बालबालिकामा भाइरल ज्वरोको संक्रमण बढ्दो
बालबालिकामा भाइल ज्वरोको संक्रमण बढ्न थालेको छ। ६ महीनाको शिशुदेखि १०-१२ वर्षसम्मका बालबालिकामा भाइरल ज्वरोको संक्रमण देखिएको हो।
कान्ति बाल अस्पतालका पूर्व निर्देशक डा. अजित रायमाझीले झण्डै तीन सातादेखि भाइरल जीवाणुको संक्रमणले गर्दा ज्वरो आउने बालबालिकाको सङ्ख्या बढ्न थालेको बताए। अस्पतालमा बहिरंग सेवा लिन आउने बालबालिकामध्ये ५० प्रतिशतमा भाइरल ज्वरो देखिएको छ। तीमध्ये १० जनामध्ये दुई जनालाई अस्पतालमा भर्ना गरिएको छ।
भाइरल ज्वरोका बिरामी देशैभर देखिएको डा. रायमाझीले बताए। कान्ति बाल अस्पतालमा धनगढी, विराटनगर, नेपालगञ्ज, पोखरा लगायत उपत्यका बाहिरका ठाउँबाट ज्वरोका बिरामी उपचारका लागि आइरहेका छन्।
एडिनो भाइरसको संक्रमणले बालबालिकाहरूमा समस्या निम्त्याएको हुन सक्ने बालरोग चिकित्सकहरूले अनुमान गरेका छन्। तर‚ पुष्टि भने भइसकेको छैन। यस्तो संक्रमण हुँदा सिँगान बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, १०३ देखि १०४ डिग्रीसम्म ज्वरो आउने लगायतका लक्षण देखिने डा. रायमाझीले बताए।
यस्तो लक्षण देखिए सिटामोल खुवाउने, पानी खुवाउने, ज्वरो आए कपडा खोलिदिने, पानीपट्टी लगाउने, झोलिलो पदार्थ खुवाउने, आँखा रातो भए आँखामा औषधि राखिदिने गर्नुपर्ने उनको सुझाव छ।
ज्वरो एक बालबालिकाबाट अर्कोलाई सर्न सक्छ। त्यसैले बिरामीले प्रयोग गरेको कपडा, रुमाल अरुले प्रयोग गर्न नहुने डा. रायमाझीले सुझाव दिए। ज्वरोसँगै अन्य संक्रमण भइराखे वा तीन-चार दिनसम्म ज्वरो १०३ वा १०४ डिग्री आइराखे एन्टिबायोटिक औषधि चलाउनुपर्ने उनको भनाइ छ।
बालबालिकामा यस्तो समस्या देखा परे आत्तिनु नपर्ने डा. रायमाझी बताउँछन्। उनले भने‚ “धेरै बालबालिकालाई बहिरंग सेवाबाटै उचित उपचार हुन्छ। उपचार भइसकेपछि पनि १०-१५ दिनमा पुनः ज्वरो आउन सक्छ।”
बालरोग विशेषज्ञ डा. कृष्ण विष्टले विद्यालय जाने बालबालिकामा भाइरल ज्वरोका देखिएको बताउँछन्। “एकै विद्यालयका अधिकांश बालबालिकाहरू बिरामी पर्न थालेका छन्। ज्वरो आएका बालबालिकालाई विद्यालय नपठाउनु नै राम्रो हुन्छ‚” विष्टले भने‚ “बालबालिकालाई विद्यालय र परीक्षाको नाममा कक्षा कोठामा राखिएको छ। जसले गर्दा संक्रमण फैलिरहेको छ। संक्रमण फैलन नदिन एक साताका लागि विद्यालय बन्द गर्दा राम्रो।”
मौसम परिवर्तन हुँदा बालबालिकामा यस्तो संक्रमण देखिन्छ। साथै गर्मी याममा खानेकुरामा झिँगा भन्किंदा, दूषित पानी पिउँदा, नपकाएका खानेकुरा खाँदा‚ सरसफाइमा ध्यान नदिंदा‚ खानेपानीमा ढल मिसिंदा यस्तो समस्या देखिन्छ। यस्तै‚ गर्मी वेला बालबालिकालाई हैजा, जन्डिस, टाइफाइडको संक्रमण पनि हुन सक्ने डा. रायमाझी बताउँछन्।