परम्परागत घर बनाउने तालीम दिन प्रतिष्ठान स्थापना
युवालाई व्यावसायिक सीपमा आधारित रोजगारीको अवसर प्रदान गर्न भक्तपुर, नागपोखरीमा नेपाल व्यावसायिक प्रतिष्ठान स्थापना गरिएको छ।
रवीन्द्र पुरी फाउन्डेशनले स्थापना गरेको प्रतिष्ठानमा दुई सय विद्यार्थीले प्राविधिक शिक्षा लिन पाउँने छन्। सम्पदा संरक्षण अभियन्ता रवीन्द्र पुरीको योजनामा बनेको संस्थाले परम्परागत निर्माण सामग्री, वास्तुकला र प्रविधिको प्रयोग गरेर घर निर्माणका लागि दक्ष मानव संसाधन उत्पादन गर्ने जनाएको छ।
संस्थापक पुरीका अनुसार‚ आधुनिक सुविधा सम्पन्न परम्परागत घरको माग बढेसँगै दक्ष कामदारको पनि माग बढेको छ। “यही मागलाई सम्बोधन गर्न र युवालाई स्वरोजगार बनाउन संस्था खोल्ने योजना बन्यो,” पुरीले भने।
यही योजनामा सात वर्षदेखि काभ्रेको पनौतीमा सञ्चालन भएको प्रतिष्ठानबाट दुई सयभन्दा बढी विद्यार्थीले तालिम लिइसकेका छन्। तर, कोरोनाभाइरसको महामारीले संस्था बन्द भएको थियो। “अब भक्तपुर र पनौतीको एकेडमी एसईईको नतिजापछि शुरू हुन्छ,” पुरीले भने, “हामी दक्ष जनशक्ति उत्पादनमा कमी आउन दिने छैनौँ।”
एकेडमीमा सिमर्की, डकर्मी, स्टोन क्रेभिङ, बुड क्रेभिङ, मेटल क्रेभिङ, प्लम्बर, सिलाई र ब्युटिसियन विषयका सैद्धान्तिक र व्यावहारिक कक्षा हुनेछन्। एक वर्षको कोर्ष रहेका विषयको परीक्षा भने सीटीईभीटीले लिनेछ। विद्यार्थीले पहिलो तीन महीना ट्यूसन शुल्क मासिक तीन हजार, आवासीय भए महीनाको ६ हजार तिर्नुपर्नेछ।
त्यसपछिका तीन महीनामा आवासीय विद्यार्थीले मात्रै शुल्क तिर्नु पर्नेछ। ६ महीनापछि निःशुल्क पढाइ हुनेछ। “नौ महीना पुग्दा विद्यार्थीलाई मासिक तीन हजार रुपैयाँ प्रदान गरिनेछ,” पुरीले भने।
नौ महीनापछि कमाउने सक्ने हुने भएकाले तीन हजार दिने व्यवस्था गरिएको उनले बताए।