नागरिकता सम्बन्धी विधेयक प्रतिनिधि सभामा पेश
सरकारले ल्याएको ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ प्रतिनिधि सभामा पेश भएको छ।
गृहमन्त्री बालकृष्ण खाँणले बुधबारको प्रतिनिधि सभाको बैठकमा नागरिक विधेयक पेश गरेका हुन्। संविधानले कुनै पनि नागरिकलाई नागरिकताबाट बञ्चित गर्न नमिल्ने व्यवस्था गरेकाले संशोधन विधेयक ल्याइएको गृहमन्त्री खाँणको भनाइ थियो।
संविधानमा संघीय कानून बमोजिम नागरिकता सम्बन्धी व्यवस्था हुने उल्लेख गरिएकाले विधेयक ल्याइएको बताए।
यसअघि संसद्मा विचाराधीन विधेयक सरकारले फिर्ता लिएको थियो। चार वर्षसम्म सहमति जुट्न नसकेपछि सरकारले विवादित विषय हटाएर नयाँ विधेयक ल्याएको हो।
यसमा नेकपा (एमाले) का सांसदद्वय भीमबहादुर रावल र शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना दिएका थिए। उनीहरूले दिएको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि गृहमन्त्री खाँणले नागरिकता विधेयक संसद्मा पेश गरेका हुन्।