मधेशमा बढ्यो माछा उत्पादन
परम्परागत खेतीभन्दा राम्रो आम्दानी हुनेपछि मधेश प्रदेशका किसानहरू माछापालनतर्फ आकर्षित भएका छन्। माछापालन गर्ने किसानको संख्या बढेपछि माछा उत्पादन पनि बढेको छ।
नेपाल राष्ट्र ब्यांकले गरेको मधेश प्रदेशको प्रादेशित आर्थिक गतिविधि अध्ययनको अर्ध वार्षिक प्रतिवेदनमा मधेशमा आर्थिक वर्ष २०७७/७८ को पुससम्म माछा उत्पादन ५.४८ प्रतिशतले वृद्धि भई २० हजार ४९७ मेक्ट्रिक टन पुगेको उल्लेख छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उत्पादनमा १.४८ प्रतिशतले ह्रास आई १९ हजार ४३१ मेट्रिक टन उत्पादन भएको थियो।
गत पुस मसान्तसम्म सबैभन्दा बढी माछा उत्पादन बारा र सबैभन्दा कम पर्सामा भएको प्रतिवेदनमा उल्लेख छ। बारामा मधेशको कुल माछा उत्पादनको २१.१५ प्रतिशत (चार हजार ३३४ मेट्रिक टन) र पर्सामा ६.९३ प्रतिशत (एक हजार ४२० मेक्ट्रिक टन) उत्पादन भएको थियो।
यस्तै‚ सप्तरीमा १६ सय, सिरहामा दुई हजार २५६, धनुषामा तीन हजार ४९७, महोत्तरीमा दुई हजार २६०, सर्लाहीमा दुई हजार ५८९ र रौतहटमा दुई हजार ५४० टन माछा उत्पादन भएको थियो।
अर्थ मन्त्रालयले गरेको आर्थिक सर्वेक्षण २०७८/८९ को तथ्यांक अनुसार, चालु आर्थिक वर्षको फागुनसम्म देशभर ६९ हजार ७०० मेट्रिक टन माछा उत्पादन भएको थियो। आर्थिक वर्षको अन्त्यसम्म त्यो बढेर एक लाख १७ हजार टन पुग्ने अनुमान छ। अघिल्लो आर्थिक वर्ष एक लाख चार हजार ६०० मेट्रिक टन माछा उत्पादन भएको थियो।
नेपालमा सबैभन्दा बढी माछा उत्पादन मधेशमा हुने गरेको ५। यहाँका आठ जिल्लामा १७ हजार ४२८ वटा सक्रिय पोखरी छन्। उक्त पोखरीले प्रदेशका कुल खेतीयोग्य जमिनको १.१३ प्रतिशत क्षेत्रफल ओगटेको छ। यहाँ वार्षिक २१ हजार ४५९ टन माछा उत्पादन हुन्छ। यो कुल राष्ट्रिय उत्पादनको ५७ प्रतिशतभन्दा बढी हो। मधेश प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार प्रदेशमा उत्पादित माछाले यहाँको माग धान्ने गरेको छ।
माछाबाट मनग्य आम्दानी
धनुषाको क्षीरेश्वर नगरपालिका–दुधमतिका रामशोभित मुखियाले २०४० सालमा २५ रुपैयाँको भुराबाट माछापालन शुरू गरेका थिए। एउटा पोखरीबाट माछापालन शुरू गरेका उनको काजल मत्स्य प्रजनन फार्म अन्तर्गत अहिले ९० वटा पोखरी छन्।
७० बिघा जमीन भाडामा लिई धनुषाको महेन्द्रनगर, औराही लगायत ठाउँमा माछा पालन गर्दै आएका छन्। मुखियाको पोखरीमा ग्रास, सिल्वर, विरगेट, रोहुनेनी, पङग्रास, रोहु लगायत आठ प्रजातिका माछा पाइन्छन्।
धनुषाको शहीदनगर नगरपालिका–४ का ७० वर्षीय बौएलाल मुखिया निजी क्षेत्रबाट सबैभन्दा बढी माछाका भुरा उत्पादन गर्ने किसानमा पर्छन्। नन्नुपट्टीमा करीब १३ बिघा जग्गामा फैलिएको उनको ‘मुखिया मत्स्य प्रजनन फार्म’ छ। उनी यस क्षेत्रमा ‘फिस किङ’ अर्थात् ‘माछाको राजा’भनेर चिनिन्छन्। २०२९ सालदेखि माछापालन थालेका मुखियाका ४० वटा पोखरी छ। वार्षिक सात करोड रुपैयाँ बराबरको भुरा र करीब ३०० क्विन्टल माछा बिक्री गर्दै आएको मुखिया बताउँछन्।
किसानहरूका अनुसार‚ जाडो याम र विवाहको सिजनमा माछाको माग बढी हुन्छ। यद्यपि अन्य समयमा पनि बजार अभाव नभएको बाराको फेटा गाउँपालिकाका माछापालक किसान अनुप साह बताउँछन्। “व्यापारीहरू माछा लिन पोखरी नै आउँछन्,” उनले भने, “औसतमा किलोको तीन देखि ४०० रुपैयाँमा बिक्री हुने गरेको छ।”
बाराको कोल्हवी नगरपालिकाका माछापालक किसान जंगबहादुर साह अन्य खेतीभन्दा माछापालनबाट राम्रो आम्दानी हुने बताउँछन्। माछापालनबाट किसानहरूको जीवनस्तर सुधारिएको उनको भनाइ छ। मधेशमा उत्पादित माछा काठमाडौं, पोखरा, मुग्लिन, नारायणगढ लगायत सहरमा निर्यात हुने गरेको साहले बताए।
धनुषाका माछापालक किसान उपेन्द्र सहनी माछाको माग बढ्दै गएको र बजारको समस्या पनि नभएकाले आफूले माछापालन व्यवसाय रोजेको बताउँछन्। यद्यपि, पानीको स्रोत घट्दा कहिले काहीं समस्या हुने गरेको पनि उनले सुनाए। “कहिले काहीं पानीको मुहान सुक्ने गर्छ,” सहनी भन्छन्, “हिउँदमा त पानी अभाव हुन्छ नै वर्षा याममा समेत ट्युबेल सहारा लिनुपर्ने हुन्छ।”