कति सुरक्षित छ राइड सेयरिङकाे यात्रा?
काठमाडौं उपत्यकाको चोकचोकमा राइड सेयरिङ प्लाटफर्मबाट यातायातको सेवा दिने मोटरसाइकलहरू भेटिन्छन्। सेवा दिनेको संख्या बढे पनि आफूहरू ठगिने गरेको सेवाग्राहीको गुनासो छ।
सेवा दिन बसेका राइड सेयर सवारी साधनका चालकहरू कम्पनीको नियम विपरीत ‘अफलाइन’ मा बसेर यात्रुसँग भाडा मोलमोलाइ गरिरहेको भेटिन्छन्। नियमतः उनीहरू कम्पनीको एप्समा जति भाडा देखाएको हो, त्यही रकममा यात्रुलाई गन्तव्यमा पुर्याउनुपर्छ।
तर, एप्स नचलाई यात्रु बोक्दा कम्पनीलाई कमिसन दिनु नपर्ने भएकाले चालकहरू प्रायः ‘अफलाइन’ मा नै बस्छन्। र, आफूखुसी भाडा लिने गरेका छन्। यसरी यात्रा गर्दा भाडामा मात्र ठगिने नभई यात्रु असुरक्षित पनि हुन्छन्। नेपालमा पठाओ, टुटल, सहारा, लुजुम, इनड्राइभर लगायत कम्पनीले राइड सेयरिङ सेवा दिँदै आएका छन्। नेपालमा सञ्चालित केही राइड सेयरिङ कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएका छन्। तर, इनड्राइभर दर्ता भएको छैन।
कम्पनी दर्ता भएर राइड सेयरिङ सेवा दिंदै आएका सवारी साधन दुर्घटना भए वा सेवा दिनेबाट समस्या आए सेवाग्राहीले उजुरी गर्न सक्छन्। तर, इनड्राइभर जस्तो दर्ता नभएकाबाट समस्या भए गुनासो गर्ने ठाउँ हुँदैन। यस्तै समस्यामा परिन् मेनुका गुरुङ। मेनुका चढेको इनड्राइभरको मोटरसाइकल गत जेठ २६ गते काठमाडौंको जडीबुटीमा ट्याक्सीसँग ठोक्कियो। मेनुका घाइते भइन्। मोटरसाइकल चालक फरार भए। दुर्घटनामा परे पनि उनले उजुरी गर्न सकिनन्। किनकि, नेपालमा इनड्राइभर विना दर्ता सेवा दिइरहेको छ।
नेपाल प्रहरीका प्रवक्ता टेकप्रसाद राईका अनुसार, चालु आर्थिक वर्षको असार ७ गतेसम्म २० वटा राइड सेयरिङ मोटरसाइकल दुर्घटना भइसकेका छन्। दुर्घटनामा एक जनाको मृत्यु र २२ जना सामान्य घाइते भएको उनले जानकारी दिए। चालकको लापरबाहीले गर्दा दुर्घटना भएको पाइएको प्रवक्ता राईको भनाइ छ। राइड सेयरिङ मोटरसाइकलमा दुर्घटना भए यात्रुले उजुरी दिन पाउने प्रवक्ता राई बताउँछन्। उनले भने, “यस्ता उजुरी दिन आउने धेरै छन्। तर, दर्ता भएको कम्पनीको मात्र दर्ता हुन्छ।”
पठाओका मार्केटिङ म्यानेजर सुरक्षा हमाल आफ्नो कम्पनीका सेवाग्राहीलाई कुनै समस्या भए त्यसको तुरुन्त सुनुवाइ हुने बताउँछिन्। राइडरले अफलाइनमा सेवा दिएको थाहा पाए तुरुन्त कारबाही गर्ने, दुर्घटना भए बीमा बापतको रकम दिने व्यवस्था रहेको उनले जानकारी दिइन्।
“कहिले काहीं सेवाग्राहीले गुनासो गर्छन्। त्यस अनुसार कारबाही गर्छौं,” हमाल भन्छिन्, “पठाओ मोटरसाइकल वा ट्याक्सी दुर्घटनामा घाइते भए एक लाख र मृत्यु भए १० लाख रुपैयाँ बीमा बापतको रकम पाउँछन्। यो सेवा अनलाइन राइड भयो मात्र पाउँछन्।”
के छ कानूनी प्रावधान?
नेपालमा राइड सेयरिङ कम्पनीहरू कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सेवा दिंदै आएका छन्। तर, इनड्राइभर भने दर्ता भएको छैन। यसरी विना दर्ता सेवा दिंदा एकातर्फ यात्रुमा सुरक्षा चुनौती हुन्छ भने अर्कोतर्फ राजस्व चुहावट भएको छ।
आन्तरिक राजस्व विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेल केही राइड सेयरिङहरू अवैधानिक रुपमा सञ्चालन भएको भन्ने जानकारी आएको बताउँछन्। “अवैधानिक खालको विजनेश नेपालमा भइरहेको हामीलाई जानकारी आएको छ,” उनी भन्छन्, “पछिल्लो समय धेरै राइड सेयरिङ एप्स सञ्चालनमा रहेकाले ती दर्ता छन् वा छैनन् भनी अनुसन्धान भइरहेको छ। अर्को कुरा, दर्ता गर्ने वेला कम्पनीको नाम एउटा, सञ्चालन गर्ने वेलामा अर्को नाममा पनि हुने गरेको छ। दर्ता विना कुनै पनि आयआर्जनमुलक गतिविधि गर्न मिल्दैन।”
बागमती प्रदेश सरकारले भने कानून बनाएर राइड सेयरिङ कम्पनीलाई नियमन गर्ने तयारी गरेको छ। निजी सवारी साधनलाई विद्युतीय सूचना प्रणालीबाट प्रदेशभित्र सञ्चालन गर्न इच्छुक कम्पनीले तोकिएको दस्तुर सम्बन्धित यातायात व्यवस्था कार्यालयमा बुझाई अनुमति लिन सक्ने आर्थिक विधेयकमा उल्लेख छ। तर, ऐन प्रारम्भ हुनुअघि राइड सेयरिङ एप प्रयोग गरी विद्युतीय सूचना प्रणालीबाट सञ्चालनमा रहेका कम्पनीले भने २०७९ चैत मसान्तभित्र अनुमति लिनुपर्ने उल्लेख गरिएको छ।
जसका लागि दुई पाङ्ग्रे सवारी साधनको दर्ता तथा अनुमति शुल्क रु.२५ हजार र प्रति वर्ष नवीकरण शुल्क रु.१२ हजार ५०० तोकिएको छ। चार पाङ्ग्रेको हकमा दर्ता शुल्क रु.५० हजार र नवीकरण शुल्क रु.२५ हजार तोकिएको छ। त्यसैगरी एक व्यक्तिले दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन सञ्चालन गरे दर्ता शुल्क ७० हजार र नवीकरण शुल्क ३५ हजार बुझाउने पर्ने व्यवस्था छ।
तर, यातायात व्यवस्था विभागलाई यसबारे कुनै जानकारी नभएको विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरू बताउँछन्। “प्रदेश सरकारले यसबारे केही नियम जारी गर्यो रे भनेको सुनेको छु,” उनले भने, “यो हाम्रो क्षेत्राधिकारभित्र पर्दैन।”
के हो इनड्राइभर?
इनड्राइभले विश्वका ४२ भन्दा बढी देशका ६०० शहरमा सेवा दिंदै आएको छ। नेपालमा भने यसले गत जेठदेखि सेवा दिन थालेको हो।
इन्ड्राइभरको दक्षिण एशिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले सेवा सञ्चालनको सुरुआती ६ महीना चालकसँग कुनै कमिशन नलिने बताएका थिए। नेपालमा हालसम्म चार हजारभन्दा बढी चालकहरू ‘साइन अप’ गरिसकेका छन्।
इनड्राइभरले अन्तर शहर यातायात, फ्रेट तथा कार्गो सेवा दिंदै आएको छ। यसको मुख्यालय क्यालिफोर्नियाको माउन्टेन भ्यूमा छ। यसले अमेरिका, एशिया, मध्यपूर्व, अफ्रिका तथा कमन वेल्थ देशहरूमा क्षेत्रीय हब पनि सञ्चालन गरिरहेको छ।