बलर चम्किँदा नेपालको सानदार जित
आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले सानदार जित हासिल गरेको छ।
स्कटल्यान्डले दिएको १४५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २५.१ ओभरमै जित हासिल गरेको हो। नेपालका लागि आसिफ शेखले ७१ रन बनाए। उनले ६२ बलमा १० चौक र एक छक्का प्रहार गरे।
नेपालको जितमा रोहित पौडेलले ३४, कुशल भुर्तेलले २७, देव खनालले चार, दीपेन्द्रसिंह ऐरीले तीन र आरिफ शेखले एक रन बनाए।
स्कटल्यान्डका लागि ग्याभिन मेइनले तीन, क्रस बी बेरिङटन र अड्रिन निलले एक-एक विकेट लिए।
यसअघि ब्याटिङ गरेको स्कटल्यान्डले ४२.५ ओभरमा सबै विकेट गुमाएर १४४ रन बनाएको थिए। स्कटल्यान्डका लागि आठौं नम्बरमा आएका ग्याभिन मेइनले ६४ रन बनाएका थिए।
नेपालको कसिलो बलिङसामु स्कटल्यान्डका ब्याटर टिक्न सकेनन्। नेपालका लागि सोमपाल कामी र मोहम्मद आदिल आलमले तीन-तीन, सन्दीप लामिछानेले दुई तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट लिए।
यो जितसँगै नेपाल अंक तालिकाको पाँचौ नम्बरमा उक्लिएको छ। नेपालको १८ खेलमा १७ अंक पुगेको छ। स्कटल्यान्ड भने २२ खेलमा ३० अंकसहित दोस्रो स्थानमा छ।
स्कटल्यान्डको भ्रमणमा रहेको नेपाली टोली अर्को खेल शनिबार अपराह्न ३ः१५ बजे नामिबियासँग खेल्नेछ।