संसदीय समितिले थाल्याे जनार्दन शर्मामाथि छानविन
बजेट निर्माण गर्दा स्वार्थ समूहलाई लाभ पुग्ने गरी करको दर हेरफेर गरेको विवादपछि अर्थ मन्त्रीबाट राजीनामा दिएका जनार्दन शर्मामाथि छानविन शुरु भएको छ।
शर्माको विषयमा छानविन गर्न गठित संसदीय समितिको पहिलो बैठक मंगलबार सिंहदरबारमा बसेको हो। समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णको अध्यक्षतामा बसेको बैठकले समितिको कार्यविधि तयार पारेको छ।
बैठकले समितिको सभापति चयन भने गरेको छैन्। अर्को बैठकले सभापति चयन गर्ने समितिका एक सदस्यले जानकारी दिए।
बैठकको अध्यक्षता गरेका कर्णले छानविनको विषयमा जानकारी दिन जिम्मेवारी समितिका सचिवसमेत रहेका संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याललाई दिएको बताए। कर्णले हिमालखबरसँग भने, “प्रवक्ता नै त भनेका छैनौं तर यो समिति सम्बन्धी सम्पूर्ण जानकारी उहाँले नै दिनुहुन्छ।”
बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश दिएर गैरकानूनी रुपमा करको दर हेरफेर गरेको विवादपछि शर्माले पदबाट राजीनामा दिएका थिए। शर्माले अपराध गरे नगरेको विषयमा छानविन गर्न असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन भएको हो।