहरू त्याग गरेको व्यहोरा यहाँलाई जानकारी गराउँदछु।
पार्टी र सरकारको विभिन्न सम्मानित पदमा रहिरहँदा यहाँले गर्नुभएको सहयोगप्रति म कृतज्ञता र अभारी रहनेछु। साथैँ मेरो यस प्रकारको निर्णयले गर्दा यस पार्टी र पार्टीका इमान्दार नेता तथा कार्यकर्तामा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु।
धन्यवाद।
रेणुकुमारी यादव
केन्द्रीय कार्यकारिणी सदस्य एवंम्
केन्द्रीय सदस्य
नता समाजवादी पार्टी नेपाल