गठबन्धन बाहिरको उपसभामुख उम्मेदवारलाई एमालेले सघाउने!
नेकपा (एमाले) ले प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवारी नदिने सम्भावना देखिएको छ।
सत्तारुढ पाँच दलीय गठबन्धनले नेपाली कांग्रेसकी पुष्पा भुसाल गौतमलाई उठाउन लागेका वेला एमालेले गठबन्धन बाहिरको दलबाट उम्मेदवारी दिनेलाई सघाउने तयारी गरेको हो।
“गठबन्धन बाहिरका दलले उम्मेदवारी दिए हामी सघाउँछौं‚” एमालेका एक पदाधिकारीले हिमालखबरसँग भने, “साना दलबाट उम्मेदवारी परेन भने पार्टीबाट कसलाई उठाउने भन्नेमा पनि छलफल जारी छ।”
उपसभामुख चयनका लागि आज मनोनयन दर्ता गर्ने तालिका संसद सचिवालयले सार्वजनिक गरिसकेको छ। मतदान कार्यक्रम असार ३१ गते तोकिएको छ। २०७६ माघदेखि उपसभामुख पद खाली छ।