बाबुराम भट्टराईलाई कारबाही गर्छौं: उपेन्द्र यादव
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कारबाही गर्ने बताएका छन्।
बुधबार वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष यादवले संघीय परिषद् अध्यक्षलाई कारबाही गर्ने बताएका हुन्। भट्टराईले छुट्टै भेला गरेर पार्टीलाई फुटतिर लगेको उनको आरोप थियो।
“आफ्नो पक्षको भेला गरेर गलत गर्नु भएको छ। त्यसको पश्चाताप गर्दै फर्किन म आग्रह गर्दछु,” यादवले भने।
उनले पार्टी विधान र अनुशासनले चल्नुपर्ने बताउँदै त्यस विपरीत जाने नेतालाई कारबाही गरिने बताए। “पार्टीको विधान विपरित जाने र अनुशासनहिनलाई पार्टीले कारबाही गर्छ,” यादवले भने, “हामी भोलि यस विषयमा छलफल गर्दै छौं।”
अध्यक्ष यादवले आफैले ‘जनयुद्ध’ गराएको पार्टीलाई छोड्ने व्यक्ति नेता हुन नसक्ने बताए। भट्टराईलाई इंगित गर्दै यादवले भने, “जनयुद्ध गर्ने पार्टीलाई छाडेर हिड्ने व्यक्ति नेता हुन सक्दैन।”
भट्टराई पक्षले मंगलबार काठमाडौंमा केन्द्रीय समिति बैठक बोलाएको थियो। त्यसको भोलिपल्ट यादव पक्षको केन्द्रीय समिति बैठक आजदेखि वीरगञ्जमा शुरू भएको हो।
दुई दिनसम्म चल्ने बैठकले स्थानीय तहको चुनाव समीक्षासँगै पार्टीभित्र देखिएको विवाद अन्त्य गर्नेगरी निर्णय गर्ने जनाइएको छ।