कोरा साइकल च्यालेन्ज ३२ असारमा
एक दशकदेखि नियमित रुपमा हुँदै आएको कोरा साइकल च्यालेन्ज यस वर्ष असार ३२ गते आयोजना हुँदै छ।
देशभित्र र बाहिर पनि कोरा साइकल च्यालेन्ज आयोजना हुँदै आएको छ। यस वर्ष नेपालका मुख्य १५ शहर तथा देशबाहिर भारत, अस्ट्रेलिया, डेनमार्क र हङकङ पनि प्रतियोगिता आयोजना हुँदै छ।
सन् २०११ मा नेपालका केही साइकल यात्रीले परोपकार गर्ने उद्देश्यले साइकल यात्रा शुरू गरेका थिए। यो फैलिँदै अन्तर्राष्ट्रिय बनेको हो।
कोराको अर्थ धार्मिक स्थलहरूको परिक्रमा गर्ने हुन्छ। “बौद्ध धर्मावलम्बीले धार्मिक ठाउँको परिक्रमा गर्नुलाई कोरा भन्ने भन्ने गर्छन्। यही शब्दलाई सापटी लिएर साइकल यात्रीले काठमाडौं वरीपरी घुम्ने योजनासहित सन् २०११ बाट कोराको शुरुआत गरेका हुन्,” साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालाले भने।
त्यस्तै, काठमाडौंमा पनि काठमाडौं कोरा आयोजना गरिँदै छ। यसअघि काठमाडौंमा आयोजना हुने गरेको कोरा कोभिड–१९ को महामारीपछि अन्य शहरमा पनि छुट्टाछुट्टै आयोजना गर्न थालिएको छ।
देशका विभिन्न शहरमा कोरा च्यालेन्स गर्दा त्यहाँका स्थानीय संस्कृति, सांस्कृतिक क्षेत्र तथा पर्यटकीय क्षेत्रको पनि प्रर्वद्धन हुने बालाको भनाइ छ। यसमा ५०, ७५ र १०० किलोमिटरको साइकल यात्रा गर्नुपर्ने चुनौती दिइन्छ। यो यात्रा एकैदिनमा पूरा गर्नुपर्छ।
कोरा भक्तपुरमा पनि तीन वटा रुट तय गरिएको छ। भक्तपुर दरबार क्षेत्रबाट शुरू भएर नीलबाराही, दुवाकोट, चाँगुनारायण, एक्ले डाँडा, टेलकोट, नगरकोट, साँगा, रानीकोट, कौशलटार बालकोट हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा यात्रा टुङ्गिनेछ।
यस वर्ष कोरा च्यालेन्जमार्फत अपांगता भएका साइकल यात्री यमलाल रसाइलीको परिवारलाई सहयोग गरिने भएको छ। रसाइलीको एउटा खुट्टा नहुँदा पनि साइकल यात्रा गर्थे, तर उनको कोरोना संक्रमणबाट मृत्यु भएको थियो।
योसँगै आफ्नो चुनौती पूरा गर्ने साइकल यात्रीलाई पुरस्कार पनि प्रदान गरिने भएको छ।