वीरगञ्जमा उपेन्द्र पक्षको बैठक, बाबुराम पक्षलाई कारबाहीको तयारी
जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षका केन्द्रीय सदस्यको बैठक पर्साको वीरगञ्जमा शुरू भएको छ।
संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई पक्षका केन्द्रीय सदस्यको बैठक काठमाडौंमा शुरू भएको भोलिपल्ट यादव पक्षको बैठक वीरगञ्जमा शुरू भएको हो। केन्द्रीय समिति बैठकमा यादव पक्षका केन्द्रीय समिति सदस्यको उपस्थिति रहेको छ।
भट्टराई पक्षले बहुमत केन्द्रीय सदस्य र सांसद आफ्नो पक्षमा रहेको बताएका थिए। यादव पक्षका केन्द्रीय सदस्य एवं मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय यादवले वीरगञ्जमा शुरू भएको बैठकमा बहुमत रहेको दाबी गरे।
वीरगञ्जमा शुरू भएको बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, संगठन सुदृढिकरण र आगामी निर्वाचनका विषयमा छलफल हुने उनले बताए। भट्टराई पक्षले काठमाडौंमा गरेको बैठक अवैधानिक भएको उनको भनाइ छ। “पार्टीको बैठक त अध्यक्षले डाक्ने हो, उहाँ (भट्टराई) ले गरेको बैठक नै अवैधानिक हो,” यादवले भने।
जसपा नेताहरूका अनुसार भट्टराई पक्षमाथि कारबाहीको तयारी गरिएको छ। एक नेताले भने, “आजको बैठकले संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई विरुद्ध कडा निर्णय गर्छौं।”