जोगबनी नाका सात महीनादेखि ठप्प, व्यापारी भन्छन्- अघोषित नाकाबन्दी
भारतको बथनाहस्थित मिरगञ्ज पुल भासिएपछि जोगबनी नाका सात महीनादेखि ठप्प छ। आयात–निर्यात नहुँदा पूर्वी नेपालका ५०० भन्दा बढी उद्योग अप्ठ्यारोमा परेका छन्।
सात महीनाअघि बाढीले मिरगञ्ज पुल भासिएको थियो। भारतले मर्मत सम्भार गरेर सञ्चालनमा ल्याएको छ। तर, भारतले पुलबाट मालबाहक सवारी साधन प्रवेशमा रोक लगाउँदै आएको छ।
ठूला सवारी साधन प्रवेशमा रोक लगाउँदा पूर्वी नेपालमा रहेका उद्योगका लागि आवश्यक कच्चा पदार्थ ल्याउन समस्या भएको छ। ४५ किलोमिटर सडक घुमेर सुनसरीको भन्टाबारी नाकाबाट आयात-निर्यात गर्नु परिरहेको उद्योगी व्यवसायीले बताएका छन्। जसले गर्दा उनीहरूले थप आर्थिक भार बेहोर्नु परेको छ।
अहिले दैनिक ३०० मालबहाक गाडी सुनसरीको भीमनगर नाका हुँदै नेपाल आइरहेका छन्। यसले न्यूनतम दैनिक ३० लाख व्ययभार थपिएको व्यवसायीले बताएका छन्।
भारतको कोलकत्ता पोर्टबाट मिरगञ्ज पुल भएर सुनसरी र मोरङका उद्योगका लागि आवश्यक कच्चापदार्थ आयात हुन्छ भने त्यहीं बाटो भएर तयारी सामान निर्यात हुन्छ। भारतीय पक्षले पुलबाट आवतजावतमा रोक लगाएपछि भारतको अररिया हुँदै कुर्साकट्टा वैकल्पिक नाकाबाट सामान आयात गर्न असहज भएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए। “भारतीय पक्षलाई पटक-पटक पुल सञ्चालनका लागि आग्रह गर्दै आएका छौं,” अध्यक्ष रिजालले भने, ‘सात महीना भयो, कुनै सुनुवाइ भएको छैन।”
अध्यक्ष रिजाल भारतीय पक्षले पुल मर्मतको नाममा अघोषित नाकाबन्दी गरेको बताउँछन्। “यो त अघोषित नाकाबन्दी हो,” उनी भन्छन्, “तत्काल पुल सञ्चालन गर्न माग गर्छौं। यसका लागि पहल गर्न नेपाल सरकारलाई पनि आग्रह गर्छौं।”
जीर्णोद्धार र गरिएपछि मिरगञ्ज पुलको क्षमता हाल आठ टन मात्र रहेको भारतीय पक्षले बताउँदै आएको छ। विगतमा भने यसको क्षमता १०० टन रहेको थियो।
अध्यक्ष रिजालका अनुसार‚ सुनसरी-मोरङ ओद्योगिक करिडोर क्षेत्रमा रहेका ५०० भन्दा बढी उद्योगमा आवश्यक कच्चा पदार्थ भित्रिने प्रमुख मार्ग भनेर भारतको फारविसगञ्जस्थित मिरगञ्ज पुल हो। अव्यवस्थित भौतिक संरचना, जनशक्तिको अभाव, साँघुरो बाटोका कारण भाण्टाबारी-भीमनगर नाकाबाट सामान आयात, निर्यात गर्न असजिलो भएको उनले बताए।
मोरङ व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडाले विराटनगर भन्सार नाका जोड्ने बिहारको मिरगञ्ज पुल मर्मतपछि पनि ठूला सवारी साधनमा आवतजावतमा रोक लगाउँदा सुनसरी-मोरङ औद्योगिक कोरिडोरका उद्योग मर्कामा परेको बताए। जसले गर्दा कच्चा पदार्थ आयात र तयारी वस्तु निर्यातमा समस्या भइरहेको उनको भनाइ छ।
करीब चार किलोमिटर नजिकको विराटनगर भञ्सार नाकासम्म पुग्न कच्चा पदार्थ बोकेका गाडीले झण्डै १०० किलोमिटर लामो बाटो तय गर्नु परिरहेको उनले बताए। एउटा सवारी साधनले न्यूनतम २० हजार रुपैयाँ थप आर्थिक भार बेहोर्नु परिरहेको उनको भनाइ छ।
कोलकाताबाट सामान बोकेर तीन दिनमा विराटनगर पुग्ने गरिएकोमा अहिले भीमनगर भएर आउँदा ६ दिन लाग्ने गरेको उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेल बताउँछन्। भारतबाट मालबहाक सवारी साधन विराटनगर प्रवेश गर्ने एउटै पुल हो। यो पुल प्रयोग गर्न नदिँदा अहिले सुनसरीको भान्टाबारी नाका प्रयोग भइरहेको छ।
यसबारे पटकपटक गुहार गर्दा पनि सहज नभएको अध्यक्ष प्याकुरेलको भनाइ छ। उनी भन्छन्, “अन्तर्राष्ट्रिय रुपैयाँमा प्रयोग हुने बाटोलाई सहज गराउनका लागि नेपाल सरकार गम्भीर देखिएन।” पुल सञ्चालनका लागि राज्यस्तरबाट आवश्यक पहल नपुगेको देखिएको उनको भनाइ छ।
मिरगञ्ज पुलमा बाढीले क्षति पुगेपछि भारतले नजिकै अर्को नयाँ पुल निर्माण गरेको छ। त्यो पुल पनि सञ्चालनमा नआएको अध्यक्ष प्याकुरेलले बताए। “नयाँ पुल सञ्चालन हुँदा पनि सजिलो हुन्थ्यो, त्यसका लागि सरकारले पहल गर्नुपर्छ,” उनले भने।
मिरगञ्ज पुल बन्द हुँदा व्यवसायीलाई मात्रै होइन, राज्यलाई पनि नोक्सानी भइरहेको छ। राजस्व असुली प्रभावित भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयका अनुसार दैनिक ३० करोड रुपैयाँ बराबरको राजस्व असुलीमा असर परेको छ।