असार अन्त्यतिर अत्यधिक भुक्तानी माग हुँदा सिस्टममै आयो समस्या
असारको अन्त्यतिर अत्यधिक भुक्तानी माग भएपछि मधेशमा भुक्तानी प्रणालीमा समस्या आएको छ। जसले गर्दा कयौं योजनाको रकम रोकिएको छ।
मधेशका विभिन्न सरकारी कार्यालयमा असार तेस्रो सातादेखि योजनाको रकम भुक्तानीका लागि अत्यधिक चाप बढेको छ। एकै दिन धेरै भुत्तानी माग भएपछि भुक्तानी प्रणालीमै समस्या आएको छ।
भुक्तानी प्रणालीमा समस्या आएपछि प्रदेशका विभिन्न सरकारी कार्यालयले योजनाको रकम भुक्तानी गर्न सकेका छैनन्। विशेष गरेर भवन कार्यालय, भौतिक पूर्वाधारसँग सम्बन्धित कार्यालय र वन कार्यालयको भुक्तानी प्रणालीमा समस्या आएको जनाइएको छ।
वन कार्यालयका प्रमुख सुरेश शर्माले भुक्तानी प्रणालीमा समस्या आएकाले भुक्तानी गर्न नसकिएको बताए। अन्य कार्यालयमा पनि यस्तै समस्या देखिएको उनको भनाइ छ।
प्रदेश कोष तथा लेखा कार्यालयका अनुसार अत्याधिक चापले गर्दा भुक्तानी प्रणालीमा समस्या आउने गरेको छ। निकासा दिने कार्यालयमा समस्या लामो समय नदेखिए पनि निकासा माग्ने कार्यालयको भुक्तानी प्रणालीमा समस्या देखिएको कोष तथा लेखा कार्यालयका प्रमुख राधेश्याम गिरीले बताए। “दुई वटा प्रणालीमा काम हुन्छ, एउटामा समस्या आएको हो,” गिरीले भने।
यस विषयमा सांसदहरूले प्रदेश सभामा पनि प्रश्न उठाएका छन्। भुक्तानी प्रणालीमा समस्या आएका कारण उपभोक्ताहरूले योजनाको रकम नपाएको सांसदहरूको भनाइ थियो।
मधेश प्रदेश सभाको बैठक शुरू हुनासाथ सांस्द विदेश्वरप्रसाद यादव, रिना यादव, परमेश्वर साहले भुक्तानी प्रणालीका विषयमा बोलेका थिए। यो समस्या सुल्झाउन प्रदेश सरकारको ध्यानाकर्षण गराए।
मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र साहले काम गरेका उपभोक्तालाई समस्या भएको र यो समस्या प्रदेश सरकारले समाधान गर्न नसक्ने बताए। यस विषयमा संघीय सरकारलाई जानकारी गराइने उनले बताए। भुक्तानी समस्या समाधानका लागि पहल भइरहेको मन्त्री साहको भनाइ छ।