उपसभामुखमा कांग्रेसबाट उम्मेदवार बनाउने सहमति
प्रतिनिधि सभाको उपसभामुखमा नेपाली कांग्रेसबाट उम्मेदवार बनाउने सत्तारुढ गठबन्धनमा सहमति भएको छ।
संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन तालिका बुधबार सार्वजनिक गरेको छ। जसअनुसार, असार ३० गते मनोनयन दर्ता र असार ३१ गते मतदान हुने तय भएको छ।
यसका लागि सत्तारुढ गठबन्धनबाट कांग्रेसले उम्मेदवार बनाउने सहमति भएको कांग्रेस नेता मीनबहादुर विश्वकर्माले बताए। कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै नेता विश्वकर्माले भने, “गठबन्धनमा कांग्रेसले उपसभामुखको उम्मेदवार बनाउने सहमति भएको छ। कांग्रेसले उम्मेदवार प्रस्ताव गर्छ, गठबन्धनका अन्य दलले समर्थन जनाउँछन्।”
उपसभामुखका कसलाई उम्मेदवार बनाउने भन्ने तय नभएको उनले बताए। “कांग्रेसले उम्मेदवार तय गर्न बाँकी छ,” विश्वकर्माले भने।