त्रिविका उपकुलपतिको कार्यकक्षमा तोडफोड, समाजवादी अखिल कार्यकर्ता पक्राउ
नेकपा (एकीकृत समाजवादी) को विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेका छन्।
सोमबार अनेरास्ववियुका उपाध्यक्ष माधव पन्तको नेतृत्वमा ज्ञापनपत्र बुझाउन गएको टोलीले तोडफोड गरेको त्रिविले जनाएको छ। उनीहरूले त्रिवि उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको कार्यकक्षमा कुर्सी, टेबुल लगायत सामग्री तोडफोड गरेका छन्।
अनेरास्ववियु उपाध्यक्ष पन्त सहित विद्यार्थी ज्ञापनपत्र बुझाउन त्रिवि कार्यकक्षमा पुगेका थिए। उनीहरू पुग्दा उपकुलपति प्रा.डा. बास्कोटा कार्यकक्षमा थिएनन्। “उपकुलपति केहीबेरमा आउनुहुन्छ, बस्नुस् भन्दा तोडफोड गरे,” त्रिविका एक कर्मचारीले भने।
अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले भने उपकुलपति कार्यकक्षबाहिर परिचालन गरिएका प्रहरीले बल प्रयोग गरेपछि सामान्य तोडफोड भएको बताए। प्रहरीले कार्यकक्ष बाहिरै रोक्न खोजेपछि विवाद भएको उनले बताए।
तोडफोडमा संलग्न विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई तत्काल रिहा गर्न अनेरास्ववियुले माग गरेको छ। अनेरास्ववियु त्रिवि कमिटी सहसंयोजक कल्पना सापकोटाले प्रेस विज्ञप्ति जारी गरी प्रहरीले पक्राउ गरेका विद्यार्थीलाई तत्काल रिहा नगरेर आन्दोलनमा उत्रिने चेतावनी दिएकी छन्।
प्रहरीले उपाध्यक्ष पन्त, त्रिवि संयोजक शोभा बम ठकुरी, प्रेम विश्वकर्मा, विपिन पराजुली, प्रकाश थापा, समिर गौतम, प्रज्ज्वल विक्रम थापा, सन्तोष शेर्पा, कैलासराज गिरी, नरदेव उपाध्याय लगायत विद्यार्थी पक्राउ गरेको सापकोटाले जनाएकी छन्।